“खुसी सबै नि:शुल्क”

मधु शाही

काठमाडौं — जीवनको आधा बाटो हिँडेपछि प्रा.डा. सञ्जीव उप्रेती एउटी कठोर मन भएकी युवतीसँग प्रेममा परे । उनकै भनाइमा सामान्य युवतीभन्दा फरक थिइन् रे, अर्चना थापा ।

त्यसैले त सञ्जीवको नजरमा उनी विशेष ठहरिइन् । आफूले मन पराएको प्रेमिकाको जवाफ पाउन कति समय कुरिन्छ होला ? अहिलेको ‘फास्ट फुड’ समयको हेक्का सबैलाई होला । तर, सञ्जीव र अर्चनाको प्रेम कथा अलि बेग्लै छ । 

एक वर्षपछि लभ
अर्चनाको मन जित्न सञ्जीवलाई ठयाक्कै एक वर्ष लाग्यो रे । दुवै अंग्रेजी विषयका स्नातकोत्तर विद्यार्थी । त्रिभुवन विश्वविद्यालयमा पहिलोपटक सञ्जीवले अर्चनालाई भेट्दाको हुलियासमेत उनलाई अझै सम्झना छ । ‘ठयाक्कै केटाको गेटअपमा थिइन् उनी,’ सञ्जीव भन्छन्, ‘पहिलो भेटमै काली–काली हिस्सी परेकी लाग्यो ।’ सञ्जीवले अर्चनाबारे जे धारणा बनाएका थिए, अर्चना थिइन् ठीक विपरीत । उनी प्रेम, दिवानापन र विवाहजस्ता सम्बन्धदेखि सकेसम्म जोगिन चाहन्थिन् । ‘साँच्चै, मलाई केटाहरूको पटक्कै विश्वास लाग्दैन थियो,’ अर्चना भन्छिन्, ‘मायाप्रेमका कुरा त परै जाओस् ।’ 

सञ्जीव भने अर्चनाको सादा रूपमा रंगिँदै थिए । कहिले साथीसँग त कहिले चिठीको माध्यमबाटै प्रेमप्रस्ताव राखिरहे उनले । ‘जतिपटक राखे पनि ठोस निर्णय नै आउँदैन थियो,’ सञ्जीव सम्झन्छन्, ‘उनको ‘एस’ शब्द सुन्न मलाई एक वर्ष लाग्यो ।’ अर्चनालाई फकाउन सञ्जीव अनौठा गतिविधि गर्थे रे । कहिले कपाल पालेर बिन्दास देखिने, कहिले कलेजै नआउने त कहिले अनुहारै नुन खाको कुखुराझंै बनाएर बस्ने । कुनै तरिकाले पनि दाल गलेन । जति अर्चना भाउ बढाउँदै जान्थिन्, सञ्जीव पनि उत्तिकै सुरिँदै जान्थे । एक दिन साथीका माध्यमबाट अर्चनालाई सूचना पुगेछ, ‘सञ्जीवको घरमा बिहेको दबाब आएको छ, तिमी के गर्ने ? छिटो निर्णय दिनुपर्‍यो । नभए ऊ बिहे गर्न बाध्य हुन्छ रे ।’ 

यसपछि चाहिँ अर्चना मैनबत्तीझैं पग्लिइन् । अनि उनले सञ्जीवको प्रेमप्रस्तावमा सकारात्मक रहेको जवाफ पठाइन् । प्राध्यापकसँगै उपन्यासकार, नाटककार र पछिल्लो समय नाटय अभिनयमा समेत छवि बनाएका सञ्जीवको पुरानो समय सम्झिँदै अर्चना भन्छिन्, ‘उहाँ उति बेलै वास्तविक जीवनमा एक्टिङ गर्न सिपालु हुनुहुन्थ्यो, नाटक त धेरै पछि खेल्न थाल्नुभएको हो । साँच्चिकै जीवनमा त्यति ठूलो भूमिका कमै प्रेमीले निभाउन सक्न होला ।’ 

डेटिङ 
अर्चनाले सकारात्मक संकेत दिएपछि सञ्जीवलाई लागेछ( ‘अब केटी फसी ।’ लगत्तै उनले मोटरसाइकलमा चढेर घुम्न जाने योजना बनाइहाले । ‘एक वर्षसम्म कुराएर यत्ति पनि नमान्ने भन्दै उहाँले घुम्न जाने पो भन्नुभो,’ अर्चना सम्झिन्छिन्, ‘मैले पनि नाइँनास्ति गरिनँ ।’ प्रतीक्षाको फल मीठै भयो । त्यसपछि उनीहरूको प्रेम निकै चलायमान हुन थाल्यो । पाँच वर्षमा प्रेमसम्बन्ध वैचारिक र भावनात्मक हिसाबले परिपक्व हुँदै थियो । अनि सन् १९९१ मा ललितपुर जावलाखेलकी अर्चना र काठमाडौं नक्सालका सञ्जीवले सामाजिक परम्परा निर्वाह गर्दै बिहे गरे । 

सहकार्य 
यतिबेला सञ्जीव र थापा दुवैले आ(आफ्नो क्षेत्रमा स्थापित अब्बल छवि बनाएका छन् । जीवनमा खुसीले भरिएको छ । अहिलेसम्मको सम्झना गर्दा ५२ वर्षे सञ्जीवले न त कहिल्यै अर्चनालाई महँगो उपहार दिएका छन् न अर्चनाले नै । उनीहरू भौतिक सामग्रीमा महँगो खुसी बाँड्ने चेष्टा गर्दैनन् । जीवनको खुसी सबै नि:शुल्क छ । ‘प्राकृतिक सौन्दर्य, सकारात्मक मन र मीठो मुस्कानमै लाखौं आनन्द महसुस हुन्छ,’ सञ्जीव भन्छन् । तर, झनक्क रिसाइहाल्ने अर्चनाको बानी सञ्जीवले अहिले पनि झेल्दै आएका छन् । जतिपटक अर्चना रिसाउँछिन्, सञ्जीवले नै फकाउनुपर्छ । ‘निरा जहिले रिसाउनी, कहिले होला मायासँग माया मिसाउनी...गीत मेरै लागि हो कि जस्तो लाग्छ अचेल,’ सञ्जीव हाँस्दै भन्छन्, ‘उनको रिसको आगो निभाउने पानी मै हुँ ।’ अर्चनाले फकाउने दिन कहिले आउला ? जीवनको फ्ल्यास ब्याकमा सञ्जीव निकै घोरिए, ‘खै अहिलेसम्म त थाहै छैन ।’ 

अर्चना आफू अलिक रिसालु स्वभावकी रहेको स्वीकार गर्छिन् । सञ्जीवको सकारात्मक सोचप्रति उत्तिकै प्रभावित पनि छिन् अर्चना । यसको अर्थ सञ्जीव रिसाउँदै नरिसाउने भने होइनन् । फरक यो छ कि सञ्जीव रिसाए बोलेर तुरुन्तै समाधान निकाल्नुपर्छ । अर्चनालाई चाहिँ रिस उठे बोल्दै नबोली चुप लागेर बस्न मन पर्छ । ‘नबोली सुखै छैन भने किन तुरुन्तै न बोल्ने ?,’ सञ्जीव भन्छन्, ‘बोलेपछि दूरी घट्छ ।’ 

जीवन यसरी नै एक रथका दुई पांग्रा बनेको छ । विवाहको केही वर्ष भने सञ्जीव र अर्चना करिअरमै सीमित रहे । अमेरिकामा सञ्जीव पीएचडी गरिरहँदा अर्चना सन्तानको हेरचारमा थिइन् । करिब २० वर्षको अन्तरालपछि अर्चनाले आफ्नो पढाइ करिअर पुन: सुरु गरिन् । र, उनले पनि एमफिलपछि पीएचडी गरिन् । लामो अन्तरालमा अर्चनाले पढाइप्रति गरेको न्याय देखेर सञ्जीव उनीप्रति गर्व गर्छन् । ‘उनी साँच्चै बहादुर छिन्,’ उनी भन्छन्, ‘मेरो सफलतामा उनको पनि ठूलो हात छ ।’

प्राध्यापनपछिको अवकाश जीवन बिताइरहेका सञ्जीवले अहिले पूरै समय अर्चनालाई दिएका छन् । दुवैजनाले युरोपका प्राय: सबै देश चाहरिसकेका छन् । यात्रा गर्न मन पराउने दुवैको स्वभाव मिल्छ । तर, बाथरुमबाट फर्किएपछि बत्ती बन्द नगर्ने, दराज खोलेपछि नलगाउने, धारा बन्द नगर्ने सञ्जीवका बानी अर्चनालाई मन पर्दैनन् । 

त्यस्तै, मन लागेपछि गरेरै छाड्ने एकोहोरोपन अलि दिक्क लाग्छ भने अर्चना चिटिक्क पार्न खोज्छिन् सञ्जीव बिर्गान थाल्छन् । तर, सजिलै लिने, रमाइलो स्वभाव र पतिभन्दा साथीजस्तो मान्ने सञ्जीवको व्यवहार अर्चनालाई मन पर्छ । अर्चना सधैं हाँसिरहेको सञ्जीव मन पराउँछन् । कडा मिहिनेत गर्ने, ट्राभलिङमा रमाउने र आत्मविश्वासी अर्चनाको स्वभाव सञ्जीवलाई ज्यादै मन पर्छ ।

सानो कुरामा रिसाइहाल्ने, ओभर अर्गनाइज्ड गर्ने र तुरुन्तै सेडयुल चेन्ज गर्ने बानी मन पर्दैन सञ्जीवलाई । ‘सानदाजुको महाभारत,’ ‘सपनाको साविती’, ‘न्यायप्रेमी’, गरी केही नाटकमा अभिनय गरेका सञ्जीवले अर्चनासँग पछिल्लो समय ‘मकैको अर्कै खेती’, ‘टेलिङ अ टेलर’ मा नाटक खेलेको अनुभव छ । सञ्जीवका उपन्यास ‘घनचक्कर’, समालोचना ‘सिद्धान्तका कुरा’, नाटक ‘मकैको अर्कै खेती’ लगायतका गरी चार कृति प्रकाशित छन् । प्रकाशन संस्था अक्षर क्रिएसनकी अध्यक्षसमेत रहेकी अर्चनाले महिला सशक्तिकरणका विषयमा छलफलसमेत चलाउँदै आएकी छन् । 

सम्बन्ध

सञ्जीवलाई अर्चनाको 
मन पर्ने बानी
 
    - कडा मिहिनेत गर्ने 
    - ट्राभलिङमा रमाउने 
    - आत्मविश्वासी 
मन नपर्ने 
    - सानो कुरामा रिसाइहाल्ने 
    - ओभर अर्गनाइज्ड गर्ने 
    - तुरुन्तै सेडयुल चेन्ज गर्ने 

अर्चनालाई सञ्जीवको 
मन पर्ने बानी 

    - सकारात्मक सोच 
    - रमाइलो स्वभाव 
    - साथीको व्यवहार 
मन नपर्ने 
    - मन लागेपछि गरेरै छोड्ने 
    - बाथरुममा बत्ती ननिभाउने 
    - पानी खोलेपछि धारा बन्द नगर्ने 

प्रकाशित : पुस १४, २०७३ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्

साझाले सम्झयो स्रष्टा

कान्तिपुर संवाददाता

ललितपुर — नेपाली साहित्यका अग्रज सष्ट्राहरूलाई साझा प्रकाशनले बुधबार सम्मान गरेको छ । संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशी, राष्ट्रकवि माधवप्रसाद घिमिरे र वरिष्ठ साहित्यकार मदनमणि दीक्षितलाई साझा सम्मान दिइएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले यी तीन स्रष्टालाई जनही २५ हजार १ सय १ रुपैयाँसहित ताम्रपत्र हस्तान्तरण गरे । कार्यक्रममा प्रधानमन्त्री दाहालले लेखक एवं समालोचक निनु चापागार्इँको ‘पूर्ववाद र सइदेली विचार’ र प्रा.डा. ताराकान्त पाण्डेयको ‘माक्र्सवाद, सांस्कृतिक अध्ययन तथा साहित्यको समाजशास्त्र’ पुस्तक लोकार्पणसमेत गरे । 

नेपाली साहित्य, संस्कृति, भाषा र मनोविज्ञान निर्माणको क्षेत्रमा साझा प्रकाशनले महत्त्वपूर्ण भूमिका खेलेको प्रधानमन्त्री दाहालले दाबी गरे । साझाको भवन अवलोकनपछि दाहालले सरकारले साझाको जीर्ण भवनहरू निर्माणका लागि सहयोग गर्ने आश्वासन दिए ।

साझा प्रकाशनको १ सय ५ वर्षको इतिहासमा पहिलोपटक साहित्यका अग्रज सष्ट्राहरूलाई सम्मान गर्न पाएको साझाको महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले बताए । ‘साझामा २२ करोडका पुस्तकहरू स्टकमा छन्,’ उनले भने, ‘यी पुस्तकको बिक्रीवितरणसँगै नयाँ पुस्तकहरूको प्रकाशनमा जोड दिने कोसिस हुनेछ ।’ मंसिर २६ गतेको मन्त्रीपरिषद बैठकले साझालाई १० करोड रुपैयाँ अनुदान र २० करोड रुपैयाँ ऋण दिएकोमा पुरानो ऋण तिरेर बाँकी रहेको रकमले पुस्तक प्रकाशनको लागि आधुनिक मेसिन खरिद गर्ने उनले जनाए । 

राष्ट्रकवि घिमिरेले चाहिँ ‘सम्मान पाइएला भनेर साहित्य सिर्जना गरेको होइन’ भन्दै नेपाली भाषासाहित्य जोगाउनतिर सुझाए । राजनीतिज्ञ एवं माक्र्सवादी सौन्दर्य चिन्तक मोहन वैद्य किरणले लोकार्पित दुवै पुस्तकले ‘उत्तर आधुनिकतावाद र उत्तर–उपनिवेशवादका साथमा समाजवादी चिन्तन प्रस्तुत गरेको’ दाबी गरे । दुवै पुस्तक साझाले नै छापेको हो ।

कार्यक्रममा प्रा.डा. कृष्णहरि बरालले सम्मानित स्रष्टाहरूबारे प्रकाश पारेका थिए । शिक्षामन्त्री धनीराम पौडेल, रञ्जु झा, दीनानाथ शर्मालगायतले साझा र स्रष्टाबारे धारणा राखेका थिए ।

प्रकाशित : पुस १४, २०७३ ०९:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्