त्यो रोयल, त्यो साइनो

फुड एन्ड ड्रिङ्स
सुरज कुँवर

दरबारमार्गलाई अहिलेको जेनेरेसनले सोसल मिडियामा किङ्स–वे लेखेको देखिन्छ ।

कुनै जुग थियो, यो ठाउँमा राणाकालीन चर्चित अनि आकर्षक भवन सेतो दरबार, लाल दरबार, हिटी दरबार, फोहोरा दरबार, चार बुर्जा दरबार आदि एकसे एक भवन ‘को भन्दा को कम’ को अवस्थामा ठडिएका थिए । राणाले बाहिरबाट झिकाएका कालिगढले डिजाइन गरेका ती भवन यतिबेला अलि सजिलै देख्न भने सकिँदैनन् । 

अहिलेको इन्जिनियरिङ डिजाइनअनुसार बनाइएका भर्टिकल बिल्डिङ/अपार्टमेन्टको दबदबाभित्र ती छोपिँदै गएका छन् । इतिहासको एउटा विन्दुबाट हेर्दा दरबारै दरबार भएको दरबारमार्गको नाम २०४६ सालको पोलिटिकल चेन्ज आसपासमा तीनधारा पनि रह्यो । तर, अहिले यो नाम लोपोन्मुखजस्तै भइसक्यो । अहिले किङ्स–वे काठमाडौंमा एलिटको सपिङ हब बनेको छ । 
मल्टिनेसनल ब्रान्ड सबैभन्दा पहिले दरबारमार्गमै स्पेस खोज्छन् । यी सबै मुभमेन्टलाई २७ वर्षदेखि हेरिरहेको छ, एउटा रेस्टुरेन्टले । राजाले दरबार छाडेकोदेखि लिएर मल्टिनेसनल कम्पनी केएफसीसम्मको आगमन देखिसकेको यसको नाम हो, रोयल साइनो । रोयल साइनो रेस्टुरेन्ट आफैं पनि सेतो दरबारको छायामा उभिएको छ । कुनै बेला राणाले हुक्का तान्ने थलोसँग जोडिएको थियो, रोयल साइनो । 
यतिबेला देश हाँक्ने नेता जमघट गर्ने हब बनेको छ । भिडियो सुटबाट फुर्सदिला बनेका सेलिब्रिटी यहाँ कफी अर्डर गरिरहेका देखिन्छन् । बैंकर, कर्पोरेट क्षेत्रका कार्ड होल्डर लन्च आवरमा यतै पस्छन् । यसका म्यानेजर उद्धव ढकालका अनुसार, सुरुमा स्थापना गर्नेहरू ट्राभल/टुर क्षेत्रमा आबद्ध २० तन्नेरी थिए । जो नेपालको सुरुको पर्यटन बजारमा हस्ती थिए । 
अंग्रेजी, स्पेनिस, डच, फ्रेन्च बोल्न पोख्त ती तन्नेरी टुरिस्ट सिजन चलेका बेला ‘रेसम फिरिरी...’ गाउँदै गु्रप चलाउँथे । फर्किंदा उनीहरूले जनही १/१ लाख लगानी गरेको रोयल साइनोमा ल्याएर एथेन्टिक तिब्बतियन कुजिन ध्याकु खुवाउँथे । अफ सिजनमा फ्रयांकफर्ट घुम्न निस्किन्थे । ०४६ आसपासको पर्यटन यिनीहरूको ग्रिपमा थियो । यिनैले साथीभाइ जमघट गर्न आफ्नो खैरे ग्रुपलाई रिफ्रेसमेन्ट दिलाउन साइनो खोले । 
पछि यसमा रोयल थपियो । अनि भयो, रोयल साइनो । अहिले रोयल साइनो त्यतिबेलाका २० जनाको पार्टनरसिपबाट छुट्दै सोलो एक जनाको पोल्टोमा आइपुगेको छ । यसलाई सञ्चालन गरिरहेका छन्, सोलुखुम्बुमा जन्मे हुर्केका काजी लामाले । मासिक साढे २ लाख रुपैयाँ घर बहाल मात्रै तिर्ने रोयल साइनो अहिले पनि तिब्बतियन कुजिन घ्याकुका लागि प्रख्यात छ । 
यहाँका एक्जुकेटिभ सेभ माधव थापाका अनुसार, घ्याकु र म:म प्लाटर यहाँ सर्वाधिक अर्डरमा पर्ने रेसिपी हुन् । पछिल्लोपटक हाइजिनमा ध्यान दिन खोजिरहेको रोयलको घ्याकु सेट मेनु हो । 
सुइट कोर्नको सुपबाट सुरु हँुदै भेज म:म, तिब्बतियन ब्रेड, टी म:म पछि सेटमा प्रवेश गर्छ । यो सेटमा राइस र नुडल्स पनि समेटिएको छ । ‘यो प्राय: ट्राभल एजेन्सी, ट्ेरकिङबाट फर्केकाले खोज्छन्,’ सेभ थापाले भने । 

प्रकाशित : वैशाख १७, २०७३ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्

नो फुर्सद, नो टेन्सन

शिव मुखिया

काम नै त्यस्तो छ कि, जसले उनीहरूको दिनचर्या अनियमित बनाइदिन्छ ।

अर्थात् उठ्ने, सुत्ने, खाने, बस्नेको कुनै टुंगो हँुदैन । मल्टिप्लेक्समा सिनेमा हेरिरहेका बेला, रेस्टुरेन्टको मेनु पल्टाइरहेका बेला, ओछ्यानमा पल्टिएर फेसबुक चलाइरहेका बेला कुनै पनि समयमा कामबाट बोलावट आउन सक्छ । त्यस्तो अवस्थामा झटपट तयार भएर कार्यक्षेत्रमा दौडिहाल्नुपर्छ । न ‘भोको छु’ भन्न पाइयो, न अल्छी लागेको बहाना गर्न नै । 

उनीहरूको पेसाचाहिँ यस्तो छ कि, खानपान, ड्रेसअप, फिटनेस र सरसफाइमा सन्तुलन मिलाउनै पर्ने । झट्ट हेर्दा ‘फिट एन्ड फाइन’ देखिनुपर्ने । अरूको सामुन्ने विनम्र मुद्रामा प्रस्तुत हुनुपर्ने । के यो सम्भव छ ? भनिन्छ नि, ‘जहाँ इच्छा त्यहाँ उपाय ।’ निकै धपेडीबीच बित्ने दैनिकीमा पनि उनीहरूले आफ्नो स्वास्थ्य र सौन्दर्यलाई मेन्टेन गरेका छन् । किनभने यो उनीहरूको रुचिको क्षेत्र हो, जसमा अघात लगाव र स्नेह मिसिएको छ । 

जेनी शेर्पा, विमान परिचारिका
तारा एयरले उच्च हिमाली भेगमा उडान भरिरहेका बेला जेनी शेर्पा यात्रुहरूका सामुन्ने हार्दिकताका साथ सेवा पस्किरहेकी हुन्छिन् । कहिले जोमसोम त कहिले लुक्लाको उडानले उनलाई सातैभर व्यस्त बनाउँछ । हरेक सप्ताहन्त तय हुने सेड्युलअनुसार जेनीको दैनिकी चल्छ । कुन बेला उठ्ने, कुन बेला खाने ? उनी स्वयंलाई भेउ पाउन मुस्किल हुन्छ । 
‘कहिले बिहान साढे चारमै उठेर घर छाड्नुपर्छ,’ जेनी भन्छिन्, ‘राति फर्कने पनि टुंगो हँुदैन ।’ त्यसैले आफूलाई लिनका लागि घरमा भ्यान आइसक्दा राति लगाउने अतिरिक्त लुगा प्याक गरिसकेको हुनुपर्छ । त्यसो त उनको ब्यागमा लुगाबाहेक केही ड्राई फुड्स पनि हुन्छ । अक्सर घरको खानेकुरा खाने साइत जुर्दैन । जहाँ पुगिन्छ, त्यहींको खानाले पेट भर्नुपर्ने हुन्छ । 
न्यानो ओछ्यान वा तातो भात छाडे पनि यात्रुको अगाडि प्रसन्न मुद्रामा प्रस्तुत हुनुपर्छ । जति अस्तव्यस्त भए पनि आफूलाई स्मार्ट देखाउनैपर्छ । ‘हाम्रो पेसाको च्यालेन्ज भनेको यही हो,’ जेनी भन्छिन्, ‘यस्ता च्यालेन्जलाई स्वीकार गर्न सक्नुपर्छ ।’ 
कहिले विमान दुर्घटना हुन्छ । कहिले यात्रुहरू बेपत्तासँग डराएर चिच्याउँछन् । कति यात्रु त यस्ता पनि हुन्छन्, जो कहिल्यै जहाज नचढ्ने कसम खान्छन् । ‘त्यस बेलाचाहिँ मन अलि खिन्न हुन्छ,’ जेनी भन्छिन्, ‘अरू नै पेसा गरेको भए नि हुन्थ्यो भन्ने लाग्छ । तर, हामी यस्तै जोखिमपूर्ण काममा रमाउन अभ्यस्त भइसकेका छांै । अरू क्षेत्रमा इन्जोए गर्न सक्दैनौं ।’ 

श्रद्धा अर्याल, टेलिभिजनकर्मी
काठमाडौं सहरले रात्रिकालीन विश्राम लिने तरखर गरिरहेका बेला श्रद्धा अर्याल कान्तिपुर टेलिभिजनको स्टुडियोमा कुनै रिपोर्ट तयार गरिरहेकी हुन्छिन् । कहिले कहीं त यस्तो पनि हुन्छ, दिनभर रिपोर्टिङ गरेर स्टुडियोभित्र प्रवेश गरिनसक्दै क्यामेरा अगाडि उभिएर कार्यक्रम सञ्चालन गर्नुपर्छ ।
‘मेकअप गर्ने फुर्सद हुँदैन,’ श्रद्धा भन्छिन्, ‘जस्तो हालतमा छु, त्यस्तै स्टुडियोमा पस्छु ।’ यही कारण घरबाट बाहिर निस्कनुअघि उनी यस्तो पहिरन लगाउँछिन्, जो स्क्रिनमा समेत फिट देखियोस् । तर, समस्याचाहिँ के छ भने रिपोर्टिङका लागि फिल्डमा जाँदा क्याजुअल ड्रेसअप गर्नुपर्ने र स्टुडियोमा फर्मल वेयरमा प्रस्तुत हुनुपर्ने । ‘यसका लागि एक्स्ट्रा लुगा बोक्नुपर्ने हुन्छ,’ श्रद्धा भन्छिन् । दिनहुँ प्रसारण हुने ‘मार्केट वाच’ को प्रस्तोता हुन्, उनी । यसको रिपोर्टिङमा समेत आफैं कुद्नुपर्छ । कहिले स्थलगत रिपोर्टिङ त कहिले प्रत्यक्ष प्रसारणको कामले उनलाई बेफुर्सदिलो बनाउँछ । राति रेकर्ड गरिएको कार्यक्रम चित्त नबुझे दोहोर्‍याएर रेकर्ड गर्नुपर्छ । यस्तो बेला घर फर्कन अबेर हुन्छ ।
घरबाट निस्केपछि खानाको टुंगो हुँदैन । ‘धेरै समय भोको पेट बस्न नहुने भएकाले ड्राई फुड र चकलेट बोक्छु,’ श्रद्धा भन्छिन्, ‘नभए त ग्यास्ट्रिकले समाइहाल्छ ।’ रिपोर्टिङका लागि फिल्डमा पुग्नुपर्ने भएकाले आफ्नो स्वास्थ्यलाई मेन्टेन गर्नैपर्छ । टेलिभिजनमा अनुहार देखाइरहनुपर्ने भएकाले सौन्दर्यमा पनि ख्याल गर्नैपर्छ । स्वास्थ्य र सौन्दर्य कायम राख्न सकेसम्म प्रयास गर्छिन् । 

सुष्मा पौडेल, स्टाफ नर्स 
कहिले रातभर जागा बस्नुपर्ने, कहिले दिनभर बिरामीको कचकच सुन्नुपर्ने । न खानेको टुंगो, न सुत्नेको । यति हुँदाहुँदै पनि बिरामीको सामुन्ने विनम्रतासाथ प्रस्तुत हुनुपर्छ । जतिसुकै अनिदो भए पनि आफूलाई ‘फ्रेस र कुल’ देखाउनुपर्छ । यो सुष्मा पौडलको मात्र होइन, आम नर्सको साझा भोगाइ हो । सिनामंगलस्थित नोबेल हस्पिटलमा कार्यरत उनी सातामा दुई दिन रात्रिकालीन काममा खटिन्छिन् । 
बिहान घर फर्केर सुत्ने प्रयास गर्छिन् । तर, उस्तो निद्रा पर्दैन । अरू दिनचाहिँ मध्याह्न र बिहानीको सत्रमा काम गर्छिन् । यस किसिमको कार्यतालिकाले उनको दिनचर्या अनियमित बनाइदिन्छ । ‘आराम र फुर्सद भन्ने हुँदैन,’ सुष्मा भन्छिन्, ‘कुनै पनि समयमा ड्युटीमा हाजिर हुनुपर्छ ।’ आपतकालीन अवस्थाका बिरामीहरू भएको अवस्थामा निर्धारित समयभन्दा बढी खट्नुपर्छ । खाई–नखाई रोगीको सेवामा जुट्नुपर्छ । यसरी अर्काको स्वास्थ्यको ख्याल राख्दाराख्दै कहिलेकाहीं त आफ्नै स्वास्थ्य बिग्रिसकेको हुन्छ । 
सुष्मा भन्छिन्, ‘धेरैजसो नर्सलाई ग्यास्ट्रिकको समस्या हुने सम्भावना हुन्छ ।’ उनी स्वयं पनि यसबाट पीडित छिन् । किनभने आफ्नो भान्सामा पाकेको, आफ्नै हातले पकाएको खानका लागि उनीहरूलाई निकै हम्मे पर्छ । ‘ड्युटी आवर र खाने समयको तालमेल मिल्दैन,’ सुष्मा भन्छिन्, ‘त्यसैले बाहिरको खानेकुरामा चित्त बुझाउनुपर्छ ।’ यद्यपि यस्तो अनियन्त्रित खानपानबाट जोगिनका लागि उनले सकेसम्म घरमै पकाएर खानेकुरा ल्याउने गरेकी छन् । 

मुना चापागाईं, रेडियोकर्मी
रिसर्च, फिल्ड रिपोर्टिङ, अन्तर्वार्ता, स्क्रिप्ट राइटिङजस्ता कामले मुना चापागाईंको दैनिकी धपेडीमा बित्छ । इक्वेल एक्सेस नेपालअन्तर्गत कहिले रिपोर्टिङमा धाइरहेकी हुन्छिन् त कहिले तन्नेरी ब्लगरहरूसँग अनुभव साटिरहेकी हुन्छिन् । 
‘नयाँ नेपाल’, ‘निकास’ जस्ता रेडियो कार्यक्रम र ‘मेरो रिपोर्ट डटनेट’ को कार्यतालिकाले उनको दैनिकी चलायमान हुन्छ । डेटलाइनमा सिध्याउनुपर्ने कतिपय असाइनमेन्टहरूको छुट्टै दबाब हुन्छ । कहिलेकाहीं कार्यालयमै रिपोर्ट बनाउन बस्दा दिमागमा केही फुर्दैन । अनि त्यो काम घरमा बसेर पूरा गर्छिन् । यस्तो कामले कहिले रातको ११–१२ बजाइदिन्छ । 
‘घरमा पनि अबेरसम्म काम गर्नुपर्ने हुन सक्छ,’ मुना भन्छिन्, ‘त्यसले गर्दा बिहान चाँडै उठ्न सकिँदैन ।’ हत्तपत्त उठ्यो, फ्रेस भयो, खाना तयार गर्‍यो अनि अफिस दौडिहाल्यो । घर बाहिर निस्कनुअघि उनले मेकअपमा खासै समय दिन्नन् । आँखामा गाजलचाहिँ लगाउनैपर्छ । फिल्डमा जानुपर्ने भएकाले जिन्स र टिसर्ट सहज लाग्छ । 
उनलाई कार्यालय पुग्न वा अन्तर्वार्ताका लागि कतै जानुपर्‍यो भने सार्वजनिक यातायात समात्नुपर्ने हुन्छ । त्यसैले आफूले जतिसुकै हतार गरे पनि कहिलेकाहीं निर्धारित समयमा पुग्न सकिँदैन । त्यस्तो बेला गाली पनि सहनुपर्ने हुन्छ । ‘सकेसम्म त टाइम म्यानेज गर्न खोजिन्छ,’ मुना भन्छिन्, ‘तर, सधैं आफूले भनेजस्तो हुँदैन ।’ समयमात्र होइन, सौन्दर्य र स्वास्थ्यलाई पनि सन्तुलित राख्ने प्रयास गर्छिन् । यद्यपि कामको प्रकृति नै यस्तो छ कि, आफ्नो मर्जीअनुसार सबै कुरा गर्न सकिँदैन । 

प्रकाशित : वैशाख १७, २०७३ १०:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्