नौ गाउँले जुटे विद्यालय बनाउन

हरिहरसिंह राठौर

गुम्दी (धादिङ) — विकट बस्ती री गाउँका बासिन्दा आफ्ना बालबालिकाहरूको शैक्षिक भविष्यका लागि जुटेका छन् ।

सडक सञ्जालले नछोएको री गाउँ गाविसका सबै वडाका अभिभावक यतिखेर पिठो बोकेर डेढ दिनको पैदल हिँडेर छिमेकी गाविस गुम्दीको सातदोबाटोस्थित उच्च माध्यमिक विद्यालयको चौरमा भेला भएका छन् । गुम्दीसँग सिमाना जोडिएका वडाका अभिभावकलाई गुम्दी पुग्न सहजै छ । वडा ९ किचेतका बासिन्दालाई आउन जान ४ दिन लाग्छ । उनीहरू खानपिनका सामान बोकेर री गाउँको उच्च माध्यमिक विद्यालयसहित विभिन्न तहका ८ वटा विद्यालय निर्माण गर्ने जस्तापाता र फलामे ट्रस्ट ढुवानी गर्न गुम्दीसम्म उर्लिएका हुन् ।

भूकम्पका कारण उपयुक्त रूपले पठनपाठन गर्ने थलो नभएकै कारण री गाउँका सबै तहमा अध्ययन गर्ने विद्यार्थी अलपत्र परेका थिए । गत वैशाखदेखि बन्द भएका विद्यालयहरू ज्ोठ महिना अस्थायी टहरा निर्माणमै समय बित्यो । कतिपय विद्यालयमा शिक्षक नगएरै विद्यार्थी चौरमा खेल्दै फर्कंदै गरे ।
 ‘बवालबालिकाहरू अभिभावकसँगै विस्थापित शिविरमा बस्न थालेपछि पठनपाठन अवरुद्ध भएको री गाउँ ३ कुव्बलका अभिभावक गोरेबहादुर तामाङले बताए ।

‘विद्यालयहरू तत्काल सुचारु गर्न री गाउँ उच्च माध्यमिक विद्यालय, पासाङचोक निम्न माध्यमिक विद्यालय, लालीगुराँस प्राथमिक विद्यालय, बुद्ध प्राथमिक विद्यालय, हिमालय प्राथमिक विद्यालय, बुद्धज्योति प्राथमिक विद्यालय, सितलादेवी प्राथमिक विद्यालय र देउराली प्राथमिक विद्यालयका ३८ वटा कक्षा कोठा तत्काल निर्माण गर्नुपर्ने अवस्था छ,’ जिल्लाको उत्तरी भेकमा अनुगमनपछि फर्केका जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद ढकालले भने । उत्तरी भेकका ८ वटा विद्यालयमा १५ सय घरधुरीका १ हजार ९ सय विद्यार्थीहरू अध्ययन गर्छन् ।

Yamaha

जिल्ला शिक्षा कार्यालयसँग अनुमति लिएर जिल्लाका विभिन्न भेकका ३ सय वटा विद्यालयका अस्थायी सिकाइ केन्द्रको निर्माण गरी सकेको ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) ले री गाउँका ८ वटै विद्यालयमा फलामे ट्र्रस निर्माण गर्ने जिम्मा लिएको छ । टानले गुम्दी गाविससम्म सडकबाट ढुवानी गरेर पुर्‍याएको सामान लिन री गाउँका सम्पूर्ण अभिभावकलाई परिचालन गरेको छ ।

टानलाई ताइवानको आइक्वान ताओ नामक संस्थाले निर्माण सामग्री, ढुवानी र जडान खर्च उपलब्ध गराएको टानका अध्यक्ष रमेश धमलाले बताए ।

गाउँमा विद्यालय निर्माणसंगै ढुवानी गरेवापत अविभावकहरूले नगद रकमसमेत हात पार्ने छन् । गुम्दीवाट आआफना वस्तीमा जस्तापाता र पाइप ढुवानी गरे वापत प्रति केजी ८० रुपैयाका दरले ज्याला पाउने छन् । आकर्षक ज्याला भए पछि युवकहरू ६० देखि ६६ केजीसम्मका भारी वोकेर आफनामे वस्तीतिर लागेकाछन् ।

 

प्रकाशित : भाद्र २९, २०७२ १०:५२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

एक महिनादेखि औषधि अभाव

ठाकुरसिंह थारू

बाँके — भेरी अञ्चल अस्पतालमा सिकलसेल एनिमियाका बिरामीले प्रयोग गर्ने औषधि एक महिनादेखि अभाव छ । लामो समयको बन्दका कारण हाइड्रोक्स युरिया नामक औषधि सकिएको छ । उक्त औषधि निश्चित औषधि कम्पनीले मात्रै ढुवानी गर्ने भएकाले अन्यबाट किन्न नसकिने अस्पतालले जनाएको छ ।

सिकलसेलको औषधि बन्दका कारण वीरगन्ज भन्सारमा थन्किएको खबर आएको अस्पतालका प्रमुख डा. श्यामसुन्दर यादवले बताए । उनले औषधि सकिएको बारे साझा स्वास्थ्यसँग ताकेता गरेको बताए । ‘त्यो औषधि नखानेको हो भने जिउ निकै दुख्छ । अहिले नयाँ दिएको औषधि खाएको केहीबेर आराम मिल्छ । तर, केहीबेरमा फेरि त्यस्तै हुन्छ,’ नियमित स्वास्थ्य जाँचका लागि अस्पताल आएका बर्दिया मगरागाडीका धनिराम चौधरीलते भने, ‘पहिले दिएको औषधि खाँदा राहत मिल्थ्यो । त्यो सकिएपछि हैरान भएको छु ।’

उक्त रोगबाट पीडित बिरामी उपचारका लागि दैनिक नेपालगन्जस्थित भेरी अञ्चल अस्पताल आउने गरेका छन् । अस्पतालका फिजिसियन डा. राजन पाण्डेले औषधि अभावका कारण बिरामीहरू समस्यामा परेको बताए । उक्त रोगबाट पीडित बिरामीमा सहनै नसक्ने गरी शरीर दुख्ने समस्या हुन्छ । त्यसका लागि हाइड्रोक्स युरिया नामक औषधि सेवन गर्नुपर्ने डा. पाण्डेले बताए । ‘पेन किलरबाट काम चलाएका छौँँ,’ उनले भने, ‘पटकपटक दुखाइ कम गर्नका लागि पेन किलरले काम गर्दैन । त्यही औषधि चाहिन्छ ।’ तर, साझाका इन्चार्ज सुनितकुमार यादवले औषधि आयातकर्तालाई ताकेता गर्दा बन्दका कारण आयात गर्न सक्ने अवस्था नरहेको जवाफ आएको बताए । ‘एक करोडको औषधि भएकाले यस्तो बन्दका बेला ल्याउने रिक्स ढुवानीकर्ताले उठाउन मानेका छैनन् । यहाँ भने औषधि नभएर निकै समस्या भइसक्यो,’ उनले भने, ‘सरकारले त्यहाँबाट औषधि ढुवानी गर्न सहयोग गर्ने हो भने निकै ठूलो राहत मिल्थ्यो ।’

उक्त रोगका बिरामीहरू उपचारका लागि दैनिक भेरी अञ्चल अस्पतालमा आउने गरेका छन् । कुनै दिन आठ/दस बिरामी सम्पर्कमा आउने गरेको चिकित्सकले बताए ।

‘औषधि नपाएर बिरामी समस्यामा परेका छन् । जसरी भए पनि त्यो औषधि चाहिन्छ,’ डा. पाण्डेले भने, ‘बिरामीलाई मारमा पार्ने काम हुनु भएन ।’ सरकारले दुई वर्षअघि सिकलसेल एनिमियाको नि:शुल्क उपचारको व्यवस्था मिलाएको छ । रुपन्देही पश्चिमका दाङ, बर्दिया, कञ्चनपुर र कैलालीमा पुस्तौदेखि एकै स्थानमा बस्दै आएका आदिवासी थारू समुदायमा उक्त रोगको संक्रमण बढी देखिएको छ । ती जिल्लाका ३ सय व्यक्ति सिकलसेलबाट पीडित भएको चिकित्सकले बताएका छन् । यो रोग वंशानुगत रोग भएकाले आमाबुबाबाट सन्तानमा सर्छ ।

प्रकाशित : भाद्र २९, २०७२ १०:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT