‘सनकी’ अर्बपतिहरू

दिनेश यादव

काठमाडौं — विश्वका धनाढ्यहरूको सूची जारी गर्ने अमेरिकी अखबार ‘फोब्र्स’ को ३० वर्ष इतिहासमा २ हजारभन्दा बढी अर्बपति सूचीकृत भइसकेका छन् ।

तिनीहरू सम्पत्तिका लागि धनी त छँदै छन्, केही भने आफ्नो पोजिसनलाई लामो समयसम्म कायमै राखेका छन् । तीमध्ये केही सहयोगी र मानव परोपकारमा खर्च गर्ने स्वभावका छन् भने केही त्यसको साटो आफ्नो धनलाई प्रदर्शनको सामग्रीसमेत बनाएका छन् । त्यस्तै केहीले आफ्नो ‘सनकी’ स्वभाव पनि देखाएका छन् । तीमध्ये धेरै त खर्च गर्ने मामिलामा निकै अगाडि पनि भेटिएका छन् । अजरबैजानमा जन्मेका अर्बपति गड (जसको कुल सम्पत्ति ३ अर्ब अमेरिकी डलर छ) ले आफ्नो विवाहमा १० लाख डलर खर्चे । 

यसैगरी एक टर्किस अर्बपतिले बियर बेचेरै सम्पत्ति आर्जन गरे तर तिनी आफूसँग तीन हजार कलम बोकेर हिँड्छन् । एक जना फ्रेन्च टाइकुनको भने आफ्नै संसार छ । तिनको आफ्नै एक हजारभन्दा बढी कमिक्स बुक छन् । सबैभन्दा अनौठो त के छ भने मुलुकमै सर्वाधिक धनाढ्यहरूको सूचीमा चौथो स्थानमा परेका एक अर्बपतिको २३ जनासम्म सन्तान रहेको फोब्र्सले जनाएको छ । यी त भए अन्य महादेशका ‘सनकी’ अर्बपतिका केही उदाहरण । एसियाली अर्बपतिहरूमा पनि ‘क्रेजी फ्याक्ट (सनकी कुराहरू) प्रशस्तै छन् । अनलाइन खबर ‘लन्डनलभ्सबिजनेस डटकम’ का अनुसार एसियाली १० अर्बपतिमा क्रमश: वाङ जिआनलिन, ज्याक मा, मुकेश अम्बानी, अलवालिड बिन तलाल, लि का–सिङ, ली साउ की, मा हुआटेङ, अजिम प्रेमजी, दिलीप साङघवी र लि जुन छन् । यी सबैलाई उक्त अनलाइनले ‘क्रेजी फ्याक्टस’ भएका अर्बपतिका रूपमा प्रस्तुत गरेको छ । यहाँ तिनैलाई विषयवस्तु बनाइएको छ । 

चीन मात्रै होइन एसियाकै सबैभन्दा धनी हुन्, वाङ जिआनलिन । उनको कुल सम्पत्ति २९ दशमलव २ अर्ब अमेरिकी डलर रहेको छ । उनको कम्पनी दालिअन वान्दा ग्रुप चीनको सबैभन्दा ठूलो जग्गा विकासकर्ता (इस्टेट डेभलपर) कम्पनी हो । उनको आफ्नै १२५ वटा सपिङ मल र ६८ वटा पाँचतारे होटल छन् । यति मात्रै होइन उनको वान्दा सिनेमा लाइन, चीनको सबैभन्दा ठूलो मुभी थिएटर चेन हो । एउटा कुरो जो उनीबारे धेरैलाई थाहा नहुन सक्छ । त्यहो हो, अघिल्लो डिसेम्बरमा उनले केनसिङगटन प्यालेस गार्डेनमा १० अर्ब ६९ करोड रुपैयाँ (८० मिलियन पाउन्ड) मा १० वटा बेडरुम भएको एउटा घर खरिद गरेका छन् । एक्लो जीवन बिताउन त्यति महँगो र १० वटा सुत्नेकक्ष भएको भवन किन्नुलाई ‘सनकी’ स्वभावको संज्ञा दिइएको छ । 

चिनियाँ अनलाइन खुद्रा विक्रेता ‘अलिबाबा’ कम्पनीका सीईओ तथा संस्थापक ज्याक माको कुल सम्पत्ति २६ दशमलव ५ अर्ब अमेरिकी डलर रहेको छ । सन २०१४ मा न्युयोर्कमा उनको कम्पनीले सेयर बजारमा लिएको अग्रता अमेरिकाकै इतिहासमा सबैभन्दा उच्च थियो । अलिबाबा विश्वकै सबैभन्दा ठूलो खुद्रा व्यापार गर्ने कम्पनी हो, जसले आफ्नो सम्पत्ति १६७ दशमलव ६२ अर्बभन्दा बढी जोडिसकेको छ । कम्पनीका २५ हजार कर्मचारीले विश्वका ३० करोड ग्राहकलाई आफ्नो सेवा दिँदै आएको छ । अन्य अर्बपतिहरूमा जस्तै माको पनि ‘सेक्रेट’ कुरा रहेको छ । त्यो हो, उनी इन्टरनेट व्यापारमा प्रवेश गर्नुअघि अंग्रेजी विषयका शिक्षक थिए । विश्वकै चर्चित हावार्ड विश्वविद्यालयले उनलाई अंग्रेजीमा कमजोर भएको भन्दै १० पटकसम्म भर्ना गर्न अस्वीकार गरेको थियो । तर, भर्नाका लागि पटकपटक उनले प्रयास गरे, हरेस खाएनन् । पछि व्यापारतिर लागेर सफल भए । 

मुकेश अम्बानी भारतकै सबैभन्दा धनाढ्य हुन् । रियलाइन्स इन्ड्रस्ट्रिज समूहका मालिकसमेत रहेका उनको कुल सम्पत्ति २४ दशमलव ८ अर्ब अमेरिकी डलर छ । समूहमार्फत उनको कारोबार ऊर्जा, पेट्रोकेमिकल्स, टेक्टाइल्स, प्राकृतिक स्रोतहरू र खुद्रालगायतमा लगानी छ । अम्बानीले १ अर्ब अमेरिकी डलर खर्चेर २७ तले मुम्बई हबेली ‘अनितल्ला’ बनाएर चर्चामा आए । त्यसमा तीनवटा हेलिप्याड र १६८ वटा कार अटाउने गरी छ तलाको पार्किङस्थल छ । वस्तुशास्त्रअनुसार अम्बानी परिवारका लागि उक्त हबेली/महल उपयुक्त नभएको बताएपछि कयौं महिनासम्म उनको परिवार त्यहाँ बस्न नगएको बताइएको छ । यसलाई उनको ‘क्रेजी फ्याक्ट’ कै रूपमा धेरैले परिभाषित गर्न रुचाउँछन् । 

साउदी अरेबियाका राजकुमार अलवालिड बिन तलाल बिन अब्दुल अजिज अल सउदसँग कुल सम्पत्ति २२ दशमलव ५ अर्ब अमेरिकी डलर छ । उनको सम्पत्तिको स्रोत शाही परिवार नै हो । राजकुमार अलवालिन आफैं एक बिजनेस म्यागनेट (ठूला व्यापारी) हुन् । तेल, प्रविधि, मिडिया र पोपर्टी क्षेत्रमा उनको लगानी छ । एप्पलमा समेत लगानी रहेको कम्पनी साउदी इन्भेस्टमेन्ट भेहिकल्स किङडम होल्डिङका उनी प्रमुख पनि हुन् । ट्वीटर र रुपर्ट म्युर्डोचका न्युज करपोरेसनमा समेत उनको कम्पनीको हिस्सेदारी छ । सन् २०१३ मा राजकुमार अलवालिडले दाबी गरेको आफ्नो कुल सम्पत्ति २० अर्ब अमेरिकी डलर भएकामा ९ दशमलव ६ अर्ब डलर कम गरी फोब्र्सले उनको सूची जारी गरेकामा असन्तुष्टि पोखेका थिए । यसै विषयमा उनले फोब्र्सविरुद्ध बेलायतको लन्डनमा मुद्दा नै दायर गरेका थिए । उक्त मुद्दाको फैसला सन् २०१४ को नोभेम्बरमा भएको थियो, मुद्दा फोक्र्स अखबारकै पक्षमा रह्यो । 
लि का–सिङको कुल सम्पत्ति १९ दशमलव ६ अर्ब अमेरिकी डलर रहेको छ । हङकङेली लिको सम्पत्तिको स्रोत पोपर्टीदेखि टेक र मिडिया हो । लिसँग ‘धेरै औला चलाउने’ कम्पनीमा समेत लगानी छ । खासगरी सोसल नेटवर्किङ वेबसाइट फेसबुकमा उनको लगानी छ । उनले लडन सिटी विमानस्थलमा समेत २ अर्ब पउन्डको लगानी गर्ने सम्झौता गरेको केही सञ्चार माध्यमहरूले जनाएका छन् । लिबारे धेरैलाई थाहा नभएको कुरोमा उनको अफिस पनि एक हुन सक्छ । उनको अफिस हङकङस्थित चेउङ कङ सेन्टरको ७० तल्ला स्काइक्रयापरको सबैभन्दा माथिल्लो तलामा छ । त्यहाँ एउटा निजी पुल र सबैभन्दा तीव्र गतिमा चल्ने इलिभेटर जडान गरिएको छ । उक्त इलिभेटरले ७० तलामा पुग्न मात्र ४५ सेकेन्ड लगाउँछ । 

लि साउ की हङकङमा प्रधान कार्यालय रहेको रियल इस्टेटका चर्चित व्यापारी हुन् । हेन्डरसन ल्यान्ड डेभलपमेन्ट कम्पनी लिमिटेडका संस्थापक, अध्यक्ष र महाप्रबन्धकसमेत रहेका उनको कुल सम्पत्ति १८ दशमलव ५ अर्ब अमेरिकी डलर रहेको छ । उनी हङकङ र चाइना ग्यास कम्पनी तथा मिरामार होटेर र इन्भेस्टमेन्टका अध्यक्षसमेत हुन् । उनले २० मिलियन हङकङगेली डलर आफ्नो च्यारेटिबल फाउन्डेसनमार्फत दान गरिसकेका छन् भने युवाहरूका लागि हङकङकै सबैभन्दा ठूलो छात्रावासमा सहयोग गरेका छन् । 

चिनियाँ उद्यमी मा हुआटेङ इन्टरनेट कम्पनीमा लगानी गरी अर्बपति बनेका हुन् । उनी चीनकै सबैभन्दा ठूलो इन्टरनेट कम्पनी टेन्सेन्टका संस्थापक, अध्यक्ष, कार्यकारी प्रमुख अधिकृतत र कार्यकारी बोर्डका सदस्यसमेत हुन् । उनको कुल सम्पत्ति १७ दशमलव १ अर्ब अमेरिकी डलर रहेको छ । उनलाई धेरैले ‘पोनी मा’ भनेर पनि चिन्छन् । उनको पारिवारिक नामलाई अंग्रेजीबाट रूपान्तरण गर्दा त्यसको अर्थ ‘हर्स’ अर्थात घोडा हुन्छ । 

‘क्रेजी फ्याक्ट’ भएको सूचीमा अजिम प्रेमजीलाई पनि राखिएको छ । उनी एकजना भारतीय ठूला व्यापारी हुन् । उनको कुल सम्पत्ति १६ दशमलव ५ अर्ब अमेरिकी डलर रहेको छ । बुबाले स्थापना गरेको विप्रो नामक कम्पनीका अध्यक्ष रहेका उनको कम्पनीमा ७३ प्रतिशत हिस्सा छ । धनलाई व्यवस्थापन गर्ने एउटा आफ्नै निजी कोष प्रेमजी इन्भेस्टसमेत उनले खडा गरेका छन् । प्रेमजीले आफ्नो सम्पत्तिको २५ प्रतिशत हरेक वर्ष परोपकार सेवामा खर्च गर्छन् । 

सन फर्मास्युटिकल्स संस्थापक एवं महाप्रबन्धक दिलीप सांघवी पनि भारतीय उद्यमी हुन् । उनको कुल सम्पत्ति १६ दशमलव ४ अर्ब अमेरिकी डलर रहेको छ । भारतकै सबैभन्दा ठूलो उक्त औषधि कम्पनीले केही वर्षयता ५० प्रतिशतले आफ्नो कारोबार बढाएको छ । कम्पनी विश्वकै महँगो औषधिहरूको उत्पादन गर्नेमा पर्छ । ९० को दशकमा अमेरिकामा कम्पनीको विस्तारपछि त्यहाँबाट ६० प्रतिशत राजस्व आउने गरेको छ । 

चिनियाँ उद्यमी लि जुन टेक अर्बपतिको कथा पनि उस्तै छ । चीनको सबैभन्दा ठूलो कम्पनी सिओमीका संस्थापक हुन् । सामसङ र एपलपछि विश्वको तेस्रो सबैभन्दा ठूलो स्मार्टफोन उत्पादन गर्ने सिओमी कम्पनीमा उनको सम्पत्तिको हिस्सा ७७ दशमलव ८ प्रतिशत रहेको छ । कम्पनीमा ८ हजारन्दा बढी कर्मचारी कार्यरत छन् । सन् २००० मा लिले अनलाइन खुद्रा व्यापार जोया डट कम सञ्चालन गरे । सन् २००४ मा त्यो अमेजोनलाई बेचेका थिए । उनी ठूला लगानीकर्तामध्येका एक हुन् । उनको बढी लगानी इकमर्स, सोसल नेटवर्किङ र मोबाइल उद्योगमा छ । सन् २०१५ मा उनले २० वटा क्षेत्रमा एकैपटक लगानी गरेका थिए भने थप १ सय वटामा लगानी गर्ने योजना रहेको घोषणा गरेका थिए ।
(एजेन्सीहरूको सहयोगमा) 

प्रकाशित : पुस १६, २०७३ ०९:२५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जहाज पार्किङ कहाँ गर्ने ?

-सुरज कुँवर

काठमाडौं — खुम्चिँदै गइरहेको विमानस्थलको जमिन, बढ्दो अन्तर्राष्ट्रिय उडान अनि थपिने क्रममा रहेका ठूला विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनलाई अबका दिन जहाज पार्किङ कहाँ गराउनेबारे चिन्ता बढाएको छ ।

मलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलसँग आठवटा मात्रै ठूला जहाज पार्किङ गर्ने ‘वे’ छन् । जसमा दैनिक विमान ८ बजेदेखि राति १२ बजेसम्म ४२ भन्दा बढी जहाज पार्किङ हुन्छन् । मध्यम आकारको विमान (न्यारो बडी) पार्किङ गर्न सकिने ‘वे नम्बर फोर’ महिनौंदेखि बन्द छ । यो मर्मत भएर सञ्चालनमा ल्याउन कम्तीमा चैत कुर्नैपर्छ । अन्तर्राष्ट्रिय उडानको चाप मध्याहन (बिहान १० देखि ४ बजे अनि साँझ ७ देखि ११ बजे) बढी छ । 

नेपाल वायु सेवा निगमले यसै आर्थिक वर्षभित्र एउटा वाइड बडी थप्ने प्रक्रिया थालिसकेको छ, दुई महिनाभित्रै हिमालय एयरलाइन्सले पनि जहाज ल्याउने घोषणा गरिसकेको छ । ‘जहाज थपिएपछि अहिलेकै साँधुरो र सानो पार्किङवेमा जहाज राख्न सकिने अवस्था छैन,’ प्राधिकरणका महानिर्देशक संजीव गौतम भन्छन् । ठूला जहाजको संख्या बढ्न थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले एयरबस ३२० आकारका दुइटा विमानलाई आन्तरिक टर्मिनलको छेउको ७ र ८ नम्बर पार्किङवेको अघिल्तर राख्ने पनि गरेको छ । तर, त्यो पार्किङ्वे भने होइन । ‘अन्तर्राष्ट्रिय उडानको चाप बढ्ने देखिएपछि उडानमा रहेका हाम्रा घरेलु विमानलाई त्यो कुनातर्फ ‘मिलाएर’ पार्किङ गराउन बाध्य हुन्छौं,’ विमानस्थलका एक अधिकारीले भने, ‘वास्तवमा त्यो जोखिमपूर्ण व्यवस्थापन हो, यदि त्यहाँ पार्किङमा कुनै सवारी साधनले जहाज ठोकिइहाले वा कुनै भवितव्य हुन सक्छ ।’

यो विमानस्थलको पार्किङ्वेमा प्राय: चिनियाँ लगानीकर्तासँग सहकार्य गरी स्थापना भएको हिमालयको एउटा न्यारो बडी एयरबस, नेपाल वायु सेवा निगमका दुइटा एयरबससहित तीनवटा विमान गरी चारवटा जहाज हुन्छन् । यी विमानहरूको हब नै काठमाडौं भएकाले चारवटा पार्किङवे प्राय: खाली हुँदैनन् । बिहान जब पिक आवर सुरु हुन्छ विमानस्थल व्यवस्थापनलाई जहाज कसरी व्यवस्थापन गर्ने भन्ने तनाव सुरु हुन्छ । अन्तर्राष्ट्रिय एयरलाइन्सका एक जना स्टेसन म्यानेजरका अनुसार अझ हिउँदे सिजनमा मौसमका कारण ढिलोगरी विमानस्थल खुलेपछि विदेशबाट आएका जहाजहरूले कम्तीमा आधा घन्टादेखि ५० मिनेटसम्म सिमरामाथिको आकाशमा रोकिनु ‘होल्ड’ हुनुपर्ने बाध्यता छ । यस्तो अवस्था आउनुको मुख्य र एक मात्रै कारण पार्किङ क्षमता नै हो । ‘पिकआवरमा हामी आफैं खटेर पार्किङवेबाट सक्दो चाँडो जहाजलाई सके उडाउने नसके पार्किङ्वेबाट ट्याक्सीवेसम्म पुर्‍याउन लाग्नुपर्छ,’ विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुर भन्छन्, ‘१० मिनेट मात्रै छिटो उडान पाउँदा पनि ठूलो राहत मिल्छ ।’ 

२८ वटा विदेशी एयरलाइन्समध्ये टर्किस, थाई, कतार, कोरियन, एयर एसियालगायतका एयरलाइन्स, जो वाइड बडी विमान सञ्चालन गर्छन् । ती विमानले काठमाडौंमा अवतरण भएको डेढ घण्टाभित्र फर्किसक्नुपर्छ । न्यारो बडी विमान सञ्चालन गर्ने एयरलाइन्सहरूले १ घण्टामा पार्किङवेबाट यात्रु ओरालेर अनि राखेर उडिसक्नुपर्छ । तर, ठाउँ अभावकै कारण विमानस्थल व्यवस्थापनले ठूलो आकारको विमान भएका एयरलाइन्सलाई १ घण्टा १५ मिनेटभित्र र न्यारो बडी विमानलाई ५० मिनेटभित्र पार्किङवे छाड्न लगाइरहेको छ । 

‘अब निगमले दुई वर्षभित्र दुइटा ठूला विमान अनि हिमालयले अबको ५ वर्षभित्र १० वटा अनि १० वर्षभित्र ३० वटा विमान समयमै ल्याए के हुन सक्छ ?’ यसबारे महानिर्देशक गौमत भन्छन्, ‘खासमा अहिले हामीसँग थप नौवटा गरी १८ वटा पार्किङवे बनिसक्नुपर्ने बेला थियो । तर, दुर्भाग्य भयो ।’ अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता र उडान सुरक्षा अभिवृद्धिमा संलग्न स्पेनिस कम्पनी कन्स्ट्रकटोरा सानहोजेले भाका गरेअनुसारको काम नगर्दा पार्किङवे थपिएन । ०६९ फागुनदेखि काम थालेको सानहोजेले ०७१ चैतसम्म विमानस्थलको उत्तर–पश्चिमतर्फको खाल्डोमा २० लाख घनमिटर माटो भरेर ९ वटा समानन्तर ट्याक्सीवे भएका पार्किङ्वे निमार्ण सकिसक्नुपर्ने थियो । तर, भाका गरेको तालिकाअनुसार काम नगरेका कारण ८ अर्ब रुपैयाँको ठेक्का सम्झौता प्राधिकरणले सानहोजेसँग रद्द गरेको छ । 

यो निर्णयसँगै विमानस्थलको विस्तारको भविष्य फेरि अनिश्चित बनेको छ । प्राधिकरणले पुन: ठेक्का आहवान गर्न नयाँ प्रक्रिया अपनाउनुपर्छ । प्राधिकरणले हालको चापलाई व्यवस्थापन गर्न विमानस्थलकै पूर्वमा दुइटा अनि पश्चिमतर्फ हेलिकप्टर पार्किङ दुइटा गरी चारवटा पार्किङ्वे थप्नैपर्छ ।

प्रकाशित : पुस १६, २०७३ ०९:२०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT