कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छुटको पाल बढी मूल्यमा बेच्ने पक्राउ

विराटनगर — भूकम्पपीडितलाई राहतका लागि भन्सार महसुल र मूल्य अभिवृद्धि कर (भ्याट) छुटमा आयातित त्रिपाल अत्यधिक बढी मूल्यमा बेच्ने दुई व्यापारीलाई मोरङ प्रशासनले नियन्त्रणमा लिएको छ।

उपभोक्तालाई त्रिपालमा भ्याट लिएर बेच्ने फर्मलाई वाणिज्य कार्यालयले कारबाही गरेको हो।
सरकारले जेठ २० सम्म त्रिपाल आयातमा भन्सार महसुल र भ्याट पूर्ण रूपमा छुट दिएको छ। त्यसरी आयात भएका त्रिपाल बिक्री गर्दा व्यापारीले खरिद मूल्यभन्दा २० प्रतिशतमात्र बढी लिन पाउने प्रावधान छ। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले व्यापारीले खरिद मूल्यभन्दा २५ देखि ७८ प्रतिशतसम्म बढी मूल्य र भ्याट पनि लिएको पाइएपछि पक्राउ गरिएको जानकारी दिए। बजार अनुगमन टोलीले अम्बिका वस्त्रालयका प्रदीप अग्रवाल र प्रणाम इन्टर प्राइजेजका जीतेन्द्र सेठियालाई नियन्त्रणमा लिएको हो।
लुइँटेलका अनुसार अग्रवालले खरिद मूल्यभन्दा ७८ प्रतिशत र सेठियाले २५ प्रतिशत बढी मूल्यमा त्रिपाल बिक्री गरेको भेटिएको थियो। उनीहरूलाई प्रहरीले कालो बजारी नियन्त्रण ऐनअन्तर्गत छानबिन सुरु गरेको छ। त्यस्तै अनुगमनमा क्रममा शुक्रबार चन्दा चकौरी फर्मले त्रिपालमा १३ प्रतिशत भ्याट लिएर बिक्री गरेको फेला पारेको थियो। उक्त फर्मले शुक्रबारमात्र २० त्रिपालमा भ्याट लिएर बिक्री गरेको पाइएको हो।
भूकम्पको विपत्तिपछि सरकारले त्रिपाल आयातमा भन्सार महसुल र भ्याट छुट दिएको छ। तर जोगवनी नाकाबाट राहतका नाममा भन्दा व्यापारिक प्रयोजनका नाममा त्रिपाल आयात अत्यधिक भएको छ। भन्सारको तथ्यांकअनुसार शुक्रबारसम्ममा राहतका नाममा २६ हजार ३ सय ८७ थान त्रिपाल आयात भएको छ। व्यापारिक प्रयोजनका नाममा करिब ८० हजार त्रिपाल आयात भएको छ।
सामान्य अवस्थामा त्रिपाल आयात गर्दा व्यापारीले ३० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत भ्याट तिर्नुपर्छ। जेठ २० गतेसम्म त्रिपाल आयात गर्दा व्यापारीले प्रतिप्रज्ञापन पत्रबापत ५ सय ६५ रुपैयाँ भन्सार सेवा शुल्क मात्र तिर्दा पुग्छ।

प्रकाशित : जेष्ठ १०, २०७२ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?