कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल प्रहरीमाथि एसएसबीको आक्रमण, असइको हतियार खोसी कुटपीट

अवधेशकुमार झा

मोरङ — दसगजामा धर्ना बसेका मधेशी मोर्चाका कार्यकर्ता र नेपाल प्रहरीबीच झडप भइरहेका बेला भारतीय सीमा सुरक्षा बलले आज विराटनगरको रानी नाकास्थित दसगजा क्षेत्रमा आएर नेपाल प्रहरीका असईलाई नियन्त्रणमा लिएर भारतीय भूमिमा लगि कुटपीट गरेका छन् ।

एसएसबीले असई प्रदीप गिरीलाई नियन्त्रणमा लिएर कुटपीट गर्दे हतियार समेत खोसेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी प्रमोद खरेलले जानकारी दिए ।

आज दिउँसो ३ बजे नाकामा धर्ना दिने कार्यक्रम अन्तर्गत विराटनगर–जोगवनी नाकाको दसगजा क्षेत्रमा मधेशी मोर्चाका कार्यकर्ता धर्ना बसेपछि हस्तक्षेप गर्न गएका नेपाल प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप सुरु भएको थियो । झडपकै बेला युनिफर्ममा रहेका असई गिरीलाई एसएसबीले नियन्त्रणमा लिएको डिएसपी खरेलले बताए । एसएसबी आक्रमणले असई गिरीको निधारमा गम्भिर चोट लागेको छ । नियन्त्रणमा लिइएको केही बेरपछि नेपाली सुरक्षाकर्मीको दबाबमा उनलाई मुक्त गरिएको थियो । गिरीको अहिले विराटनगर स्थित कोसी अञ्चल अस्पतालमा उपचार भईरहेको छ । खोसिएको उनको पेस्तोल फिर्ता गरिएको छैन ।

घटनापछि जिल्ला सुरक्षा समिति मोरङको आकस्मिक बैठक बसेको छ । बैठकपछि प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरू अहिले केहीबेर अघिबाट सीमावर्ती भारतीय अधिकारीहरूसित सीमा क्षेत्रमा छलफल गरिरहेका छन् । प्रजिअ कार्कीले आक्रमण र हतियार फिर्ता गर्नेबारे कुरा गरेको बताएका छन् ।

उक्त घटनापछि थप बलको रुपमा घटनास्थलमा गएको नेपाल र सशस्त्र प्रहरीको टोली र प्रदर्शनकारीबीच दोहोरो ढुंगा हानाहान भएको छ । झडपमा १२ जना प्रर्दसनकारी घाइते भएको संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष राजकुमार यादबले बताए । प्रहरीतर्फ इन्स्पेक्टर विनोद श्रेष्ठ, सइ भरत थापा, सशस्त्र प्रहरी जवानद्वय रोसन राजवंसी र देबेन्द्र यादब घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : आश्विन २४, २०७२ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?