कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घुकुती खेल्दा भुंग्रोमा खसें

सानो छँदा भेडीखर्के साइला
दामोदर न्यौपाने

ठाडोभाका शिरोमणि भेडीखर्के साइला दुई महिनादेखि बिरामी परेका छन् । बिहीबार वीरअस्पताल पुग्दा ८२ वर्षीय भेडीखर्के यताउता हिँडिरहेका थिए ।

घुकुती खेल्दा भुंग्रोमा खसें

उनको स्याहारमा खटेका थिए उनकै गायनयात्राका सहयात्री ८२ वर्षीय देवी गुरुङ । अस्पताल ल्याउने व्यवस्था पनि देवीले नै गरे । अस्पतालमा दिनहुँ रेखदेख गर्ने पनि उनी नै छन् । ‘यी धरोहरलाई जसरी पनि जोगाउनुपर्छ,’ उनले सुनाए, ‘ठाडो भाकाका जिउँदा इतिहास हुन् भेडीखर्के । यिनलाई जोगाउन देशविदेशबाट सहयोग जुटिरहेको छ । तर सरकारले चाहिँ हेर्दै हेरेन ।’ उनी थलिएको समाचार सार्वजनिक भएपछि उनलाई सहयोग गर्ने बढेका छन् । बेलायतमा बस्ने देविबहादुरका भाइ धनबहादुर गुरुङले ६० हजार पढाइदिए । ‘फेरी १ लाख ३५ हजार मेरो खातामा पठाइसकेका छन्, उनले भने, ‘यहाँ बस्नेले सहयोग गरेका छन् । विदेशमा बस्नेले पनि सहयोग पठाइरहेका छन् । पश्चिमाञ्चल क्षेत्रमा लोकप्रिय ठाडोभाका व्यावसायिक रुपमा गाउन सक्ने एक्ला व्यक्ति हुन् भेडीखर्के । एकै खलोमा बसेर तीन दिन तीन रात गाएर चर्चित बनेका छन् उनी । निरन्तर गाइराखेकाले लोपोन्मुख ठाडोभाका संरक्षण गर्न योगदान पुर्‍याएकाले उनलाई नागरिक स्तरबाट ‘ठाडोभाका शिरोमणि’ सम्मान दिइएको हो ५ वर्षअघि । बिरामी पर्नुअघिसम्म उनी गाउन हिँड्दै थिए । अस्पतालमा धेरै कलाकार भेट्न आए । त्यहाँ पनि कोहीले गीत रेकर्डै गराए । कोही टेलिभिजनका लागि छायांकन गर्न आए । निको भएर घर फर्केपछि पनि गाउने योजना बनाएका छन् । ‘निको भएपछि एक ठाउँमा गाउने कार्यक्रम मिलाएका छौं,’ देवीले सुनाए । ९ वर्षको उमेरदेखि निरन्तर गाइरहेका भेडीखर्केको सेरोफेरो, ७१ वर्षे, भेडीखर्के साइलो र लमजुङे ठाडोभाका नामका एल्बम पनि निक्लेको छ । धेरै ठाउँमा सम्मान, पुरस्कार पाएका उनले अस्पतालको बेडमै बसेर आफ्नो बाल्यकाल यसरी सुनाए :


हाम्रो पुख्र्यौली थलो लमजुङ दुराडाँडाबाट छुटिएर बुबा बलभद्र तुरलुङकोटको सिन्दुरे जानुभएछ । तुरलुङकोटमा कालीको मन्दिर छ । यो ऐतिहासिक ठाउँ हो । शाहवंशका पहिलो राजा यशोब्रम्ह
शाहलाई ल्याउँदा यही ठाउँमा सिन्दुरजात्रा गरिएको हो । सिन्दुरजात्रा गरिएकोले यो ठाउँको नामै सिन्दुरे रहन गयो । त्यही सिन्दरेकै कालिका मन्दिरमा ठूलो मेला लाग्छ अझै । मन्दिरदेखि अलि तल छ ठूलो खर्क । वरिपरि जंगल छ । जंगलबीचको खर्कमा भेडीगोठ राख्थे गुरुङले । घले उत्तरकन्या, घनपोखरा, पुरानाकोट, नाल्मा लगायतका गाउँबाट भेडा चराउँदै चराउँदै यहाँ ल्याउँथे । ६ महिना लेक, ६ महिना बेसी गर्ने चलन थियो । जेठतिरबाट खर्क चराउँदै चराउँदै माथि लैजान्थे । मंसिरतिरबाट फेरि चराउँदै चराउँदै तलतिर झार्थे । म त्यहीं खर्कमा जन्मेको हुँ १९९० सालमा ।
भेडा बाँध्नु पर्दैनथ्यो । छाडै हुन्थे । कुकर ८/१० वटा हुन्थे गोठालाका । त्यही कुकुरले भेडा रेखदेख गर्थे । बाघ उल्कै लाग्थ्यो त्यहाँ । यता नेटा, उता तुरलुङ । हाम्रो मात्रै एक्लै थियो रे घर । यस्तो ठाउँमा बसेर गरीखान सकिंदैन भनेर बुबाआमा एक साल मात्रै बसेर फेरि तुरलुङकै मैदान भन्ने ठाउँमा सर्नुभएछ । यहाँ दुरा जातिको बाक्लो बसोबास छ । यता खजेगाउँमा नि दुरा, उता तुरलुङमा नि दुरा । दुईचार घर मात्रै क्षेत्री बाहुन । बुबालाई दुराले भेडीखर्कमा बस्ने बाहुन भन्न थालेछन् । भेडीखर्कमा बस्ने भन्दा भन्दै बालाई भेडीखर्के बाहुन भन्न थालेछन् । म दाजुभाइमा साहिलो भएकाले मलाई भेडीखर्के साइलो भन्न थालेछन् । पछि परेवाडाँडा सर्‍यौं । सिमाहार भन्थे त्यो ठाउँलाई । फेरि हामीलाई सिमहारे सिमहारे भन्न थाले । त्यतिबेला बेसीसहर जानै कामै पर्दैनथ्यो । सदरमुकाम कुन्छा थियो । बजार जान सुन्दरबजारतिर झर्थे । तुरलुङबाट दुरा झर्न थाले । हामीलाई भेट्न थाले । ‘ओहो, भेडीखर्के साइलो पो भेटियो गाँठे’ भन्न थाले । दुराहरूले त्यसो भन्न थालेछि अरूले पनि ‘ए यो त भेडीखर्के साइलो पो रहेछ’ भन्न थाले । म यही नामले प्रख्यात हुँदै गएँ । मेरो खास नाम दीर्घराज अधिकारी हो ।
सानैमा गाउन थालेको हुँ मैले । तुरलुङ बस्दा मेरा साथीसंगत सबै दुरा थिए । कोही गुरुङ पनि थिए । तल आएपछि मेरा संगत सबै नेवारसँग भयो । अहिलेको लोकदोहोरीलाई सबैले झ्याउरे भन्थे । ठाडोभाका व्यापक थियो । निकै लोकप्रिय थियो । मेलापात, गोठाला, खेताला जहाँ पनि ठाडोभाका थियो । ५/६ वर्षदेखि नै गोठालो जान्थ्यौं । कुवापानी भन्ने ठाउँमा ठूलो चउर थियो । यतापट्टि २२ से चौबिसे राजाको पालाको गढी थियो । त्यही गढीमा लगेर गाईवस्तु छाडिदिन्थ्यौं । त्यसपछि खेतमा रोपाइँ हेर्न जान्थ्यौं । भव्य रमाइलो हुन्थ्यो रोपाइँमा । पहिला लुडी मार्थे । हलका हल गोरु नार्थे । १५/२० जना जिल्लाउने हुन्थे । ३०/४० जना रोपाहार हुन्थे । रोप्नेले रोपेका छन् । जिल्लाउनेले जिल्लाका छन् । रननन गीत गाउँथे । गोठाला साथीलाई हामी नि गाउँ अब भनेर उचाल्थें म । यसरी गाउन सिकियो ।
परेवाडाँडामा ठूला गरा हुन्थे । सिंचाइ नभएकाले धान हुँदैनथ्यो । घैया हुन्थ्यो बारीभरि । घैया गोड्न गइन्थ्यो । पर्म लाइन्थ्यो । मेरो स्वर राम्रो । जहाँ पनि मलाई लान्थे । बुबासँग डर लाग्थ्यो । क्षेत्री बाहुनले गाउनु हुँदैन भन्थे । प्रतिबन्धै थियो हाम्रो समुदायलाई । बुबासँग लुकेर धेरै ठाउँमा गाएँ । भेडीखर्केले राम्रो गाउँछ भनेर धेरै परका गाउँसम्म चर्चा हुन थाल्यो । जनैपूर्णिमादेखि नेवारबस्तीमा लाखे नाच हुन्छ । लाखे हेर्न खजियाम्, तुरलुङ, बजारकोट, बयापानी, राइपाली, कुन्छासम्म गइन्थ्यो । बुबा सुतेपछि साथीहरू लिन आउँथे । राति सुटुक्क भागेर गइन्थ्यो । लाखे नाचेको एकै क्षण हेरिन्थ्यो । लाखे नाच्न छाड्थे । अनि रनवन घन्कने गरी गाइन्थ्यो ठाडोभाका । बा नउठ्दै घर आइन्थ्यो ।
सिन्दुरेमा बस्दा कोही बाहुन साथी थिए । कोही दुरा थिए । रोधीघरमा दुराहरू गाउँथे । मचाहिँ मेलापात, चाडपर्व, सत्यनारायणको पूजा जस्ता शुभकार्यमा गाउन थालें । मेरा दौतरी केटाले
गाएनन् । कोही कोही केटीचाहिँ गाउन खोज्थे ।
अहिले पनि छोरी मान्छे कतै कतै भेटिन्छन् । छोरा मान्छेचाहिंँ भेटिँदैनन् । एकदुई तुक्का गाए पनि धेरै बेरचाहिँ टिक्न सक्दैनन् ।
परेवाडाँडा झरेपछि गाउने साथी नै भएनन् । नेवारी साथी भए । तिनलाई गाउन बजाउन केही नआउने । न मादल बजाउँछन्, न त गीतै छोप्छन् । अघिपछि लाग्थे लाग्नचाहिँ । म जता गयो उतै जान्थे ।
मेरो स्वभाव सानैदेखि रंगरौस गर्नुपर्ने खालको थियो । खानपान सादा थियो । जाँडरक्सी खाँदैनथें । कुखुरा खान्नथें । कुखुराको फूल पनि खान्नथें । गुरुङ, दुरा साथी खान्थे । नेवार पनि खान्थे । मेरोचाहिं खाने लतै लागेन । बाहुनले बाहेक अरूले छोएको समेत खाइनँ । अझै खान्न । कतै जाँदा पनि बाहुनै भान्से चाहिन्छ । आफ्नो रीतिथिति छाडेको छैन मैले ।
अहिले जस्तो ३ वर्ष नपुग्दै स्कुल जाने चर्चा हुँदैनथ्यो त्यति बेला । स्कुल कतै थिएन । स्कुलै नभएपछि पढ्न जाने कुरै भएन । कोही जाँदैनथे । २००७ सालमा बल्ल दुराडाँडामा स्कुल आयो ।
मैले सावाँ अक्षर घाँस काट्न जाँदा सिकेको हो । हाम्रो घर छेउमै दुराडाँडा च्यानपाटाका एकजनाको गोठ थियो । उनी न्यौपाने हुन् । मेरो मावलीतिरका पर्थे । नामचाहिँ बिर्सिएँ । घाँस काट्न जाँदा पनि उनले अक्षर सिकाइदिन्थे । बेलुका खाना खाएर पनि उनको गोठमा जान्थें । त्यहाँ पनि सिकाइदिन्थे । राति थकाइ नलागुन्जेल तिनीसँग पढिन्थ्यो । कखरा उनैले पढाइदिए ।
गाईवस्तु टन्ने हुन्थे । ५/ वटा भैंसी हुन्थे । गाई हुन्थे । कम्तीमा दुई हल गोरु हुन्थ्यो । त्यसलाई घाँस काट्न सत्र सय, किरिन्चे लगायत ठाउँमा जानुपथ्र्याे । त्यहाँ जाँदा पनि गाइन्थ्यो । सानामा लोकदोहोरीमा कसैले मलाई सक्दैनथ्यो । जस्तै मै हुँ भन्नेलाई पनि म जितिदिन्थें । चुट्का गाउँथे । भजन गाउँथे । कुनै पनि भाका अड्कदैनथ्यो ।
साथीभाइसँग खुबै खेलिन्थ्यो । डन्डीबियो खेलिन्थ्यो । खेल्दा घाउचोट त कति लाग्यो कति । त्यतिबेला ८ वर्षको थिएँ । घरभित्र चुल्हो अलि माथि हुन्थ्यो । चुल्होको यता छेउमा बस्ने मूल ओछ्यान हुन्थ्यो । माटोले डिल बनाएर चुल्हो र ओछ्यानलाई छुट्याएको हुन्थ्यो । त्यसको बीचतिर आगो फुक्ने अँगेनो हुन्थ्यो । अँगेनामा भात पकाउँदैनथे । गाईवस्तुलाई खोले मात्रै पकाउँथे । चुल्होमा चाहिँ खाना पकाउँथे । व्रतबन्ध नगरेकालाई कर्म नचलेको भन्थे । कर्म नचलेकाले चुल्होमा जान पाइँदैनथ्यो । अँगेनोमा चाहिँ ताप्नलाई आगो बालिन्थ्यो । त्यतिबेला अहिले जस्तो जतिबेला पायो त्यतिबेला आगो सल्काउन पाइँदैनथ्यो । सलाई हुँदैनथ्यो । अँगेनामा ठूला मुढा जोतिएको हुन्थ्यो । त्यो मुढा सल्किराख्थ्यो । त्यसलाई माउ राख्ने भन्थे । माउ निभ्यो भने अर्काको घरमा आगो लिन जानुपथ्र्यो ।
साउनको कुरो हो । एउटा गजबको मुढो राखिएको थियो हाम्रो अँगेनामा । आगो भुंग्रो भएको थियो । दाइ र म घुकुती, बासुती खेल्न थाल्यौं । दाइ मूल ओछ्यानमा बस्नुभयो । म दाइको खुट्टामा बसें । खुट्टा तलमाथि गर्न थाल्नुभयो दाइ । खेल्दाखेल्दै दाइको गोडाबाट पुल्टुक्क पल्टिएँ म । त्यहीं भुङ्ग्रोमा खसें । हात पूरै भुङ्ग्रोमा गाडियो । गोडा पनि पोल्यो । अब के गर्ने ? औषधिमुलोको व्यवस्था थिएन । बर्खायाममा आँगनमा, पिंढीमा चिप्लेकीरा हिँडिराख्थे । बुबाले त्यही चिप्लेकीरा टिपेर ल्याउनुभयो । पिँध्नुभयो । लेदो बनाउनुभयो । पोलेको ठाउँमा दल्नुभयो । त्यसले चट्टै भयो पोलेको । खत भने गएन । अझै छ । दु:खको कुरा गरिसाध्य छैन । भीरमा कति लडियो कति । जेठ महिना थियो । किरेन्चेको सिरानमा घाँस काट्न गएका थियौं । साथी कता कता गए । म एक्लै परेछु । पानी नभएको खोल्सो थियो त्यहाँ । टापन टिपन घाँस टिप्दै आएको थिएँ । एउटा काफलको रूख देखें । रूख बुढो थियो । धोद्रो परेको थियो । जीर्ण देखिन्थ्यो । धरापै भए पनि अलि माथि झुप्पै काफल पाकेको रहेछ । कालै भएको पाकेर । मुखै रसायो काफल देख्दा । रूख चढें । काफल टिप्न थालें । धोद्रो रूख भाँचियो । त्यो खोल्सोमा ढुंगैढुंगा थियो । त्यही ढुंगामा बजारिएँ । कोही छैन उठाउने । एकै छिन अररिएँ । होसै गुमेको चाहिँ थिएन । उठें । रित्तै घर जानुभएन । अलि अलि घाँस जम्मा भएको थियो । त्यही लिएर बेलुका घर गएँ ।
हात चलाउन भएन । तलमाथि गर्नै भएन । घरमा लडें त भनें, तर के गर्नु ? उपचार केही थिएन । दुई तीन दिन बा आमालाई तन्काइदिन लगाएँ ।
तन्काइदिनुभयो । यति हो उपचार भने पनि जे भने पनि । दुख्नचाहिँ कहिल्यैं हराएन । अझै पातो दुख्छ ।
अर्काे दिन पनि घाँस काट्दा त्यस्तै घटना भयो । साथी फेरि कता गए कता । पहरोमाथि घाँस रहेछ । त्यो काट्न गएँ । माटो त भ्यास्सभ्यास्स गर्ने रहेछ । त्यो फुको माटो टेकेको ठाउँ भासियो । त्यहाँबाट गुल्टिएँ । पारिपट्टि दाउरा काट्ने मान्छे थिए । म गुल्टेको देखेछन् । एकजनाले कम्मरमा बाँधेको पोटुका फुकालेछन् । त्यसलाई पानीमा चोपेछन् । म पल्टेको ठाउँमा आएछन् । म बेहोसै भएछु । त्यही पोटुका निचोरेर पानी झारेछन् । मलाई खुवाएछन् । मेरो होस खुल्यो । तिनले उठाए । एकैछिन आराम गरें । ‘जान सक्छौ कि सक्दैनौ बाबु’ भनेर सोधे । सक्छु भनें । बिस्तार घर गएँ । जीउभरि घाउ थियो । जताततै दुखेको थियो । फेरि औषधि लगाउने कुरा भएन । सहियो । अर्काे दिन पनि त्यस्तै घटना भयो । चिलाउनेको खिरिलो परेको अग्लो रूख थियो । दाइभाइ साथमै थिए । रूखको टुप्पैमा पुगें ।
दाइभाइलाई ‘लु हेर भन्दै’ दुई खुट्टाले समातेर झुन्डिएँ । खुट्टा फुत्कियो । डङरङ्गै लडें ।
दाइभाइले उठाएर ल्याए ।
धेरै दु:ख थियो त्यतिबेलाको बाल्यकाल । घरायसी काम गर्नुपथ्यो । दु:खै हुँदा पनि मैले रामरौस गर्न छाडिनँ । आफूलाई मात्रै मनोरञ्जन भएन । दुनियाँलाई मनोरञ्जन गराएँ । ठाडोभाका देउबहादुर दुरा र पञ्चैसुब्बा गुरुङले सुरु गरेका हुन् । सानैमा उनीहरूबाट प्रभावित भएँ । अभ्यास गरें । सिकें । बुबाले गाउन दिनुहुन्नथ्यो । लुकीछिपी गाएँ । २०२४ सालमा बुबाको मृत्यु भएपछि मैदानमा उत्रेर गाएँ । त्यतिबेला अहिलको जस्तो टेलिभिजन थिएन । रेडियो थिएन । मनोरञ्जनका साधन थिएनन् । त्यस्तो बेलामा मैले ठाउँठाउँ घुमेर मनोरञ्जन दिलाएँ । मान्छेको मनमा बस्न पाएँ । चर्चा पाएँ । मान पाएँ । सम्मान पाएँ । अप्ठेरो पर्दा सहयोग गर्ने मनकारी पनि कमाएछु । अहिले अस्पतालमा छु । धेरै भेट्न आउँछन् । सकेको सहयोग गर्छन् । बाँच्ने हौसला बढाइदिन्छन् । लत भनेको लतै हुँदो रहेछ । मलाई गाउने लत लाग्यो । अझै गाउने इच्छा मरेको छैन । निको भयो भने फेरि गाउँदै हिँड्ने धोको छ ।

प्रकाशित : भाद्र १३, २०७२ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?