कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सौगात विश्वकै कान्छा फिल्म निर्देशक

कान्तिपुर संवाददाता

काठमाडौ — सात वर्ष दस महिनाकै उमेरमा फिल्म रिलिज गर्दै नेपालका सौगात विष्ट संसारकै सबैभन्दा कान्छा फिल्म निर्देशकका रूपमा चिनिएका छन् । सात वर्ष तीन सय चालीस दिनको उमेरमा सौगातले वर्ल्ड रेकर्ड राख्न सफल भए।

सौगात विश्वकै कान्छा फिल्म निर्देशक
सात वर्ष दस महिनाकै उमेरमा फिल्म रिलिज गर्दै नेपालका सौगात विष्ट संसारकै सबैभन्दा कान्छा फिल्म निर्देशकका रूपमा चिनिएका छन् ।
सात वर्ष तीन सय चालीस दिनको उमेरमा सौगातले आफू निर्देशित फिल्म 'लभ यु बाबा' प्रदर्शनमा ल्याएर वर्ल्ड रेकर्ड राख्न सफल भएका हुन् । फिल्म मंसिर २६ मा रिलिज भएको थियो । सौगातले शुक्रबार सञ्चारमन्त्री मीनेन्द्र रिजालबाट गिनिज वल्र्ड रेकर्डको प्रमाणपत्र थापे ।
'सधैं म धेरै बोल्दिनँ, काम गरेर देखाउँछु भन्थें, तर आज म धेरै बोल्छु,' मुडमा देखिएका सौगातले भने, 'आज मसँग भन्नको लागि खुसीको कुरा पनि छ र दुःखको कुरा पनि । दुःखको कुरा, मेरो फिल्म हेर्न दर्शक हलसम्म पुग्नुभएन । किनकि उहाँहरूलाई फिल्म मैले बनाएकोमा विश्वास लागेन र हाम्रो फिल्म चलेन । सुखको कुरा, मिहिनेतको फल आज पाएको छु । गिनिज बुकमा नाम लेखाउँदा म मात्र खुसी छैन, हरेक नेपाली खुसी हुनुहुन्छ होला भन्ने ठानेको छु ।' अनि उनले दर्शकलाई प्रश्न तेस्र्याए, 'अब फेरि हजुरहरूले एक पटक फिल्म हेर्नुपर्छ कि पर्दैन होला ?'
उनले पुनः एक पटक फिल्म रिलिजको वातावरण मिलाइदिन सबैमा आग्रह पनि गरे । मन्त्री रिजालले यसका लागि आफूले पनि पहल गर्ने आश्वासन बाँडे । भने, 'सुरुमा त सौगातलाई हार्दिक बधाई, देशकै नाम राखिदिएकोमा । अनि ती बाबुआमा जसले छोरामाथि विश्वास गरी फिल्म निर्माणको वातावरण तयार पारिदिनुभयो ।'
आफ्ना बुबा गजित र दिदी संगमलाई मुख्य भूमिकामा लिएर फिल्ममा बाबुछोरीको मार्मिक कथा प्रस्तुत गरेका सौगातको फिल्मले व्यावसायिक सफलता हात पार्न सकेको थिएन । फिल्म हेरेका अधिकांशले भने उनको काम रुचाएका थिए । संगमले भाइको उपलब्धिमा व्यक्त गर्न नसक्ने खुसी पाएको टिप्पणी गरिन् ।
सौगातले भारतको बङलोरका किसन श्रीकान्तको रेकर्डलाई तोडेका हुन् । श्रीकान्त निर्देशित फिल्म 'केयर अफ फुटपाथ' कर्नाटकमा सय दिनभन्दा बढी चलेको थियो ।
कम उमेरमा फिल्म निर्देशनमा लागेर पछि विख्यात बन्ने निर्देशकमा तीन पटकका ओस्कार अवार्ड विजेता स्टेभन स्पिलबर्गदेखि टिम बर्टन, जोन कार्पेन्टर, पिटर ज्याक्सन, साम राइमी, स्पाइक लीसम्म पर्छन् । उनीहरू २० वर्षअघि नै फिल्म निर्देशनमा होमिएर पछिसम्मै ख्याति कमाएका निर्देशकहरू हुन् ।



प्रकाशित : फाल्गुन ९, २०७१ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?