कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पनामा प्रकरण: उपेन्द्र महतोले भने, ‘लगानी कानुनसम्मत हो’

काठमाडौं — पनामा पेपर्स लिक्समा नाम परेका व्यवसायी उपेन्द्र महतोले आफ्नो विदेशको लगानी कानुनसम्मत भएको बताएका छन् । बुधबार वक्तव्य जारि गर्दै महतोले आफू गैर आवासिय नेपाली (एनआरएन) भएको र विदेशमा आर्जन गरि बाहिर र मुलुकभित्र लगानी गरिरहेको बताएका छन् ।

पनामा प्रकरण: उपेन्द्र महतोले भने, ‘लगानी कानुनसम्मत हो’

‘म विगत ३५ वर्षदेखि अध्ययन र व्यवसायको सिलसिलामा विदेशमा बस्दै आएको सर्वविवितै छ । मूलत: व्यवसायमा संलग्न रहेको हुँदा नेपाल बाहेक यूरोप, एसिया र अफ्रिकाका विभिन्न देशमा मेरा व्यवसायिक प्रतिष्ठानहरु छन्, लगानी छ । मैले विदेशमा जे जति लगानी गरेको छु, त्यो पूँजी विदेशमै आर्जन गरेको स्वत: स्पष्ट नै छ,’ उनले भनेका छन्, 'अन्तर्राष्ट्रिय खोज पत्रकार समूहले सार्वजनिक गरेको पानामा पेपर्सको दोस्रो विवरणमा अफसोर कारोबार गर्ने भनी मेरो समेत नाम आएपछि गैरकानूनी काम गरेको हो कि भन्ने ढंगले समाजमा उत्पन्न हुनसक्ने नकारात्मक प्रतिक्रिया र भ्रमलाई समयमै चिर्नु आफ्नो कर्तव्य ठान्दछु ।'

उनले विभिन्न मुलकमा प्रचलित कानुन बमोजिम लगानी गरेको वताएका छन । ‘विदेशमा बस्ने नेपालीले आफू बसेको ठाउामा कमाएको पूँजी त्यहीं वा अन्य मुलुकमा लगानी गर्ने कुरा कानूनसम्मत र विश्वव्यापी  प्रचलनमा छ । धेरै देशमा लगानी गर्न सहजताको लागि अन्तर्राष्ट्रिय कानून र प्रचलन अनुसार मैलेपनि विदेशमा कम्पनी खोलेको छु, जस मार्फत विभिन्न देशमा त्यहाँको स्थानीय कानून अनुसार लगानी भएका छन्,’ उनले वक्तव्य मार्फत भनेका छन् ।

महतो गैर आवासिय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष हुन । उनकै पहलमा शुरु भएको एनआरएन अभियान सन २००३ देखि संस्थागत हुन थालेको हो । राजधानीमा पहिलो विश्व सम्मेलन गरेर उनको नेतृत्वमा पहिलो कार्यसमिति बनेको थियो । उनी सन् २००९ सम्म संघको अध्यक्ष रहे ।

‘विदेशमा छरिएर रहेका नेपालीलाई संगठित गर्दै मातृभूमिसँग जोड्ने र त्यसको समृद्धिमा आ-आफ्नो क्षमता अनुरुपको योगदान गर्न उत्प्रेरित गर्ने उद्देश्यले सञ्चालित गैरआवासीय नेपाली अभियानको नेतृत्व गर्दै मैले सन् २००३ देखि २००९ सम्म गैरआवासीय नेपाली संघको संस्थापक अध्यक्षको हैसियतमा समुदाय र मुलुकको सेवा गर्ने सौभाग्य पनि पाएको छु,’ उनले भनेका छन्, ‘गैरआवासीय नेपाली अभियानकै प्रेरणाले विदेशमा बस्ने धेरै भन्दा धेरै नेपालीहरुमा आफ्नै कर्मभूमिमा व्यापार–व्यवसायको विकास गर्ने, संचित पूँजीलाई नेपाल भित्र्याएर व्यवसाय र रोजगार सृजनामा योगदान दिने जुन पहल  विकसित भएको छ, एक अभियन्ताका नाताले त्यो मेरालागि ठूलो आत्मसन्तुष्टिको विषय हो ।’  
    
महतोले विदेशको आर्जन नेपालमा पनि लगानी गर्दै आइरहेका छन् । उनको अस्पताल, बैंक, सञ्चार, जलविद्युत, जडिबुटी लगायतका क्षेत्रमा लगानी छ । उनले नेपालमा लगानी विस्तार गरिरहने पनि जनाएका छन् । ‘नेपालमा गरेको लगानी पनि विदेशबाटै ल्याएको हुँ र अझै ल्याउने दृढ समर्पणका साथ काम गरिरहेको छु,’ उनले भनेका छन्, ‘विगत धेरै वर्षदेखि मैले अन्य विदेशी लगानीकर्ता साथीहरुलाई समेत आमन्त्रित गरेर मुलुकका केही स्थानमा आफ्नो व्यवसायलाई विस्तार गरिरहेको व्यहोरा अवगत गराउन चाहान्छु ।’ उनले पशुपतिमा किरियापुत्री भवन, सिरहामा विद्यालय तथा अस्पताल लगायत निर्माण गरेर सामाजिक सेवामा पनि लगानी गरिहेका छन् ।

पनामा पेपर्समा महतो लगायत ७ जना नेपालीको ब्रिटिस भर्जिन आइल्याण्ड लगायतमा कम्पनी खोलेको उल्लेख भएपनि उनीहरुले गैर कानुनी काम गरिरहेको भनिएको छैन । अफसोर भनिने यस्तो कारोबार अन्तराष्ट्रियस्तरमा प्रचलनमा पनि छ । कर कम भएका र अन्य लगानीको स्रोत खोजी नहुने हुँदा यस्ता मुलुक मार्फत हुने लगानीलाई धेरैले शंकाको दृष्टिले हेर्ने गरेका छन् । तर सबै कम्पनी सम्पत्ति शुद्धीकरण वा अवैध प्रयोजनका लागि खुलेका भन्न सकिने आधार पनामा पेपर्स लिक्समा पनि छैन ।

प्रकाशित : वैशाख २९, २०७३ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?