संविधान संशोधन विधेयकमाथि छलफल लम्बियो, संसद बैठक स्थगित
काठमाडौं — संविधान संशोधन विधेयकमाथिको छलफल लम्बिएको छ । आज बसेको बैठकमा छलफल नसकिएपछि आईतबार ११ बजेसम्मका लागि संसद बैठक स्थगित भएको छ ।
आन्दोलनरत मधेसी मोर्चा आवद्ध सांसदहरुको नाराबाजीबीच आजको संसद बैठकमा विधेयकमाथि छलफल भएको थियो । सत्तारुढ दल आवद्ध सांसदहरुले विधेयक मोर्चाको मागको सम्बोधन गर्नको लागि ल्याइएको भन्दै पास गर्नुपर्ने विचार राखेका थिए ।
मोर्चा आवद्ध सांसदहरुले रोष्टम अघि घेराउ र नाराबाजी गरेपनि छलफल भएको हो ।
विधेयकले समावेशी प्रतिनिधित्व र निर्वाचन क्षेत्र निर्धारणसम्बन्धी व्यवस्थामा संशोधन प्रस्ताव गरेको छ ।
सामाजिक न्यायको हकअन्तर्गतको समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा प्रतिनिधित्वको हक हुने र प्रत्येक जिल्लामा कम्तीमा एक क्षेत्र रहने गरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने प्रस्तावित संशोधनले समेत मधेस केन्द्रित दलहरू सन्तुष्ट छैनन् ।
प्रकाशित : पुस १६, २०७२ १६:१३