१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

भत्केको घरमा छिर्दा क्षति

काठमाडौ — उनी भत्केको घरभित्र रहेका सामान लिन चोटामा उक्लेकी थिइन्। सदरमुकामबाट नजिकै रहेको पाखलती टोलमा गत १२ गतेको भूकम्पबाट जीर्ण घर भत्काउन उनीसँगै नेपाली सेनाको १२ सदस्यीय उद्धार टोली पनि थियो।

भत्केको घरमा छिर्दा क्षति
सामान झिक्न छिरेकी शकुन्तला श्रेष्ठको घर गल्र्याम्मै ढल्यो। घरले पुरिदा गम्भीर घाइते भएकी शकुन्तलाको चेत काठमाडौं ल्याएपछिमात्रै खुल्यो। हेलिकोप्टरबाट उद्धार गरेर ल्याइएकी शकुन्तलाको उपचार सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भइरहेको छ।
‘घर भत्काउनका लागि टोली नै पुगेको रहेछ। केही सुरक्षाकर्मीसमेत घाइते भएछन्। मेरी बहिनी गम्भीर घाइते बनिन्’, गम्भीर घाइते शकुन्तलाकी दिली योगमाया श्रेष्ठले कान्तिपुरलाई सुनाइन। शकुन्तलासहित दोलखाका विभिन्न भेगमा घर भत्किँदा गम्भीर घाइते बिरामीलाई हेलिकप्टरबाट राजधानीका अस्पतालमा ल्याइएको छ। ती मध्ये शकुन्तलासहित ११ जनालाई सिनामङ्गलस्थित केएमसी अस्पतालमा राखिएको छ। अस्पतालमा काठमाडौं र नजिकका जिल्लाका घाइते ल्याइएका छन्। साँझ छ बजे अस्पताल पुग्दा ३२ जना गम्भीर घाइते आकस्मिक कक्षमा उपचाररत थिए। अधिकांश जीर्ण घरमा सामान झिक्न गएका छन्। धेरैको टाउको, हात र खुट्टामा बढी चोट लागेको अस्पतालले जनाएको छ।
दोलखाकै अर्की बिरामी ८० वर्षे रामकुमारी थापा पनि भत्केकै घरमा चढेको बेला मंगलबारको भूकम्पमा परिन्। भीमेश्वर–९की थापाको टाउको र हातमा गम्भीर चोट लागेको छ। ‘विहानको चर्को घाममा बाहिर बारीमा बसिरहँदा गर्मी भयो। छोरा बुहारी, नाति बाहिरै थिए। म एकैछिन शीतलका लागि भित्र छिरेको थिए। त्यही बेला गएको भूकम्पले यो गति बनायो,’ छाउनीस्थित सैनिक अस्पतालमा उपचाररत थापाले भनिन्।
शकुन्तला र रामकुमारी दुवैका घर गत १२ र १३ गते गएका भूकम्पले चारैतिर चर्किएका थिए। त्यसयता घर छेउ बारी कटेरो बनाइ बसेपनि मंगलबार भने उनीहरू घर भित्र छिरेकै बेला भूकम्पमा परेका थिए।
अघिल्लोपटक समेत गम्भीर क्षति पुगेको दोलको उत्तरी क्षेत्र सिंगटीमा केही पसल खुल्न थालेका थिए। छिमेकी लादुकबाट सामान किनमेल गर्न आएको बेला खाजा खाना स्थानीय होटलमा पस्दा झण्डै ज्यान गुमाइन उमा तामाङ्गले। खाजा खाइनसक्दै घर हल्लिन थाल्यो। २ वर्षे बच्चा काखैमा थियो। ‘घर ढल्यो। त्यसपछि बेहोस् थिए। चरिकोटमा आएपछि थाहा पाए,’ हेलिकप्टरबाटै केएमसी अस्पताल ल्याइएकी उमाले भनिन्। उनको टाउको र बच्चाको हातमा चोट लागेको छ।

प्रकाशित : वैशाख ३०, २०७२ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?