कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुगमका हिट गीतका रोचक कहानी

गोकर्ण गौतम

सर्वाधिक ‘मास अपिलिङ’ भएका पप गायक हुन्, सुगम पोखरेल । दुई दशकदेखिको निरन्तरता र व्यस्तताले उनको सफलताको ग्राफलाई संकेत गर्छ । गीतका तीनै विधा लेखन, कम्पोज र गायनमा सक्रिय सुगमका १ सय ५० को हाराहारीमा गीत रेकर्ड भएका छन् ।

सुगमका हिट गीतका रोचक कहानी

र, ती गीत कसरी जन्मिए र दर्शक/श्रोतासम्म आइपुगे भन्नेजस्ता पृष्ठभूमि सधैं गर्भमै रहन्छ । सुगमका ५ अलटाइम हिट गीतभित्रका रोचक अन्तरकथा यस्तो छ : 

मेरो संसार तिमी नै हौ...
सुगमलाई ‘मार्क’ गराउने यो गीत खासमा उनकी प्रेमिका लिजा (अहिले श्रीमती) का लागि ‘सरप्राइज गिफ्ट’ थियो । उमेर त त्यो बेला भर्खर २० वर्ष पुग्दै थियो । उनी भन्छन्, ‘यो गीतका हरेक शब्द उनकै लागि समर्पित गरेको छु ।’ मिठास मेलोडी ल्याउने लोभमा सुरुमा हिन्दीमा लेखे र कम्पोज गरे, ‘मेरी मन्जिल तुही त हो... ।’ ‘भोकल अटो ट्युनर’ सफ्टवेयर प्रयोग गर्ने सम्भवत: पहिलो गीत भएको बताउँछन् । अर्कोतिर उनलाई आफ्नो नाम ‘सुगम पोखरेल’ अनलक्की लाग्थ्यो । त्यसैले गायकको नाममा सुगम नलेखी ‘वान एम बी’ अर्थात् वान म्यान ब्यान्ड लेखे । 

फेरि त्यो दिन सम्झन चाहन्नँ... 
जीवनमा एकपटक ट्रयाजिडी नभोग्ने को होला र ? सुगम पनि अछुतो थिएनन् । फेरि उनलाई एकातिर ‘मेरो संसार...’ को लोकप्रियतालाई जोगाउने चुनौती थियो, अर्कातिर सफ्टवेयरको प्रयोगले हिट भएको भन्ने आरोप चिर्नु थियो । एफएममा हिट भइसके पनि भिडियो बनाउने जिम्मा पाए, आलोक नेम्वाङले । एल्बम कभरमा फोटो देखेपछि आलोकले सुगम नभई भिडियो नबनाउने अड्डी कसे । नभन्दै भिडियोले चर्चाको दायरा अझ फराकिलो पार्‍यो । सुगम सुनाउँछन्, ‘यो भिडियोले मलाई सेलिब्रेटी बनायो ।’ 

मेरो एउटा साथी छ...
थोरै साथीसँग धेरै नजिक हुने बानी छ सुगमको । प्रेमिकाका लागि उनले र अरू गायकले पनि धेरै गीत गाएका छन् तर साथीप्रतिको प्रेम र माया दर्शाउने गीत कम छ । भन्छन्, ‘यो गीत कम्पोज गरिरहँदा दिमागमा धेरै साथीहरू खेलिरहेका थिए । उनीहरूकै सम्झना र साथ सम्झिएर गाएँ ।’ कम्पोज गर्दै भिडियोमा अनन्य मित्रद्वय सुरजसिंह ठकुरी र आसिफ शाहलाई सहभागी गराउने निधो गरिसकेका थिए । तर आसिफको भूमिका निर्देशकमा सीमित थियो । सुटिङको पूर्वसन्ध्यामा आसिफले पनि खेल्ने मनसाय व्यक्त गरे, अनि कन्सेप्ट परिवर्तन गरेर तीनै जनाले खेले । गीतको लोकप्रियता यति चुलियो कि यही नामबाट सुदर्शन थापाले फिल्म नै बनाए । यही फिल्मबाट सिने संगीतमा सुगमले दरिलो पाइला राखे । फिल्म पनि हिट भयो । सुगमको नयाँ एल्बममा यो गीतको दोस्रो भाग सुन्न पाइनेछ । भिडियोमा उनीसहित सुरज र आसिफ नै हुनेछन् । 

जाँदैछु टाढा...
भनिहालियो, सुगमको करिअरको सुरुवात नै विरह र बिछोडका गीतबाट भयो । उनका गीतमा आफ्नो जीवन भोगाइ, साथीसंगतिसँगको सम्बन्ध र कल्पनाशीलताको मिश्रण पाइन्छ । कम्पोज गर्दा बीच–बीचका अंग्रेजी हरफ थिएन । रेकर्ड गर्दा एरेन्जर सुजिल कर्माचार्यले अंग्रेजी राख्दा अझ क्याच्ची हुने सुझाव दिए । तर यसले बजारमा आउन झन्डै चार वर्ष कुर्नुपर्‍यो । उनका फ्यानले कोरियन फिल्मको क्लिप्स हालेर भिडियो बनाए र यु ट्युबमा अपलोड गरे, जुन हिट भयो । त्यसपछि बल्ल सुगमले सन् २००८ मा अमेरिका गएको मौकामा उतै भिडियो बनाए । घुमघामकै सिलसिलामा गायकहरू सञ्जय श्रेष्ठ, सरोज दत्त र भूपेन्द्र वज्राचार्यले खिचे, उनले मोडलिङ गरे । आखिरमा यो उनले निर्देशन गरेको पहिलो म्युजिक भिडियो बन्यो । 

लखर लखर...
आफ्नो विगत र अहिलेका युवा पिँढीका तीतो यथार्थलाई रमाइलो शैलीमा पोखिएको यो डान्सिङ नम्बर सुगमको पछिल्लो हिट गीत हो । छोराछोरी सही बाटोमा लागेनन् भने अभिभावकले गाली गर्दै भन्छन्, ‘काम छैन । कति लखर–लखर डुल्छस् ?’ एसएलसी सकेपछि सुगमले यस्ता गाली धेरै सुन्नुपरेको थियो । झन्डै अढाइ दशकपछि यही पीडालाई उनले गीतमा पोखे । बीचमा एउटा लाइन छ, ‘सके जापान अमेरिका, नत्र खाडी छ ।’ जुन अहिलेको पुस्ताको विडम्बना हो । एल्बमका लागि रेकर्ड गरिएको भए पनि गीत फिल्म जिन्दगी रक्सको प्रमोसनल सङका रूपमा बाहिरियो । निर्देशक निकेश खड्काले सुनाएको कथासँग गीतको भाव मिल्दोजुल्दो भएपछि फिल्ममा समावेश गरेको सुगमले बताए । फिल्म त फ्लप भए पनि गीत सुपरहिट भइदियो । 

प्रकाशित : पुस १०, २०७२ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?