कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कथा : पानी उड्दो रहेछ

शनिबार थियो । सिर्जना निकै खुसी थिइन् । खुसी नहुन् पनि किन ? सातासम्म स्कुल गएर एक दिन घरमा बस्न पाउनु पनि कम मजाको कुरा होइन ।

कथा : पानी उड्दो रहेछ
बाख्रा र पाठालाई माया गर्ने, टोलका साथीसँग मिलेर खेल्ने, नुहाइधुवाइ गरेर सफा हुने अनि घरको काममा आमा र बाबालाई सहयोग गर्ने अवसर यस्तै बिदाको दिनले दिने गर्छ । स्कुल जानु नपर्ने भएकाले सिर्जना घरमै आमासँग यताउता गरिरहेकी थिइन् । आमा कपडा धुन थाल्नुभयो । आमाले कपडा धुनुहुँदा उहाँलाई सहयोग गरूँ अनि त्यसपछि साथीहरूसँग खेलूँला सिर्जनाले सोचिन् । उनी पनि आमालाई कपडा धुन सघाउन थालिन् । कपडा पखाल्ने बेलामा उनी पानी हालिदिन्थिन् र कपडा निचोरेपछि अर्को भाँडोमा राखेर आमालाई सघाउँथिन् । केहीबेरपछि सबै कपडा धोइसकियो । उनी आमासँग मिलेर कपडा सुकाउन थालिन् । डोरीभरि कपडा भए । सिर्जनालाई हेर्दै रमाइलो लाग्यो । यी कपडा कसरी सुक्छन् होला ? कपडा सुक्दा पानी कहाँ जान्छन् होला ? उनी सोच्न थालिन् ।
आमा ! यो कपडा कसरी सुक्छ हाे ? सिर्जनाले आमालाई कोट्याउँदै सोधिन् । घामले सुक्छ छोरी ! आमाले भन्नुभयो । घामले कसरी आमा ? सिर्जनाले फेरि सोधिन् ।
आमासँग सिर्जनाले कुरा गरिरहँदा बाबा आइपुग्नुभयो । सिर्जनाको प्रश्न उहाँले पनि सुन्नुभएको थियो । उहाँले छोरीलाई च्याप्प समात्नुभयो, माया गर्दै भन्नुभयो छोरी ! तिम्रो प्रश्न अत्यन्त महत्त्वपूर्ण र वैज्ञानिक पनि छ । यो प्रश्नको जवाफ आमाले वा बाबाले भन्दा पनि तिमी आफैले पाउने कोसिस गरे कस्तो हुन्छ ? सिर्जनालाई बाबाको कुरा राम्रो लाग्यो तर पत्ता लगाउने कसरी ? उनी सोच्न थालिन् ।
छोरी ! यो प्रश्नको जवाफ तिमी आफै पत्ता लगाउन सक्छ्यौ तर यसका लागि तिमीले एउटा प्रयोग गर्नुपर्छ, बाबाले भन्नुभयो ।
कस्तो प्रयोग बाबा ? म तिमील्ााई भन्छु , मैले भनेजस्तै गर र तिम्रो प्रश्नको जवाफ आफै पत्ता लगाऊ, हुन्न ? हुन्छ बाबा ! सिर्जनाले हाँस्दै भनिन् । सिर्जना बाबासँगै भान्साकोठामा गइन् । बाबाको सल्लाहअनुसार सिर्जनाले एक गिलास पानी भरिन् र ताप्केमा राखिन् । त्यसलाई चुलोमाथि राखेर तताउन थालिन् । पानी तात्दै गर्दा त्यसबाट बाफ आउन थाल्यो । छोरी ! यो के निस्केर उड्दै छ विचार गर है, बाबाले भन्नुभयो । यो त बाफ हो नि बाबा ! पानीबाट बाफ उड्दै छ । हो बाफ के हो भन्ने कुरा थाहा पाउन तिमीले एउटा ढकनीले यसलाई छोप त, बाबाले भन्नुभयो । केहीबेर ढकनीले छोपेर ढकनी उघारी हेर्दा ढकनीको भित्री भागमा पानीको थोपाथोपा देखियो ।
बाबा ! यो बाफ त पानी पो रहेछ । बाफ उड्यो भनेको त पानी उड्ने पो रहेछ, सिर्जनाले भनिन् । लौ अब आगो बन्द गर र तताएको पानी अघिको गिलासमा राख त, बाबाले भन्नुभयो । सिर्जनाले त्यसै गरिन् । अघि गिलासभरि भएको पानी अहिले त पिँधमा मात्र पो देखियो । छोरी ! हामीले तताउनका लागि भाँडोमा राखेको पानी यति नै हो त ? बाबाले मुसकुराउँदै सोध्नुभयो ।
कहाँ हुनु अघि त गिलासभरि थियो नि, अहिले त धेरै घटेछ, सिर्जनाले गिलास माथि उठाउँदै भनिन् ।
अहिले कहाँ गयो होला त छोरी ? बाबाले सोध्नुभयो । सिर्जना मुसुक्क हाँसिन् र केहीबेर बाबाको अनुहारमा हेरिरहिन् । उनले दायाँहातको औंला चिउँडोमा राखिन् ।
बाबा ! पानी त उडेर गएछ ।
कसरी उडेछ त छोरी ?
अघि तताएको बेलामा बाफ भएर उडेछ, सिर्जनाले जवाफ दिइन् ।
लौ त्यसो भए कपडा धोएर सुकाएपछि कसरी सुक्छ होला त यसबारे अनुमान गर्न सक्छ्यौ ? बाबाले सोध्नुभयो । यसको जवाफ पनि पाएँ बाबा !
के रहेछ त ? जब कपडा घाममा सुकाइन्छ तब घामको तातोले गर्दा कपडाभित्र भएको पानी तातेर बाफ बन्ने रहेछ जसरी अघि एक गिलास पानी तताएपछि बाफ भएर घट्यो । अनि कपडामा भएको पानी पनि त्यसैगरी उडेर सकिने रहेछ, सिर्जनाले जवाफ दिइन् ।
स्याबास छोरी ! राम्रोसँग उत्तर मिलायौ । अब तिमीले बिस्तारै बादल कसरी बन्छ ? पानी कसरी पर्छ भन्ने जवाफ पनि खोज्न सक्नेछ्यौ, बाबाले भन्नुभयो । सिर्जनाले कापी निकालिन् र केही लेखिन् । के लेखेकी छोरी ? आमाले सोध्नुभयो ।
आमा ! आज घरमा गरेको प्रयोग र आफूले पाएको उत्तर लेखेकी छु । भोलि स्कुलमा गएर गुरु र गुरुआमाहरूलाई यसका बारेमा सुनाउँछु, सिर्जनाले भनिन् । आमा ! हाम्रो बाबाले स्कुलमा पढाउनुभए कति मजा आउँथ्यो हकि ? सिर्जनाले आमाको हातमा समाउँदै भनिन् । किन र छोरी ? बाबालाई सिकाउन आउँछ । हेर्नुस् न कस्तो रमाइलो तरिकाले मलाई सिकाइदिनुभयो । म अरूहरूले पानी उड्छ भन्दा के भनेको होला भन्ने ठान्थें । आज आफैले पानी उडाइयो हा हा हा, सिर्जनाले हाँस्दै आमाको प्रश्नको जवाफ दिइन् । उनी एउटा नयाँ प्रयोग गरेर नयाँ कुरा सिक्न पाएकोमा निकै खुसी देखिन्थिन् ।

हरि खनाल

प्रकाशित : पुस २०, २०७१ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?