कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बोर्डिङ छाडेर गुरुकुल

सुदीप कैनी

गोरखा — बोर्डिङमा अध्ययनरत गोरखा नगरपालिकाको दसकिलोका १३ वर्षीय अमृत अर्याल गुरुकुलमा भर्ना भएका छन् ।

बोर्डिङ छाडेर गुरुकुल

बिहान संस्कृत सिक्छन् । दिउँसो सामुदायिक विद्यालय महेन्द्रज्योतिमा कक्षा ६ मा पढ्छन् । जिल्लामा पहिलोपटक सदरमुकाममा संस्कृत पढाइ हुने गुरुकुल खुलेपछि विद्यार्थीको आकर्षण बढ्न थालेको छ । उनीमात्रै होइन अन्य चार जना बालक पनि उसैगरी बोर्डिङ छाडेर संस्कृत सिक्न गोरक्षनाथ वैदिक विद्यालयमा भर्ना भएका छन् । गुरुकुलको पढाइले पनि अन्य विद्यालयको जस्तै मान्यता प्राप्त गरिसकेको छ । 

‘बोर्डिङ, सरकारी स्कुलमा भन्दा पनि गुरुकुलमा कडा अनुशासनमा बसेर पढ्नुपर्ने रहेछ,’ उनले भने, ‘पढाइका लागि हाम्रोभन्दा पनि आमाबुवाको इच्छा मान्नुपर्छ ।’ नयाँ नियमको घेराभित्र बिस्तारै दैनिकी सामान्य बन्न थालेको उनले बताए । बिहान ४ बजे उठने, नुहाइधुवाइ गर्नु र संस्कृत पढ्न थाल्नुको दैनिकी अंग्रेजीका कक्षामा अभ्यस्त बालकहरूका लागि नौलो नै छ । प्राथमिक तहसम्म गुरुकुलमै पढाइ हुन्छ । ६ कक्षा पुगेपछि उनीहरू सामुदायिक विद्यालयमा पढ्न जान्छन् । 

गुरुकुलमा १७ जना बालक रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम अर्यालले बताए । गुरुकुलमा आवासीय सुविधा पनि छ । खानाका लागि घरघर डुलेर मुठ्ठीदान संकलन गर्छन् । गुरुकुल आसपासका सात वटा महिला समूहले मासिक मुठ्ठीदान गरेका छन् । ‘अहिलेसम्म मुठ्ठीदानबाट उठेको चामलले खाना खुवाउन पुगेको छ,’ उनले भने ।

गुरुकुल सञ्चालनका ३९ जना अगुवाले मासिक रकम संकलन गरेर खर्च जुटाउने गरेका छन् । ‘बुटुकहरूलाई पढाउन तीन जना शिक्षकलाई तलब दिनुपर्छ,’ उनले भने, ‘शिक्षक राख्नलाई शिक्षा कार्यालयबाट दरबन्दी पाएको छैन ।’ धार्मिक विद्यालय सञ्चालन गर्न कार्यालयले वार्षिक १ लाख ६८ हजार अनुदान दिने गरेको अध्यक्ष मोहनलाल श्रेष्ठले बताए । सरकारी तवरबाटै शिक्षक दरबन्दीसहित सेवासुविधा पाउनुपर्ने उनले माग गरे ।

गुरुकुल सञ्चालन गर्न ४ रोपनी जग्गासँगै गोरखा सेवा आश्रमले भवन उपलब्ध गराएको छ । वृद्धाश्रम सञ्चालन गर्न प्रेमनारायण देवकुमारी सांस्कृतिक प्रतिष्ठानले भवन निर्माण गरेको थियो । आश्रममा बस्ने वृद्धवृद्धा नभेटेपछि गुरुकुल खोलिएको हो । ‘रीति, संस्कार जोगाउन गुरुकुल खोलिएको हो,’ उपाध्यक्ष अर्यालले भने । गाउँघरमा सामान्य पूजापाठ गर्ने पण्डितको पनि अभाव हुन थालेको छ । विद्यालयमा पढेका विद्यार्थीले सामान्य पूजापाठ गर्न सक्ने उनले बताए । जिल्लामा मुस्लिमका मदरसा र बौद्ध धर्मावलम्बीका गुम्बामा पनि धार्मिक शिक्षा पठनपाठन हुने गरेको छ ।

प्रकाशित : पुस १६, २०७३ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?