‘कि भारतले छक्यायो, कि हाम्रै नेताले कुरो बुझेनन्’

बसन्त बस्नेत

काठमाडौं — ‘भारतको नाक जोगाइदिन हामीले असोज ७ गते राजविराज बैठकबाट नाकाबन्दीको जिम्मा लियौं, हाम्रो नाक काटेर भारतले माघ २२ गते वीरगन्ज नाका खोल्न सादा पोशाकका सुरक्षाकर्मी परिचालित गर्‍यो ।’

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका एक उच्च नेताले बुधबार अपराह्न कान्तिपुरसँग भारतले अपमानजनक ढंगले मोर्चालाई सीमा नाकाबाट हटाउन भूमिका खेलेको स्वीकारे । उनले थपे, ‘आज यही कारणले सिंगो मधेसमा भारतविरोधी भावना बढेको छ । कार्यकर्ता, समर्थक र आम सर्वसाधारण भारतमात्रै होइन, हामीसँग समेत रिसाएका छन् ।’

अनामनगरमा भएको करिब एक घण्टाको कुराकानीमा ती नेताका दुई मोबाइल सेट तारन्तार बजिरहे । अधिकांश फोन उठाउँदै उठाएनन् । उठाएका फोनमा पनि झर्कोफर्को गरिरहे । भने, ‘केही दिन पर्खनूस् न । हामी बसेर सामूहिक पहल गर्छौं ।’

Yamaha

सरकारी कागजात, लाइसेन्स, उद्योग कारखाना नवीकरण गर्ने अन्तिम म्याद हरेक वर्षको साउन मसान्त हो । त्यस बेलासम्म मोर्चा संविधान निर्माण प्रक्रिया र सीमांकनप्रति आपत्ति जनाउँदै आमहड्तालमा ओर्लिइसकेको थियो । मधेसका सरकारी कार्यालय ठप्प थिए । यस्तोमा कसरी कागजात नवीकरण हुनु ? कार्यकर्ता, समर्थकहरु यसबीचका छ महिनामा सरकारले तिराउन खोजेको जरिवाना मिनाहा गराइदिन नेताहरुलाई फोन गरेको गर्‍यै छन्, उठाइसक्नु छैन ।

अनि ती आम नागरिक, जसको आफ्नो भन्नु जीवनमात्रै छ । परिवार, बालबच्चा र अलिकति जग्गा छ । तीमध्ये कतिपय घाइते, अंगभंग छन् । आन्दोलनमा ठयाक्कै कति मारिए, कति अंगभंग भए, मोर्चासँग वास्तविक आँकडा छैन ।

‘वार्ता निश्चित विन्दुमा पुगेर सहमति भएको भए हामी यी सबै कुरा दाबी गर्न सक्ने अवस्थामा हुने थियौं,’ ती नेताले भने, ‘तर सरकारसँग यी कुरा माग्न हामीलाई आफ्नो आत्मसम्मानले दिँदैन । आखिर हामी आन्दोलनकारी न पर्‍यौं ।’

साउन ३० गतेदेखि तत्कालीन संघीय समावेशी मधेसी मोर्चा (हाल गठबन्धन) र साउन ३१ देखि मधेसी मोर्चाले मधेसमा आमहड्ताल घोषणा गरेका थिए । उनीहरुको असहमति र भारतीय दबाबबीच असोज ३ गते संविधान निर्माण भएपछि भारत सीमा नाकाबाट पेट्रोलियम ढुवानी बन्द गराउने निर्णयमा पुगेको थियो । असोज ५ देखि भारतको नाकाबन्दी सुरु भएपछि मोर्चा दबाबमा पर्‍यो । मधेसी मोर्चाका नेताहरुसँग अनौपचारिक कुराकानीका आधारमा भारतले मोर्चालाई नाकाबन्दीको औपचारिक घोषणा गर्न आग्रह गरेको थियो । ‘खासमा मधेसमा धेरै हिंसा हुन थालेपछि हामीले नै नाका अवरोध गर्नुपर्छ भन्ने प्रस्ताव बैठकमा राखेका थियौं, रक्सौल गएर भारतीय अधिकारीलाई ढुवानी रोक्न आग्रहसमेत त्यही बेला गरिएको हो,’ मोर्चाका अर्का नेताले भने, ‘सुरुमा आम्दानी गुम्ने डरले भारतीय अघि सरेनन् । पछि बाध्यकारी निर्णय उनैले गराइदिए ।’

गरौं कि नगरौंको द्विविधामा मोर्चाले राजविराज बैठक लम्ब्याउँदै अन्तत: असोज ७ गते नाकाबन्दी आह्वान त गर्‍यो, तर त्यस अगावै सबै सीमा नाकाबाट पेट्रोलियम ढुवानी बन्द भइसकेको थियो । छठ अगाडिसम्म सबै नाका बन्दै रहे, केही मात्रामा फलफूल र अन्नपात पठाउनेबाहेक । त्यसपछि भने वीरगन्ज–रक्सौल नाकामात्रै पूर्ण रुपमा बन्द थियो, अरु नाका खुलिरहे ।

मोर्चाका शीर्ष नेताहरु स्तब्ध छन्, ‘नाकाबन्दी आह्वान गर्न हामीलाई आग्रह गर्ने भारत खोल्ने बेला किन आफैं अघि सर्‍यो ?’

दोस्रो पंक्तिका नेताहरु त्यो भन्दा बढी छक्क परेका छन्, ‘माघ १८ पछि आन्दोलनको स्वरुप बदल्ने भनेर हाम्रा शीर्ष नेताहरुले बिजुलीबजारमा बैठक गरेर माघको पहिलो साता नै घोषणा गर्नुभएको थियो । तर भारतले उहाँहरुलाई किन छक्यायो ? कि हाम्रै नेताहरुले भारतको संकेत बुझेनन् ?’

सद्भावना पार्टीका एक नेताका अनुसार भारतको कुटनीतिक असावधानीका कारण अहिले मोर्चाभित्र खटपट बढेको हो । भारतले अरु नाका खुला राखेर वीरगन्जमात्रै किन त्यति लामो अवधि बन्द राखिरह्यो, बुझ्नै नसकिएको उनी खुलाउँछन् ।

मोर्चाले फागुन पहिलो सातासम्म आन्दोलनको नयाँ कार्यतालिका निकालेको छ, तर ती सांकेतिक किसिमका मात्रै छन् । बरु मोर्चाभित्र अन्तर्विरोध चर्केको छ । माघ २० गते तमलोपा अध्यक्ष महन्थ ठाकुर स्वयं वीरगन्ज–रक्सौल नाकास्थित मितेरी पुलमा उपाध्यक्ष वृषेशचन्द्र लाल, महामन्त्री जितेन्द्र सोनलसहित धर्ना दिन पुगेका थिए । उनले नाकाबन्दी अझै जारी रहने दाबी गरेका थिए । यता सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले भने भोलिपल्ट २१ गते विराटनगर पुगेर वीरगन्ज बन्द गरिराख्नुको कुनै तुक नभएको टिप्पणी गरेपछि मोर्चाभित्र खैलाबैला भएको थियो । माघ २५ गतेको मोर्चा बैठकमा संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव र तमलोपाका नेताहरुले महतोले माफी माग्नुपर्ने अड्डी लिएपछि उनी उठेर हिँडेका थिए । उनले अलग्गै महागठबन्धन वा मोर्चा बनाएर देखाइदिने चेतावनी दिएका छन् ।

तमलोपा महामन्त्री सोनलले तत्कालै महतोले अर्को मोर्चाबन्दी गर्ने सम्भावना नरहेको जिकिर गरे । ‘हामीले उहाँसँग सच्चिन र साझा आन्दोलनमा अघि बढ्न आग्रह गरेका छौं, भित्र कुराकानी जे भए पनि बाहिर उहाँले मुख खोल्नुभएको छैन,’ सोनलले भने, ‘हामी विगतको अझै गहिरो समीक्षा गर्छौं र जनतामा जान्छौं ।’

सद्भावना महासचिव मनिषकुमार सुमनले मोर्चाभित्र केही असमझदारी रहे पनि आफ्नो दल आन्दोलनबाट विचलित नहुने प्रष्टीकरण दिए । नाकाबन्दीलाई भारतले गरेको भनी प्रचार भइरहे पनि मोर्चाले नै गरेको उनको दाबी थियो । ‘यो नाका धर्ना र आमहड्तालबाट मधेसी जनतालाई केही फाइदा भएको भए जस हामी लिन्छौं, घाटा भएको अपजस हामीलाई नै जान्छ, किन अरुको कुरा गर्ने ?’ सुमनले भने, ‘नाकाबन्दी फिर्ता लिएकामा निराश हुनुपर्ने कारण छैन । सद्भावना अध्यक्ष राजेन्द्र महतोभन्दा पहिले नै आन्दोलनको स्वरुप बदल्ने भनेर त अरु नेताहरुले नै भनिसक्नुभएको थियो । त्यसलाई बिर्सन मिल्दैन ।’

प्रकाशित : माघ २७, २०७२ २०:४९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

दक्षिण एशियाले शालिन नेता गुमायो: अन्तर्राष्ट्रिय समुदाय

चन्द्रशेखर अधिकारी

काठमाडौं — कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनमा अन्तर्राष्ट्रिय समुदायले दुःख प्रकट गर्दै दक्षिण एशियाले नै एक सादा र शालिन राजनीतिज्ञ गुमाएको टिप्पणी गरेको छ । संयुक्त राष्ट्रसंघमा महासचिव बान कि मुनले कोइरालाको निधनबाट आफू मर्माहत भएको बताएका छन् । उनले कोइरालालाई 'सबैका आदरणीय राजनेता' भनेका छन् ।



महासचिवका तर्फबाट प्रवक्ताको कार्यालयबाट जारी समवेदना वक्तव्यमा भनिएको छ, 'कठिन समय र संवैधानिक प्रक्रियाका बेला नेपाललाई नेता कोइरालाको मार्गनिर्देश महत्वपूर्ण रह्यो ।' सहमति, सहकार्य र समझदारीको भावनाबाट प्रेरित कोइरालाले नेपाली जनता र राजनीतिक दललाई एकताबद्ध गरेको उल्लेख गर्दै महासचिव बानले नेपालको प्रजातान्त्रिक र शान्ति प्रक्रियामा कोइरालाको योगदान अतुलनिय छ, रहेको बताएका छन् ।

भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले कांग्रेस विदेश विभाग प्रमुख सुजाता कोइरालालाई टेलिफोन गरी समवेदना व्यक्त गरेका छन् । कोइरालाको निधनबाट दक्षिण एशियाकै लोकतान्त्रिक योद्धा गुमेकोमा दुःख प्रकट गर्दै तोब्गेले कोइरालालाई आफूले निडर, लगनशिल र सालिन नेताको रुपमा स्मरण गरेको बताए । 'उहाँको कुशल नेतृत्वले गर्दा नै नेपालमा बहुप्रतिक्षित संविधान जारी हुन सकेको हो,' भुटानी प्रधानमन्त्रीलाई उद्धृत गर्दै नेतृ कोइरालाले भनिन्, 'यस्तो कुशल नेतालाई गुमाउनुपर्दा दक्षिण एशिया नै गहिरो दुःखमा छ ।' तोब्गेले सार्कका अभिभावकका रुपमा पनि कोइरालालाई स्मरण गरेको बताएका थिए । भुटानले गृह तथा संस्कृतिमन्त्री दावा ग्याल्छेन नेतृत्वको टोली पठाएको थियो । उक्त टोलीले रंगशालामा श्रद्धान्जली अर्पण गरेर पशुपतिमा दाहसंस्कारमा समेत सहभागी भएको थियो ।

यस्तै, बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पनि उपसभापति रामचन्द्र पौडेललाई शोक सन्देश पठाउदैं कोइरालाको निधनबाट आफू र बंगलादेशी जनता दुःखी भएको बताएकी छन् । 'बंगलादेशको मित्र मात्र नभएर दक्षिण एसियाले कुशल नेता गुमाएको छ' सन्देशमा भनिएको छ । 'सन् २०१२ मा कोइरालालाई बंगलादेशको एक सच्चा मित्रको रुपमा सम्मान गरिएको थियो' सन्देशमा छ, 'उनले बंगलादेश स्वतन्त्रमा गरेको समर्थनको कदर थियो त्यो ।' कोइरालाले नेपालको असहज परिस्थितिमा समेत नेतृत्व दिएर मुलुकले नयाँ सम्विधान पाएको सन्देशाम उल्लेख छ । उनले आफ्ना विदेशमन्त्री मोहम्मद अलीलाई कोइरालालाई अन्तिम श्रद्धान्जली दिन नेपाल पठाएको जानकारी समेत गराएकी थिइन् ।
सोसलिस्ट इन्टरनेसनलका महासचिव लुइस आयलाले समवेदना सन्देश पठाउदै नेता कोइरालाको निधनबाट नेपालको लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति भएको जनाएका छन् ।

यसैबीच भुटानी गृहमन्त्री दावा ग्याल्छेन र बंगलादेशका विदेशमन्त्री मोहम्मद अलीले उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापासंग भेटवार्ता गरी आपसी हितको विषयमा छलफल गरेका थिए। त्यसअवसरमा सार्कको प्रवर्द्धनका विषयमा समेत छलफल भएको थियो ।

बेलायतका विदेश राज्यमन्त्री ह्युगो स्वायरले समेत कोइरालाको निधनमा शोक व्यक्त गरेका छन् । उनले उपसभापति पौडेललाई शोक सन्देश पठाई कोइरालाले संविधानसभाबाट संविधान निर्माणमा अतुलनीय योगदान पुर्‍याएको उल्लेख गरेका छन् । भारतीय नेताहरु डिपी त्रिपाठी, राहुल बरुवा लगायतले पनि कोइरालाको पार्थिव शरिरमा अन्तिम श्रद्धान्जली दिएका थिए । यसअघि मंगलबार भारतीय विदेश सचिव सुष्मा स्वराजसहितको भारतीय टोलीले कोइरालालाई अन्तिम श्रद्धान्जली दिएर फर्केका थिए ।
यसैबीच, संयुक्त राष्ट्रसंघ, युरोपेली युनियन, भारत, जापान, चीन, इजरायल, बंगलादेश, भुटान, जर्मनी, बेलायत, फ्रान्स, रसिया, कतार, साउदी अरेविया, लगायतका मुलुकहरुले कोइरालाको निधनमा शोक व्यक्त गरेका छन् । शोक सन्देशहरुमा पूर्वप्रधानमन्त्री कोइरालाले लामो राजनीतिक अनिश्चितताबाट नेपाललाई अगाडि बढाएको स्मरण गरिएको छ । कोइरालाको इमान्दारी र दृढ प्रतिबद्धतापूर्ण सोचबाटै नेपालले नयाँ संविधान पाएको उल्लेख गर्दै उनीहरुले सन्देशमा नेपालको चौतर्फी विकास सुनिश्चित गर्न तथा द्विपक्षीय बाह्य कूटनीति प्रवर्द्धन गर्न कोइरालामा स्पष्ट सोच रहेको बताएका छन् । नेपालको लोकतान्त्रिकीकरण र संविधान जारी गर्न स्वर्गीय कोइरालाले निर्वाह गरेको ऐतिहासिक भूमिकाको सबै मुलुकले स्मरण गरेका छन् ।

प्रकाशित : माघ २७, २०७२ २०:३९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT