कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालीले पुष्टि गरे डार्बिनको सिद्धान्त

अतुल मिश्र

काठमाडौं — क्रमिक जैविक विकासवादको सिद्धान्त (थ्योरी अफ नेचुरल सेलेक्सन) का प्रणेता चाल्र्स डार्बिन बाँचेका भए अहिले धेरै खुसी हुने थिए र मुरी-मुरी धन्यवाद दिने थिए, नेपाली वैज्ञानिक डा. संगीत लामिछानेसहितको टोलीलाई ।

नेपालीले पुष्टि गरे डार्बिनको सिद्धान्त
कारण- डार्बिनको डेढ सय वर्षअघिको सिद्धान्त पूर्ण सत्य रहेको प्रमाणित नेपाली वैज्ञानिक लामिछानेले गरेका छन् ।
डा.लामिछाने मुख्य अनुसन्धानकर्ता रहेको हालै गरिएको अनुसन्धानले विवादमा पर्दै आएको डार्बिनको सिद्धान्त सत्य भएको प्रमाणित गरेको हो, जसबारे डार्बिनको २०६ औं जन्मदिनका अवसरमा गत बिहीबार 'नेचर' जर्नलमा प्रकाशित भएको छ ।
डार्बिनले सिद्घान्त प्रतिपादन गरेपछि विगत डेढ सय वर्षमा विभिन्न वैज्ञानिकको यसैसँग सम्बन्धित विभिन्न सिद्घान्त र मत आए, जसमा कसैले डार्बिनको समर्थन गरे त कसैले विरोध ।
'डेढ सय वर्ष डार्बिनको सिद्घान्तको समर्थन र विरोधअन्तर्गतकै तर्क-वितर्कमा बित्यो,' पेसाले पशु चिकित्सक रहेका डा.लामिछानेले कान्तिपुरसँग भने, 'तर हाम्रो अनुसन्धानले डार्बिनको डेढ सय वर्षअघि प्रतिपादित सिद्घान्त सही रहेको प्रमाणित गरेको छ ।'
डार्बिनको सिद्घान्तअनुसार जुन जीव प्रकृतिसँग संघर्ष गर्छ त्यो बाँच्नुका साथै आफ्नो सन्तति कायम राख्दै पृथ्वीमा रहिरहन्छ । तर जसले प्रकृतिसँग संघर्ष गर्न सक्दैन, लोप भएर जान्छ । डार्बिनले दक्षिण अमेरिकाको कालापावस टापुका भँगेराका पातलो र बाक्लो चुच्चो भएका चराको नमुना लिएर खानपानलगायत चुच्चोको अध्ययन गरेका थिए ।
उनले खानाको प्रकृति र चराको चुच्चोको प्रकृतिमा समानता देखे पछि क्रमिक विकासवादको सिद्घान्त प्रतिपादित गरे ।
दुई शताब्दीदेखि चर्चामा रहेको कालापावस टापुका चराहरूमध्ये क्षमतावान्ले मात्र बाँच्न सक्ने स्थिति देखियो । उक्त टापुमा कुनै समय वर्षौंसम्म पानी नभएर सुख्खा लागेको थियो । सुख्खापछि टापुमा खानेकुराको नितान्त अभाव भयो । त्यहाँ ठूलठूला कडा खालका खानेकुरा मात्र बाँकी रहे । टापुमा सुख्खाले गर्दा किरा-फट्याङ्ग्रा, फलफूलसमेत हराएर गए ।
'त्यस्तो अवस्थामा जुन चराको बाक्लो र मोटो चुच्चो थियो, उनीहरू बाँच्न सफल भए भने साना र पातलो चुच्चो भएका चराहरू लोप भए, मरेर गए,' हाल उप्साला विश्वविद्यालय स्विडेनमा यही विषयमा विद्यावारिधि गरिरहेका डा.लामिछाने भने, 'यो नै डार्बिनको क्रमिक विकासवादको सिद्घान्तको उदाहरण हो ।'
उप्साला विश्वविद्यालयद्वारा गत बुधबार जारी विज्ञप्तिअनुसार डा.लामिछानेको अनुसन्धानले डार्बिनले प्रतिपादित सिद्घान्तको मूल आधार रहेको कालापावस टापुका भँगेराजस्तै चराको गत २० लाख वर्षमा समग्र विकासक्रमको अध्ययन र उनीहरूको चुच्चो फरक हुने उत्पत्तिसम्बन्धी (जेनेटिक) कारण पत्ता लगाएको हो ।
विज्ञप्तिअनुसार अनुसन्धानले चराको शरीरमा भएका विभिन्न प्रकारका 'जिन' मध्ये कुन 'जिन' ले गर्दा उनीहरूको चुच्चो फरक हुन्छ भन्ने पत्ता लाग्यो । डा.लामिछाने लगायतका टोलीले चराको चुच्चो फरक हुनुको कारण 'एएलएक्स-१' जिन रहेको पत्ता लगाए । 'एएलएक्स-१ त्यही जिन हो, जसले मान्छेको अनुहारको बनावट निर्धारित गर्छ,' डा.लामिछानेले भने, 'अर्को संयोग हेर्नोस् चरा र मानव दुवैको अनुहार निर्धारित गर्ने 'एएलएक्स-१' जिन नै हो ।' मान्छे र चरामा एउटै जिनले अनुहार निर्धारित गरेको हुँदा यो अनुसन्धानले अनुहार बिगि्रएको समस्या भएका मान्छेलाई एएलएक्स-१ जिनको सहयोगले उपचार गर्न सकिने सम्भावनाको ढोकासमेत खोलेको उल्लेख गर्दै उनले भने, 'डार्बिन जीवित भएका भए कति खुसी हुन्थे होला ?' मुख्य अनुसन्धानकर्ता डा.लामिछानेसहित अध्ययनमा उप्साला विश्वविद्यालयका अन्य वैज्ञानिकसमेत सहभागी थिए ।
विराटनगरका लामिछाने त्यहींबाट प्लस टु सकाएर कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर चितवनबाट पशु चिकित्सा विज्ञानमा स्नातक गरेका हुन् । यसपछि युरोपियन युनियनको छात्रवृत्तिअन्तर्गत नेदरल्यान्ड्सबाट जेनेटिक्स/भेटेरिनरी विज्ञानमा स्नातकोत्तर गरेका थिए । हाल उनी उप्साला विश्वविद्यालय स्विडेनमा विद्यावारिधि गरिरहेका छन् । ३० वर्षीय डा.लामिछानेको विद्यावारिधि एक वर्षमा सकिनेछ । अनुसन्धानकै क्षेत्रमा लागिरहने उनले बताए ।

प्रकाशित : फाल्गुन ३, २०७१ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?