कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अंग्रेजी फिल्ममा नेपाली युवा

नविन पोखरेल

लन्डन — जब उनी मुम्बइ पुगे, त्यहाँ धेरै नेपाली युवती र अधवैंशे महिला वेश्यावृत्तिमा लागेको उनले चाल पाए । घरको दयनीय आर्थिक अवस्थाले गर्दा कलिला युवती र महिला त्यस्तो धन्दामा संलग्न हुन वाध्य थिए ।

अंग्रेजी फिल्ममा नेपाली युवा


यौन र श्रम शोषणमा बाँचेका थिए उनीहरु । प्रेम र धनको लोभमा फँसाइएका हुन् वा जिविकोपार्जनको अर्को उत्तम विकल्प नभएपछि कोठीमा रात बिताउन वाध्य पारिएका महिला ।
त्यहाँको दर्दनाक र नारकीय अवस्था देखेर ललित भुसालको मन छियाछिया भयो । फिल्म लाइनमा लागेका उनले तत्काल सोचे, मैले जनचेतना जगाउने काम नगरि भएन । बेलायत आएर उनले त्यही विषय रोजे फिल्म बनाउन ।
अंग्रेजी फिल्म निर्माण चानचुने थिएन । उनले यस विषयमा अनुसन्धान गरेर कथा लेखे । फिल्म प्रभावकारी बनाउन धेरै स्क्रिप्ट राइटर खोजे तर अन्तिममा राजेश बेदी भेटिएपछि उनैसँग काम गरे भूसालले । करिब ५ महिनाको कडा मेहनत र तयारीपछि बेलायती र युरोपेली २८ जनाको टिम बन्यो । अनि उनीहरुले फिल्मको नाम जुराए ‘लिचेज्’ ।
मानव तस्करीमा आधारित २४ मिनेट लामो फिल्म ‘लिचेज्’ ले केही समय अघिमात्र इन्डोनेसियाको जकार्तामा आयोजित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘मेरिट २०१५ अवार्ड’ जितेपछि थप उत्साहित छन् भुसाल । ‘मानव तस्करी एउटा जघन्य अपराध र मानवअधिकारको उल्लंघन हो,’ भुसाल भन्छन्, ‘मलाई विश्वास छ मेरो फिल्मले थोरै भएपनि जनचेतना जगाउने छ र तस्करहरुको पनि मन परिवर्तन गराइदिने छ ।’
क्याम वुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको उक्त फिल्मका निर्माता, निर्देशक र लेखक भुसाल आफैं हुन् । यसमा बलिउड देखि यूके र युरोपेली कलाकारहरुको अभिनय छ ।
बेलायतस्थित वेष्ट मिडल्याण्डवासी भुसाल फिल्मलाई विश्वव्यापी प्रदर्शन र चलचित्र महोत्सवमा सामेल गराउने सोचमा छन् । केही गैर सरकारी संस्थाले उक्त फिल्मलाई कलेज, स्कुलमा समेत प्रदर्शन गराउन चाहेको भुसालले बताए ।
अवार्ड पाएपछि यस्ता विषयमा काम गर्न अझ प्रेरित भएको उनी बताउंछन् । बेलायतको बर्मिङहममा प्रिमियर शो हुँदा फिल्मलाई बलिउड कलाकार भाष्कर पटेल देखि बेलायती राजनीतिज्ञले औधि रुचाएको सम्झन्छन् भुसाल ।  
उनी अर्को फिल्म ‘दि क्रस्ड विङस्’ का लागि पनि काम गरिरहेका छन् । उक्त फिल्मले पनि घरेलु हिंसा, बलजफ्ती बिहे आदि विषय समेट्ने छ । यसको कथा एसिया, अफ्रिका र यूकेमा केन्द्रित हुने भुसालले जनाए ।
बुटवल स्थायी घर भएका भुसाल सानैदेखि कलाकार बन्न चाहन्थे तर उनको भाग्य र लगावले उनलाई निर्देशक सम्म बनायो ।
यसअघिका प्रोजेक्ट ‘म्यान अफ गड’ मा डिरेक्टर अफ फोटोग्राफी र एसोसिएट प्रोड्युसर बनेर काम गरेका उनले
‘ट्रयास अर ट्रेजर’ मा भने निर्देशक र डिरेक्टर अफ फोटोग्राफीको जिम्मेवारी सम्हालेका थिए । ‘बेलायत बसेर अंग्रेजी फिल्ममा काम गरेपनि मलाई नेपाली हुनुमा गर्व छ’, भुसालले जांदाजांदै गफ बिट मारे ।

प्रकाशित : भाद्र १६, २०७२ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?