कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माछा बोक्दाबोक्दै कराँचीको जेलमा

देवेन्द्र भट्टराई

कराँची (पाकिस्तान) — भारत-पाकिस्तान समुद्री कुनोमा भारतीय मछुवाले अह्राएअनुसार माछाका भारी जहाजमा लोड-अनलोड गर्दै आएका एक नेपाली युवक २९ महिनादेखि कराँचीस्थित जेलमा थुनामा छन् ।

माछा बोक्दाबोक्दै कराँचीको जेलमा

पाकिस्तानको सिन्ध र भारतको गुजरातका बीचको सामुद्रिक कुनोमा १३ मछुवाका माझ समुद्री सुरक्षा मामला हेर्ने पाकिस्तानी प्रहरीले भेटेपछि सन् २०१२ को सेप्टेम्बर १९ का दिन गुल्मी बडागाउँ-३ का मीनबहादुर सर्तुङ्गे मगर पक्राउ परेका हुन् । अहिले उनी कराँचीको मलिर जेलमा छन् ।
अघिल्ला दुई वर्षदेखि गुजरातस्थित एक होटलमा काम गर्दै आएका मीनबहादुर बढी पैसा कमाउने लोभमा मछुवाका साथ लागेर जहाज (सी-मरिन) मा सामुदि्रक क्षेत्रमा काम गर्न आएका थिए । होटलमा काम गर्दा ५ हजार भारु मासिक तलब रहेका उनलाई माछाका भारी बोक्ने काममा मासिक १२ हजार भारु दिइने भनिएको थियो ।
माछा मार्दै जाँदा सामुद्रिक सिमाना थाहा नपाई अर्को देशको सामुदि्रक क्षेत्रमा प्रवेश गर्ने एकअर्को देशका नागरिकलाई कहिले भारतीय र कहिले पाकिस्तानी सुरक्षा प्रहरीले पक्राउ गरेर थुनामा राख्ने गर्छ । भारत-पाक सम्बन्ध सहजीकरण गर्ने क्रममा दुवैतर्फका मछुवालाई उत्तिकै संख्यामा जेलमुक्त गराउँदै दुई देशबीचमा संवाद अघि बढ्ने गरेको छ । अहिले पनि भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकासहित मुलुकका जेलहरूमा एकअर्काको सामुद्रिक सीमा उल्लंघन गरेको अभियोगमा हजारौं नागरिक थुनामा छन् ।
यसै क्रममा ६ महिनाअघि पाकिस्तानी जेलबाट मुक्त गरिएका केही मछुवाले 'एक नेपाली केटा पाकिस्तानी जेलमा रहेको र उसलाई उद्धार गर्ने कोही पनि नभएको' भन्दै भारतीय टेलिभिजनमा बोलेको खबरका आधारमा थुनामा रहेको नेपाली पहिचान गर्न इस्लामावादस्थित नेपाली दूतावास लागिपर्दै आएको थियो ।
'नेपाली युवक जेलमा रहेकोबारे जानकारी खोज्न हामीले यहाँको विदेश/गृह मन्त्रालयमा तीन पटक पत्राचार गर्‍यौं । तर हरेक पटकको जवाफमा कोही पनि नेपाली मरिन क्षेत्रबाट समातिएर थुनामा नरहेको लिखित जवाफ आयो,' इस्लामावादस्थित राजदूत भरतराज पौड्यालले भने, 'तर यो विषय नसेलाएपछि जेल निरीक्षणमा गइरहने केही गैरसरकारी संस्थाको सूत्र पहिल्याउँदै डेढ महिनाअघि मात्रै मीनबहादुर कराँची आसपासका जेलमा छन् भन्ने पत्तो लागेको हो ।' कराँची आसपासमा केन्द्रीय र मलिर जेल मात्रै छन् ।
थुनामा रहेका नेपालीको प्रारम्भिक सूचना पाएपछि गत जनवरी २१ मा मलिर जेल पुगेका दूतावासका काउन्सेलर तीर्थराज अर्यालले मीनबहादुरलाई भेटेका थिए । 'थुनामा परेका नेपालीको बोलाउने नाम पम्फा रहेछ, पक्राउ परेका कागजात र सबै रेकर्डमा पम्फा नाम राखिएको छ,' अर्यालले भने, 'उनलाई भेट्नुअघि नामको सही प्रमाणीकरण गर्नमै केही समय लागेको थियो ।' कराँची एयरपोर्टबाट १० किलोमिटर टाढाको मलिर जेलमा राखिएका मीनबहादुरले आफू थुनामा परेको २९ महिनामा पहिलो पटक कोही नेपाली भेट्न पाएको बयान सुनाएका थिए ।
'गुजरातको होटलमा काम गरिरहेका बेला त्यहाँ आइरहने ग्राहकमध्येबाट कसैले समुद्रमा माछा मार्न जाने कुरा सुनाएका थिए । पानी जहाजमा चढेपछि कहाँ, कुन ठाउँमा आइयो भन्ने मलाई थाहा हुँदैनथ्यो । अरू सरहरू भने कम्प्युटरमा केही हेर्दै कुरा गरिरहेका हुन्थे । म भने माछा मारेपछि त्यसको भारी पानी जहाजमा लोड-अनलोड गर्ने गर्थें,' काउन्सेलर अर्याललाई मीनबहादुरले सुनाएका थिए, 'हामी दिनरात समुद्रमै हुन्थ्यौं । बाहिर कता, के भइरहेको छ थाहा हुन्नथ्यो । महिनाको १२ हजार भारुका दरमा २ महिनाको तलब गाउँमा पठाउने काम गरिसकेको थिएँ । एक रात जहाजमै सुतिरहेका बेला हामी सबैलाई प्रहरीले उठाएर यता ल्याएको हो । कहाँ ल्याएको हो, किन ल्याएको हो भन्ने पनि मैले धेरैपछि मात्रै थाहा पाएँ ।'
उता गुल्मी वडागाउँमा दुई नाबालक छोराको पनि बिजोग छ । दुईमध्ये ३ वर्षको कान्छा छोरालाई लिएर मीनबहादुरकी श्रीमती अन्तै कतै गइसकेकी छन् । अर्को ५ वर्षे जेठो छोरालाई भने मीनबहादुरका बाबु मने सर्तुङ्गे मगरले रेखदेख गर्दै आएका छन् ।
आमाले सानैमा संसार छाडेर गएपछि टुहुरो बनेका मीनबहादुरले स्कुले पढाइ पूरा गर्न पाएका थिएनन् । एक नेपालीले अन्जानमा बेहोर्नुपरेको थुनाबारे पाकिस्तान सरकारलाई जानकारी गराइसकिएको र नियतवश नभएको यो गल्तीमा सरकारले छिट्टै 'पुनर्विचार' गर्ने भएको राजदूत पौड्यालले बताए ।
अन्तर्राष्ट्रिय कानुनमा सीमा उल्लंघन गर्नेलाई गम्भीर अपराध मानिने र यस्तो अभियोगमा आजीवन कारावास हुने भए पनि 'नियतवश नभएको गल्ती' बारे खुलाएर दूतावासले पाकिस्तान सरकारसँग उनको रिहाइको आग्रह गरेको हो ।
मीनबहादुरको घरफिर्ती टिकटको प्रबन्ध मिलाउन दूतावास लागिपरेको अर्यालले बताए । कानुनीलगायत प्रक्रिया पूरा गरी उनलाई एक महिनाभित्र घर पठाउन सकिने उनले जनाए । छोरो भारत-पाकिस्तानमध्ये कतैको जेलमा परेको खबर पाए पनि के-कस्तो हाल छ भन्ने पत्तो नभएको बाबु मनेले बताए । 'मेरो छोरो फर्केर आउला त नानी ?' नाति साथैमा लिएर बडागाउँ नजिकै बाख्रा चराउन निस्किएका मनेले अघिल्लो बिहीबार कान्तिपुरसँग फोनमा सोधेका थिए ।
 

प्रकाशित : फाल्गुन ३, २०७१ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?