डाक्टर गायक

राजु घिसिङ

यी गीतले दुई वर्षयताका नेपाली पप–रकमा राम्रै छाप छाडेका छन् । यसका गायक विमल मगर पेसाले चाहिँ डाक्टर हुन् । तर उनको मन म्युजिकमै तल्लीन छ । ‘आफूलाई मन परेको काममा करिअर बनाउनजस्तो भाग्यमानी अरू मान्छे संसारमा थोरै मात्र हुन्छन्,’ उनले भने, ‘तर म म्युजिकलाई निरन्तरता दिनेछु । गीत रच्दै जानेछु, गाउँदै गर्नेछु । यो क्रम मेरो जीवनमा चलिरहनेछ ।’

–‘चियाई हेर’ को म्युजिक भिडियो युट्युबमा अपलोड भएको दुई वर्ष मात्र हुँदैछ तर भ्युअर्स ६ लाख बढी भइसकेको छ ।

–अर्को पप गीत ‘कपुरी कलरव’ को म्युजिक भिडियो अक्टोबर, २०१६ युट्युबमा अपलोड गरिएको थियो, जुन ६० हजार बढीले हेरेका छन् ।

–महाभूकम्पलाई लिएर बनाइएको ‘१२ बज्यो है’ को लिरिकल भिडियोको दर्शक पनि आठ महिनामै हजारौं भइसकेको छ ।

एल्बमको बजार पहिलेजस्तो छैन तर उनी मौका जुरे तत्काल एल्बम सार्वजनिक गर्न तयार छन् । उनले आठ गीत रेकर्ड गराइसकेका छन् । उनी गीत आफैं लेख्छन् । म्युजिक भिडियोको कन्सेप्ट पनि उनकै हो । ‘गीत लेख्दै एउटा घटना वा विषयको इमेज लिएर कन्सेप्टमा रचना गरिएको हुन्छ, त्यसको भाव भिडियोमा बुझाउन गाह्रो हुन्छ,’ उनले भने । आफ्नो गीतमा म्युजिक एरेन्जमेन्ट अर कम्पोजिसन पनि उनले नै गरेका छन् । धेरै इन्स्टु्रमेन्ट आफंै बजाउँछन् ।

उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट एमडीएस अगस्ट, २०१६ मा सकाए । बीडीएस उत्तीर्ण गरेपछि उनी प्रतिष्ठानमै कार्यरत थिए । म्युजिकमा समय दिनकै लागि उनले तीन महिनाअघि कामबाट पनि राजीनामा दिए । यसबीच उनले १७ औं कान्तिपुर म्युजिक अनर्समा पनि पर्फरमेन्स दिन भ्याए । त्यसमा उनको गीत वर्षको उत्कृष्ट हट–सटमा परेको थियो ।

‘पढाइमा समय दिँदादिँदै म्युजिकलाई धेरै ढिला भयो भन्ने लागेको थियो । पहिलो म्युजिक भिडियो सार्वजनिक गरेपछि अर्को ल्याउन दुई वर्ष लाग्यो । यसबीच पपको समय पनि फेरियो,’ उनले सुनाए, ‘कम्पोजिसनमा मेलोडी छ भन्ने जहिले पनि गीत चल्छ, जसले पनि सुन्छ भन्ने लाग्छ । मान्छेले सुन्ने मेलोडी नै हो । त्यसैले मैले मेलोडी र म्युजिकलाई बनाउँछु । पप, रक भए पनि मेरा गीतमा नेपालीपन छ । विषयवस्तु नयाँ खालको दिने प्रयास गर्छु ।’
बीडीएस पहिलो वर्षमा रहँदा सन् २००५ मा उनले बीपी प्रतिष्ठानमै पहिलोपल्ट स्टेज पर्फरमेन्स गरेका थिए । ‘त्यसबेला जेम्स ब्लन्टको यु आर ब्युटिफुल, इगलको टेक इट इजी र दीप श्रेष्ठका गीत गाएको थिएँ । रेस्पोन्स राम्रै आयो । प्रतिष्ठानमा म्युजिकल मान्छे भनेर चिन्न थाले,’ उनले सम्झिए । त्यसयता उनले थुप्रै कन्सर्ट भ्याइसकेका छन् तर आफ्नै गीत भने दुई वर्षअघि मात्र गाउन थालेका हुन् ।

‘अझ नै गीत प्रस्तुत गर्दा अझ राम्रो रेस्पोन्स आयो,’ लजालु स्वभावका विमलले भने, ‘मेडिकल साइन्सको विद्यार्थी छँदा धेरैले मलाई यसले त पढ्दैन होला भन्थे । परीक्षाकै बेला पनि मलाई टिचरले गितार बजाएर हिन्छस् हैन भनेर सोध्थे ।’ यी धराने युवा परीक्षाका बेला होस्टेल बस्थे, अरू बेला घर । घरमा हुँदा भने दैनिक अभ्यास गर्थे ।

बीडीएस पढ्दा परीक्षाको तीन महिना अघिदेखि उनी दुईदेखि चार घण्टा मात्र सुत्थे, बाँकी समय पढ्थे । उनी भन्छन्, ‘परीक्षाको तयारी गर्दा तार खोलेर गितार थन्क्याउँथें, तार नभेटिने ठाउँमा फाल्थें । गिटार बजाउन मन लाग्थ्यो तर तार मिलाउन समय लाग्थ्यो अनि बजाइन्नथ्यो । मन लागे पनि नबजाइयोस् भनेरै तार खोलेर गितार राख्थें । परीक्षा सकिएको एक महिना अलि हल्का हुन्थ्यो, गितार समातिहाल्थें ।’

उनको म्युजिक गितारमा आधारित हुन्छ । उनको घरमै पनि म्युजिकल वातावरण छ । बुबा हंसबहादुर दर्लामी सौखका रूपमा हार्मोनियम, सारंगी बजाउँछन्, बाँसुरी फुक्छन् । उनका दाइ निर्मल म्युजिक एरेन्ज गर्छन् । ‘दाइ र बुबाको प्रभावबाटै सानैदेखि म्युजिकप्रति आकर्षित भएँ,’ विमलले भने । उनका औंलाहरू सानैदेखि गितारको स्ट्रिङमा चल्न थालेका थिए । उनले काठमाडौंमा गितार र शास्त्रीय संगीतको कक्षा पनि लिए । उनी पियानो, किबोर्ड, ड्रम्सलगायत अन्य इन्स्ट्रुमेन्ट पनि बजाउँछन् ।

उनी एकदमै कम बोल्ने र रिजर्व स्वभावका छन् । ‘प्लस टु पढेपछि लाइफमा केही गर्नुपर्छ भन्ने लाग्यो । म्युजिक रोज्ने कि अरू भन्नेमा निकै दोधार भएको थियो । म्युजिकले पर्खिन्छ भनेर पढाइतिर लागें,’ उनले भने । उनले एसएलसी सकेपछि नै आफंै गीत रच्न थालेका थिए, जुन अरूले पनि सुन्नुपर्छ भन्ने उनलाई लाग्थ्यो । ‘त्यसैले जहिले र जसरी भए पनि गायक बन्छु भन्ने अठोट गरेको थिएँ,’ उनले भने । तर, उनी आफ्ना गीत घरमा सुनाउँदैनथे । ‘अरूले सुन्यो भने के भन्छ भन्ने लाग्थ्यो । लाज लाग्थ्यो,’ उनले सुनाए ।
गितारको आवाज त आउँथ्यो नै तर उनले गीत पनि गाउँछन् भन्ने घरमा पनि धेरै पछि मात्र थाहा पाएका थिए । उनले तीन वर्षअघि घरमै स्टुडियो सेट गरेका छन् । ‘मन लागेको, मुड चलेका बेला घरमै गीत रेकर्ड गर्छु,’ उनले भने । बोन्जोभीको अलवेज र अरुणा लामाको हे कान्छाबाट प्रभावित उनलाई निकेल ब्याक, अल्बाट्रस, हर्कुलिस बस्नेतका गीत मनपर्छ ।

बिटल्स नि ? ‘खै किन हो उसको गीतले कहिल्यै मन छोएन,’ विमलले भने । तर, उनी सन् १९७५ मोडलको बिटल्स कार चढ्छन् । ‘क्युटनेस र क्लासिक भएकाले बिटल्स (कार) मन परेको हो,’ उनले प्रस्ट पारे, ‘क्लासिक, एन्टिक, भिन्तेज चीजहरूको कलेक्सन मनपर्छ ।’
उनले मास्टर्समा गरेको थेसिस पनि दन्त्य चिकित्सा क्षेत्रमा एउटा इँटा बनेको छ । बच्चादेखि किशोरावस्थासम्मको तल्लो च्यापुको हाड जबडा (म्यान्डिबल) को परिवर्तन प्रक्रिया अध्ययन गरेर उमेर पत्ता लगाउने वा उमेरअनुसार जबडाको परिवर्तन पत्ता लगाउने फर्मूला उनले निकालेका छन् । यसअघि बच्चा र किशोरावस्थाको उमेर बोनम्यारो अध्ययनबाट मात्र पत्ता लगाइन्थ्यो । दाँतको अध्ययनबाट उमेर पत्ता लगाउने वयस्कमा मात्र हो ।

एक वर्षमा पूर्वी नेपालका ३ सय १० जनामा रिसर्च गरेपछि उनले नयाँ फर्मूला पत्ता लगाएका हुन् । ‘उमेर थाहा भएपछि हाडको संरचना कस्तो छ भन्ने थाहा हुन्छ र हाडको संरचना पत्ता लाग्यो भने उमेर पत्ता लाग्छ । यो फर्मूला संसारमै नौलो हो । यो चिकित्सकीय कानुन र शल्यक्रियाहरूमा उपयोग हुनेछ,’ थेसिसलाई जर्नलमा प्रकाशन गर्ने तयारीमा रहेका डाक्टर गायकले भने । 

प्रकाशित : पुस ८, २०७३ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेस र माओवादी संसद् चलाउन गम्भीर देखिएन : झा

मुलुकलाई निकास दिन एमालेलाई आग्रह

पर्सा — नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष अनिलकुमार झाले अवरुद्ध संसद् सञ्चालन गरी मुलुकलाई निकास दिन प्रमुख प्रतिपक्षी एमालेलाई आग्रह गएका छन् । उनले एमाले सरकारमा रहेकै बेला तयार पारेको संशोधन प्रस्तावलाई वर्तमान सरकारले संसद्‍मा दर्ता गर्दा सोको विरोधमा संसद् अवरुद्ध पारी मुलुकलाई असहज परिस्थितितर्फ डोर्‍याउनु कसैको हितमा नभएकाले अवरुद्ध संसद्लाई सञ्चालन गरी मुलुकलाई राजनीतिक निकास दिन एमालेलाई आग्रह गरे ।

नेपाल सद्भावना पार्टी, पर्साले शुक्रबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका नेता झाले राजनीतिक दलबीचको असमझदारीले लोकतन्त्रलाई कमजोर पार्ने हुँदा मुलुकलाई निकास दिनुको विकल्प नभएको विचार व्यक्त गरे ।

'लोकतन्त्रको विकल्प हुनै नसक्ने र राजनीतिक असमझदारी वार्ता तथा संवादबाट समाप्त पारी मुलुकलाई निकास दिन दलहरु सक्षम रहेकाले निकट भविष्यमै एमाले पार्टीका नेताहरुले हाल देखिएको गतिरोधलाई समाप्त पार्दै मुलुकलाई निकास दिन'–अध्यक्ष झाले विश्वास व्यक्त गरे ।

उनले संशोधन प्रस्तावको विषयलाई लिई लामो समयदेखि संसद् अवरुद्ध भए पनि कांग्रेस र माओवादी केन्द्रका नेताहरु अवरुद्ध संसद् सञ्चालन गराउनेतर्फ गम्भीर नदेखिएको टिप्पणी गरे । रासस

प्रकाशित : पुस ८, २०७३ १२:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्