कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वर्षका चर्चित

२०१५ प्रविधि
हेलो शुक्रबार

प्रविधि क्षेत्रको प्रतिस्पर्धा, नयाँ–नयाँ आविष्कार र विस्तारित बजारका कारण २०१५ रोचक रह्यो । यो वर्षको हरेक महिना केही त्यस्ता घटना भए जसले प्रविधि क्षेत्रमा चर्चा कमाए र भविष्यमा पनि ती घटनालाई सम्झिइनेछ ।

वर्षका चर्चित

२०१५ मा प्रविधि क्षेत्रमा भएका केही रोचक घटना : 

१) गुगलको एन्ड्रोइड वान

सन् २०१४ बाटै गुगलले विकासोन्मुख देशका जनतासमक्ष सस्तो फोन पुर्‍याउने योजनासहित एन्ड्रोइड वान अभियान सुरु गरेको थियो । यो वर्षको सुरुवातमै नेपालसहित श्रीलंका, बंगलादेशमा यो अभियान सुरु भएको थियो । अभियानअन्तर्गत गुगलले भारतीय कम्पनीसँग मिलेर १० हजारभन्दा कम मूल्यका फोन उत्पादन गरी बजारमा पठाएको थियो जसमा एन्ड्रोइडको पछिल्लो अपरेटिङ सिस्टम अपडेट हुनेछ ।

२) ट्वीटर र इन्स्टाग्रामको युद्ध
फेसबुक स्वामित्वको फोटो सेयरिङ साइट इन्स्टाग्राम र ट्वीटरबीचको प्रतिस्पर्धाले पनि यो वर्ष चर्चा कमायो । ट्वीटरले धेरै फ्लोअर भएका सेलिब्रेटीलाई डीएम गरेरै इन्स्टाग्रामको लिंक सेयर नगरी सोझै फोटो अपलोड गर्न आग्रह गरेपछि यसको चर्चा चुलिएको हो । 

३) ट्वीटरको अपडेट
यो वर्ष ट्वीटर धेरै कारणले चर्चामा आयो । उसले आफ्नो साइटमा केही नयाँ फिचर यही वर्ष थपेको छ । ट्वीटरमा यही वर्षदेखि सोझै भिडियो अपलोड गर्न मिल्ने सुविधा थपियो भने प्रयोगकर्ताले ट्वीट नचलाएको बेलाको ट्वीट देखिने फिचर ह्वाइल यु वेयर अवे सुरु भयो । 
यही वर्षको अन्त्यतिर ट्वीटरले आफ्नो फेभरेट अप्सनको सट्टामा लाइक्स अप्सन थप्यो । यसको पक्ष र विपक्षमा धेरै तर्कहरू भए ।

४) माइक्रोसफ्टको संघर्ष
यो वर्ष माइक्रोसफ्टले आफ्नो प्रयोगकर्ता आकर्षित गर्न केही प्रयासहरू गर्‍यो । कम्पनीले आफ्नो अफिस एप्लिकेसन्स एन्ड्रोइड ट्याब्लेटमा नि:शुल्क दिनेदेखि आइफोन डिभाइसका लागि आउटलुक इमेल पनि सार्वजनिक गर्‍यो ।
योबाहेक माइक्रोसफ्टको विन्डोज १० ले यो वर्ष धेरै चर्चा कमायो किनकि यो माइक्रोसफ्टको अपरेटिङ सिरिजको अन्तिम उत्पादन भएको कम्पनीले घोषणा गरेको छ । विन्डोज १० विन्डोज ७ र ८ का प्रयोगकर्तालाई नि:शुल्क अपग्रेडको सुविधा दिइएको थियो । 
यसै वर्ष माइक्रोसफ्टले हाइब्रिड ल्यापटप माइक्रोसफ्ट सर्फेस बुक र प्रो सार्वजनिक गरेको छ । माइक्रोसफ्टको यो उत्पादनले राम्रो प्रतिक्रिया पाएको छ । 

५) आईओएस ९
यो वर्ष एप्पलले आफ्नो अपरेटिङ सिस्टम आईओएस ९ सार्वजनिक गर्‍यो । कम्पनीले दुई वर्षअघि आईओएस ८ सार्वजनिक गरेको थियो । यसको चर्चा हुनुको कारण के पनि थियो भने यसमा प्रयोगकर्ताको सुविधालाई ध्यानमा राखेर केही फिचरहरू थपिएका छन् । जसमा ब्याट्री लाइभ र सेक्युरिटी महत्त्वपूर्ण छ । र, आईओएस ९ को युजर इन्टरफेस पनि गज्जबको भनिएको छ । 

६) सिमबिनाको मोबाइलको चर्चा 
मोबाइल अपरेटरहरूको संस्था जीएसएमएले सिमबिना चल्ने मोबाइल फोन बनाउन एप्पल र सामसुङले छलफल अघि बढाएको खबरले यो वर्ष चर्चा कमायो । यसको चर्चा हुनु स्वाभाविक पनि छ किनकि केही वर्षदेखि चर्चा पाइरहेको यो परिकल्पना साकार भए मोबाइल युगमा नयाँ चरण सुरु हुनेछ । यस्तो सुविधाले नयाँ क्यारियरसँग पनि बिनाकुनै रोकतोक कनेक्ट हुने सुविधा हुनेछ । यसले छुट्टै क्यारियरका लागि छुट्टै सिम लिनुपर्ने बाध्यता पनि हट्नेछ । जसका कारण कुनै एक देशमा चलाइरहेको फोन अर्को देशमा अनलक गर्नुपर्ने झन्झट हुने छैन ।
तर, यो काम त्यति सजिलो भने छैन । यस्तो दिन आउन सबै मोबाइल क्यारियरले जीएसएमएको निर्णयलाई स्विकार्नुपर्छ भने फोन उत्पादकले त्यसै अनुसारको फोन उत्पादन थाल्नुपर्ने हुन्छ ।

७) आईफोन ६एस र ६एस प्लस
यो वर्ष एप्पलको अर्को उत्पादन आईफोन ६एस र प्लसले पनि चर्चा कमायो । सेप्टेम्बरमा रिलिज भएको दुवै फोन पहिलो सातामा १३ मिलियन बिक्री भएको कम्पनीले जनाएको छ । यो अघिल्लो वर्ष सार्वजनिक एप्पलको उत्पादन आईफोन ६ र ६ प्लसको विकसित रूप हो । र, यसको डिजाइनलाई प्रयोगकर्ताले मन पराए पनि ।

८) ग्यालेक्सी ६एस र ६एस एज
स्मार्टफोन बजारमा सामसुङ र एप्पलको प्रतिस्पर्धा नौलो होइन । एप्पलको डिजाइन चोरी गरेको आरोप खेप्दै आएको सामसुङले यही वर्ष ग्यालेक्सी ६एस र ६एस एज सार्वजनिक गरेको थियो । आल्मुनियम फ्रेम र यसको कर्भ स्टाइलले यो वर्ष चर्चा धेरै कमायो । अघिल्लो भर्सनका सुविधाकै परिस्कृत रूप भए पनि यसको युजर इन्टरफेस र पर्फमेन्सको चर्चा भयो ।

९) पेरिस्कोप
यही वर्ष सार्वजनिक भएको पेरिस्कोप एपलाई एप्पलले यो वर्षको उत्कृष्ट एप घोषणा गरेको छ । आईफोनमा डाउनलोड भएको एप र यसको प्रकृतिको आधारमा यसलाई उत्कृष्ट घोषणा गरिएको हो । ट्वीटरले किनेर यही वर्ष एप लञ्च गरिएको हो । लाइभ भिडियो स्ट्रिमिङको सुविधा दिने एपको कारण ट्वीटरको प्रयोगकर्ताले नयाँ स्वाद पाएका छन् । एपमार्फत कुनै इभेन्टको ट्वीटरमार्फत प्रसारण गर्न सकिन्छ । 

१०) कन्टेन्ट होस्ट गर्ने फेसबुकको योजना
यो वर्ष सार्वजनिक भएको फेसबुकको एक महत्त्वाकांक्षी योजनाले धेरैको ध्यान खिच्यो । फेसबुकले ठूला सञ्चारमाध्यमसँग कन्टेन्ट होस्ट गर्न सम्झौताको प्रयास गरेको समाचार सार्वजनिक भएपछि यसको चर्चा चुलिएको हो । पछि फेसबुकले पनि यसलाई स्वीकार गरिसकेको छ । फेसबुकले कन्टेन्ट होस्ट गर्न थाले सञ्चारमाध्यमको भविष्य के हुन्छ र यस्तो अवस्थामा सम्पादकीय स्वतन्त्रता के हुन्छ भन्ने विषयमा चर्चा भएको थियो । फेसबुकले आफ्नो योजनालाई आकर्षक बनाउन कन्टेन्टमा आउने विज्ञापनको रकम बाँड्ने बताएको थियो ।

११) एप्पल वाच
अघिल्लो वर्ष घोषणा गरेर यो वर्ष सार्वजनिक भएको एप्पल वाच पनि वर्षको चर्चित विषय बन्यो । एप्पलको महत्त्वाकांक्षी यो योजनाले धेरै राम्रो प्रतिक्रिया भने पाएन । बजारमा नकारात्मक टिप्पणी चलेपछि कम्पनीले यसको बिक्रीको तथ्यांकसमेत सार्वजनिक गरेको छैन । बरु वाचमा समस्या आएको समाचार सार्वजनिक भए । अप्रिलमा चार थरीका एप्पल वाच सार्वजनिक भएको थियो ।

१२) गुगल फोटोज
गुगलले यो वर्ष गुगल फोटोज सार्वजनिक गरेको थियो । यसको चर्चा किन भयो भने यसमा अनलिमिटेड स्टोरेज सुविधा दिइएको छ । यो एन्ड्रोइड, आईओएस डिभाइसको एप र वेब भर्सन सार्वजनिक भएको हो । यसले प्रयोगकर्ताको फोटो स्टोरेज गर्नेसहित अटो क्यानभास बनाउने सुविधा पनि दिन्छ । सार्वजनिक भएलगत्तै यो स्मार्टफोन प्रयोगकर्तामाझ लोकप्रिय बनेको छ । 

प्रकाशित : पुस १०, २०७२ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?