कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नो फुर्सद, नो टेन्सन

शिव मुखिया

काम नै त्यस्तो छ कि, जसले उनीहरूको दिनचर्या अनियमित बनाइदिन्छ ।

नो फुर्सद, नो टेन्सन

अर्थात् उठ्ने, सुत्ने, खाने, बस्नेको कुनै टुंगो हँुदैन । मल्टिप्लेक्समा सिनेमा हेरिरहेका बेला, रेस्टुरेन्टको मेनु पल्टाइरहेका बेला, ओछ्यानमा पल्टिएर फेसबुक चलाइरहेका बेला कुनै पनि समयमा कामबाट बोलावट आउन सक्छ । त्यस्तो अवस्थामा झटपट तयार भएर कार्यक्षेत्रमा दौडिहाल्नुपर्छ । न ‘भोको छु’ भन्न पाइयो, न अल्छी लागेको बहाना गर्न नै । 

उनीहरूको पेसाचाहिँ यस्तो छ कि, खानपान, ड्रेसअप, फिटनेस र सरसफाइमा सन्तुलन मिलाउनै पर्ने । झट्ट हेर्दा ‘फिट एन्ड फाइन’ देखिनुपर्ने । अरूको सामुन्ने विनम्र मुद्रामा प्रस्तुत हुनुपर्ने । के यो सम्भव छ ? भनिन्छ नि, ‘जहाँ इच्छा त्यहाँ उपाय ।’ निकै धपेडीबीच बित्ने दैनिकीमा पनि उनीहरूले आफ्नो स्वास्थ्य र सौन्दर्यलाई मेन्टेन गरेका छन् । किनभने यो उनीहरूको रुचिको क्षेत्र हो, जसमा अघात लगाव र स्नेह मिसिएको छ । 

जेनी शेर्पा, विमान परिचारिका
तारा एयरले उच्च हिमाली भेगमा उडान भरिरहेका बेला जेनी शेर्पा यात्रुहरूका सामुन्ने हार्दिकताका साथ सेवा पस्किरहेकी हुन्छिन् । कहिले जोमसोम त कहिले लुक्लाको उडानले उनलाई सातैभर व्यस्त बनाउँछ । हरेक सप्ताहन्त तय हुने सेड्युलअनुसार जेनीको दैनिकी चल्छ । कुन बेला उठ्ने, कुन बेला खाने ? उनी स्वयंलाई भेउ पाउन मुस्किल हुन्छ । 
‘कहिले बिहान साढे चारमै उठेर घर छाड्नुपर्छ,’ जेनी भन्छिन्, ‘राति फर्कने पनि टुंगो हँुदैन ।’ त्यसैले आफूलाई लिनका लागि घरमा भ्यान आइसक्दा राति लगाउने अतिरिक्त लुगा प्याक गरिसकेको हुनुपर्छ । त्यसो त उनको ब्यागमा लुगाबाहेक केही ड्राई फुड्स पनि हुन्छ । अक्सर घरको खानेकुरा खाने साइत जुर्दैन । जहाँ पुगिन्छ, त्यहींको खानाले पेट भर्नुपर्ने हुन्छ । 
न्यानो ओछ्यान वा तातो भात छाडे पनि यात्रुको अगाडि प्रसन्न मुद्रामा प्रस्तुत हुनुपर्छ । जति अस्तव्यस्त भए पनि आफूलाई स्मार्ट देखाउनैपर्छ । ‘हाम्रो पेसाको च्यालेन्ज भनेको यही हो,’ जेनी भन्छिन्, ‘यस्ता च्यालेन्जलाई स्वीकार गर्न सक्नुपर्छ ।’ 
कहिले विमान दुर्घटना हुन्छ । कहिले यात्रुहरू बेपत्तासँग डराएर चिच्याउँछन् । कति यात्रु त यस्ता पनि हुन्छन्, जो कहिल्यै जहाज नचढ्ने कसम खान्छन् । ‘त्यस बेलाचाहिँ मन अलि खिन्न हुन्छ,’ जेनी भन्छिन्, ‘अरू नै पेसा गरेको भए नि हुन्थ्यो भन्ने लाग्छ । तर, हामी यस्तै जोखिमपूर्ण काममा रमाउन अभ्यस्त भइसकेका छांै । अरू क्षेत्रमा इन्जोए गर्न सक्दैनौं ।’ 

श्रद्धा अर्याल, टेलिभिजनकर्मी
काठमाडौं सहरले रात्रिकालीन विश्राम लिने तरखर गरिरहेका बेला श्रद्धा अर्याल कान्तिपुर टेलिभिजनको स्टुडियोमा कुनै रिपोर्ट तयार गरिरहेकी हुन्छिन् । कहिले कहीं त यस्तो पनि हुन्छ, दिनभर रिपोर्टिङ गरेर स्टुडियोभित्र प्रवेश गरिनसक्दै क्यामेरा अगाडि उभिएर कार्यक्रम सञ्चालन गर्नुपर्छ ।
‘मेकअप गर्ने फुर्सद हुँदैन,’ श्रद्धा भन्छिन्, ‘जस्तो हालतमा छु, त्यस्तै स्टुडियोमा पस्छु ।’ यही कारण घरबाट बाहिर निस्कनुअघि उनी यस्तो पहिरन लगाउँछिन्, जो स्क्रिनमा समेत फिट देखियोस् । तर, समस्याचाहिँ के छ भने रिपोर्टिङका लागि फिल्डमा जाँदा क्याजुअल ड्रेसअप गर्नुपर्ने र स्टुडियोमा फर्मल वेयरमा प्रस्तुत हुनुपर्ने । ‘यसका लागि एक्स्ट्रा लुगा बोक्नुपर्ने हुन्छ,’ श्रद्धा भन्छिन् । दिनहुँ प्रसारण हुने ‘मार्केट वाच’ को प्रस्तोता हुन्, उनी । यसको रिपोर्टिङमा समेत आफैं कुद्नुपर्छ । कहिले स्थलगत रिपोर्टिङ त कहिले प्रत्यक्ष प्रसारणको कामले उनलाई बेफुर्सदिलो बनाउँछ । राति रेकर्ड गरिएको कार्यक्रम चित्त नबुझे दोहोर्‍याएर रेकर्ड गर्नुपर्छ । यस्तो बेला घर फर्कन अबेर हुन्छ ।
घरबाट निस्केपछि खानाको टुंगो हुँदैन । ‘धेरै समय भोको पेट बस्न नहुने भएकाले ड्राई फुड र चकलेट बोक्छु,’ श्रद्धा भन्छिन्, ‘नभए त ग्यास्ट्रिकले समाइहाल्छ ।’ रिपोर्टिङका लागि फिल्डमा पुग्नुपर्ने भएकाले आफ्नो स्वास्थ्यलाई मेन्टेन गर्नैपर्छ । टेलिभिजनमा अनुहार देखाइरहनुपर्ने भएकाले सौन्दर्यमा पनि ख्याल गर्नैपर्छ । स्वास्थ्य र सौन्दर्य कायम राख्न सकेसम्म प्रयास गर्छिन् । 

सुष्मा पौडेल, स्टाफ नर्स 
कहिले रातभर जागा बस्नुपर्ने, कहिले दिनभर बिरामीको कचकच सुन्नुपर्ने । न खानेको टुंगो, न सुत्नेको । यति हुँदाहुँदै पनि बिरामीको सामुन्ने विनम्रतासाथ प्रस्तुत हुनुपर्छ । जतिसुकै अनिदो भए पनि आफूलाई ‘फ्रेस र कुल’ देखाउनुपर्छ । यो सुष्मा पौडलको मात्र होइन, आम नर्सको साझा भोगाइ हो । सिनामंगलस्थित नोबेल हस्पिटलमा कार्यरत उनी सातामा दुई दिन रात्रिकालीन काममा खटिन्छिन् । 
बिहान घर फर्केर सुत्ने प्रयास गर्छिन् । तर, उस्तो निद्रा पर्दैन । अरू दिनचाहिँ मध्याह्न र बिहानीको सत्रमा काम गर्छिन् । यस किसिमको कार्यतालिकाले उनको दिनचर्या अनियमित बनाइदिन्छ । ‘आराम र फुर्सद भन्ने हुँदैन,’ सुष्मा भन्छिन्, ‘कुनै पनि समयमा ड्युटीमा हाजिर हुनुपर्छ ।’ आपतकालीन अवस्थाका बिरामीहरू भएको अवस्थामा निर्धारित समयभन्दा बढी खट्नुपर्छ । खाई–नखाई रोगीको सेवामा जुट्नुपर्छ । यसरी अर्काको स्वास्थ्यको ख्याल राख्दाराख्दै कहिलेकाहीं त आफ्नै स्वास्थ्य बिग्रिसकेको हुन्छ । 
सुष्मा भन्छिन्, ‘धेरैजसो नर्सलाई ग्यास्ट्रिकको समस्या हुने सम्भावना हुन्छ ।’ उनी स्वयं पनि यसबाट पीडित छिन् । किनभने आफ्नो भान्सामा पाकेको, आफ्नै हातले पकाएको खानका लागि उनीहरूलाई निकै हम्मे पर्छ । ‘ड्युटी आवर र खाने समयको तालमेल मिल्दैन,’ सुष्मा भन्छिन्, ‘त्यसैले बाहिरको खानेकुरामा चित्त बुझाउनुपर्छ ।’ यद्यपि यस्तो अनियन्त्रित खानपानबाट जोगिनका लागि उनले सकेसम्म घरमै पकाएर खानेकुरा ल्याउने गरेकी छन् । 

मुना चापागाईं, रेडियोकर्मी
रिसर्च, फिल्ड रिपोर्टिङ, अन्तर्वार्ता, स्क्रिप्ट राइटिङजस्ता कामले मुना चापागाईंको दैनिकी धपेडीमा बित्छ । इक्वेल एक्सेस नेपालअन्तर्गत कहिले रिपोर्टिङमा धाइरहेकी हुन्छिन् त कहिले तन्नेरी ब्लगरहरूसँग अनुभव साटिरहेकी हुन्छिन् । 
‘नयाँ नेपाल’, ‘निकास’ जस्ता रेडियो कार्यक्रम र ‘मेरो रिपोर्ट डटनेट’ को कार्यतालिकाले उनको दैनिकी चलायमान हुन्छ । डेटलाइनमा सिध्याउनुपर्ने कतिपय असाइनमेन्टहरूको छुट्टै दबाब हुन्छ । कहिलेकाहीं कार्यालयमै रिपोर्ट बनाउन बस्दा दिमागमा केही फुर्दैन । अनि त्यो काम घरमा बसेर पूरा गर्छिन् । यस्तो कामले कहिले रातको ११–१२ बजाइदिन्छ । 
‘घरमा पनि अबेरसम्म काम गर्नुपर्ने हुन सक्छ,’ मुना भन्छिन्, ‘त्यसले गर्दा बिहान चाँडै उठ्न सकिँदैन ।’ हत्तपत्त उठ्यो, फ्रेस भयो, खाना तयार गर्‍यो अनि अफिस दौडिहाल्यो । घर बाहिर निस्कनुअघि उनले मेकअपमा खासै समय दिन्नन् । आँखामा गाजलचाहिँ लगाउनैपर्छ । फिल्डमा जानुपर्ने भएकाले जिन्स र टिसर्ट सहज लाग्छ । 
उनलाई कार्यालय पुग्न वा अन्तर्वार्ताका लागि कतै जानुपर्‍यो भने सार्वजनिक यातायात समात्नुपर्ने हुन्छ । त्यसैले आफूले जतिसुकै हतार गरे पनि कहिलेकाहीं निर्धारित समयमा पुग्न सकिँदैन । त्यस्तो बेला गाली पनि सहनुपर्ने हुन्छ । ‘सकेसम्म त टाइम म्यानेज गर्न खोजिन्छ,’ मुना भन्छिन्, ‘तर, सधैं आफूले भनेजस्तो हुँदैन ।’ समयमात्र होइन, सौन्दर्य र स्वास्थ्यलाई पनि सन्तुलित राख्ने प्रयास गर्छिन् । यद्यपि कामको प्रकृति नै यस्तो छ कि, आफ्नो मर्जीअनुसार सबै कुरा गर्न सकिँदैन । 

प्रकाशित : वैशाख १७, २०७३ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?