कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओली नेपालको ३८ औं प्रधानमन्त्री

ओलीको पक्षमा ३३८ , कोइरालाले २४९ मत पाए
कान्तिपुर संवाददाता

काठमाडौं — एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा भारी मतले आइतवार विजयी भएका छन् । आकस्मिक रुपमा उम्मेदवार बनेका कांग्रेस सभापति एवं निर्वतमान प्रधानमन्त्री सुशील कोइरालालाई ८९ मतले पछि पार्दै ओली निर्वाचित भएका हुन् ।

ओली नेपालको ३८ औं प्रधानमन्त्री

लोकतान्त्रिक गणतन्त्रलाई कार्यान्वयन गर्ने नेपालको संविधान अनुसार निर्वाचित हुने उनी पहिलो प्रधानमन्त्री हुन् ।

व्यवस्थापिका–संसदमा कायम रहेका ५९९ सदस्यमध्ये आइतबारको चुनावमा ५८७ जना सहभागी बनेका थिए । ओलीका पक्षमा ३३८ र कोइरालालाई २४९ मत खसेको थियो । ओलीको पक्षमा एमाओवादी, राप्रपा नेपाल, राप्रपासहित साना दलले मत दिएका हुन् । मतदानको केही अघि मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)ले समेत उनकै पक्षमा समर्थन गर्ने निर्णय गरेको थियो ।

कोइरालालाई भने कांग्रेस र आन्दोलनमा रहेका फोरम (लोकतान्त्रिक)बाहेक अन्य मधेशकेन्द्रित दल, केही साना दल र २ जना स्वतन्त्र सांसदले मत दिएका थिए ।
ओलीलाई नेकपा (माले), नेमकिपा, राष्ट्रिय जनमोर्चा, नेकपा (संयुक्त), परिवार दल र राष्ट्रिय जनमुक्तिका सांसदले समेत मतदान गरेका थिए । त्यस्तै एक–एक सिट भएका मधेश समता पार्टी, नेपा: राष्ट्रिय पार्टी, समाजवादी जनता पार्टी, बहुजन शक्ति पार्टीले समेत ओलीका पक्षमा थिए ।

अघिल्लो दिन उनको समर्थनमा हस्ताक्षर गर्ने एक–एक सिट भएका खम्बुवान राष्ट्रिय मोर्चाका रामकुमार राई, नेपाली जनता दलका हरिचरण साह र दलित जनजाति पार्टीका यसोदाकुमारी लामा भने कोइरालाका पक्षमा उभिएका थिए । उनीहरु तिनै जना एमाले संसदीय दलका अध्यक्ष ओलीको पक्षमा भन्दै ३ दिनदेखि सक्रिय भएका थिए । ‘समर्थनमा हस्ताक्षर गरेको एकै रातमा भोलिपल्ट उनीहरु अर्को पक्षमा लाग्नुभयो,’ ओलीको चुनावी अभियानमा जुटेका एक सभासदले कान्तिपुरसँग भने–‘सायद ठूलै प्रलोभनमा उनीहरु परे ।’

एमाओवादीभित्र बाबुराम भट्टराई पक्षधर केही मधेसका सांसद र १२ सिट रहेको राप्रपामा मत विभाजनको आशंका अघिल्लो दिन रहेपनि मतदानमा त्यस्तो भएन । दुवै पार्टीबाट पार्टी निर्णय अनुसार ओलीकै पक्षमा मत परेको थियो ।

यो पनि पढ्नुहोस्– ओलीलाई विस्तारै गरौं भन्ने छुट छैन

कांग्रेसका ३ जना सांसदहरुभने मतदानका बेला अन्तराष्ट्रिय सम्मेलनकेन्द्रस्थित हल बाहिर भई फर्कन ढिला हुदा मतदानमा भाग लिन पाएनन् । सांसदहरु प्रदीप गिरी, बद्री पाण्डे र जीवन परिवार छुटेका हुन् । मतदान सुरु हुनु भन्दा अघिको विभाजन घण्टी बज्ने बेला सांसद पाण्डेको स्वास्थ्यमा केही असजिलो भएपछि परियारलाई लिएर उनी बाहिरिएका थिए । लगत्तै भित्रिंदा ढिलो भई हलभित्रको ढोका बन्द भइसकेको थियो ।

नयाँ प्रधानमन्त्री चुन्ने बैठक सुरु भएलगत्तै सभामुख सुवास नेम्वाङ्गले उम्मेदवार, तिनका प्रस्तावक र समर्थक सबैलाई बोल्ने समय प्रदान गरेका थिए । भने निर्णायक मतका लागि प्रस्ताव पेस गर्नु अघि उम्मेदवारी फिर्ताको समय पनि दिएका थिए । दुवैले आफ्नो उम्मेदवारी फिर्ता नहुने बताएपछि मतदान प्रक्रिया अघि बढेको थियो ।

त्यसअघि बोल्दै ओलीले अघिपछि भन्दा शीष्ट शैलीमा प्रधानमन्त्री पदमा कोइरालाले समेत उम्मेदवारीमा दिई राजनीतिक सहमति उल्लंघन गरेको बताएका थिए ।

कोइरालाले नयाँ प्रधानमन्त्री एमालेको नेतृत्वमा हुने कुनै सहमति नभएको भनी अभिव्यक्ति दिइरहेको तर्फ संकेत गर्दै उनले भनेका थिए–‘राजनीतिमा हाम्रा प्रतिबद्धता, सहमति, कबुलको धेरै महत्व हुन्छ । लोकतन्त्रमा त्यो अनिवार्य पनि छ । त्यतापट्टि पनि ध्यान दिन म विशेष ध्यानाकर्षण गराउँछु ।’   

 

 

याे पनि पढ्नुहाेस्

बालकोट टू बालुवाटार

ओलीलाई फोन गर्दै मोदीले दिए बधाई

प्रकाशित : आश्विन २४, २०७२ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?