कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अदालतमा ११ भाषाका दोभासे

विमल खतिवडा

चितवन — जिल्ला अदालतका कार्यालय सहयोगी रूपेश महतो धानुक दोभासेको पनि काम गर्छन् । भोजपुरीलाई नेपालीमा र नेपालीलाई भोजपुरीमा उल्था गर्छन् । दोभासेको काम गर्ने उनी मात्र होइनन् ।

उनीसँगै अदालतका अन्य पाँच कर्मचारीले पनि दोभासेको सेवा दिने गरेका छन् । तीबाहेक अन्य पाँच जना पनि दोभासे छन्, तर उनीहरूलाई भाषाको समस्या पर्नासाथ कार्यालयबाट फोन गरेर बोलाइन्छ ।

विभिन्न समुदायका भिन्न–भिन्न भाषा बोल्नेहरू न्यायका लागि अदालत आउँछन् । उनीहरूलाई आफ्नो समस्या सहज रूपमा राख्न भाषाको समस्या हुन्छ । नेपाली भाषा राम्रोसँग नजान्दा आफ्ना कुरा बुझाउन सक्दैनन् । त्यस्ता व्यक्तिलाई समस्या पर्नासाथ तुरुन्त दोभासे बोलाएर सहयोग गर्ने गरिएको छ । अहिले अदालतमा अंग्रेजी, नेवारी, थारू, गुरुङ, हिन्दी, अवधी, मैथिली, तामाङ, चेपाङ, भोजपुरी र मगर भाषाको दोभासेको व्यवस्था गरिएको छ ।

अंग्रेजी भाषाका दोभासेमा जिल्ला बारका अध्यक्ष चूडामणि सापकोटा र अधिवक्ता हरिबहादुर मैनाली छन् । भाषामा उनीहरूसहित पाँच जना अधिवक्ताले सहयोग गर्छन् । त्यस्तै तामाङ र चेपाङ भाषा उल्था गर्ने भने एक जना मात्र छन् । मगर भाषाका लागि समाजसेवी तेजकुमार रानाले सेवा दिने गरेका छन् ।

यो सेवा कार्यालयमा स्थापना गरिएको सूचना तथा सहायता कक्षमार्फत प्रदान गरिन्छ । कसले कुन भाषामा दोभासेका लागि सहयोग गर्ने हो ती व्यक्तिको नाम, फोन नम्बर र बोल्ने भाषासहितको फ्लेक्स बनाएर कक्षको भित्तामा टाँगिएको छ । ‘फागुनबाट दोभासेको व्यवस्था गरिएको हो,’ अदालतका सूचना अधिकृत कृष्णप्रसाद बरालले भने, ‘दोभासे राखेपछि सेवा लिन आउनेले राहत महसुस गरेका छन् ।’

जिल्ला न्यायाधीश टेकनारायण कुँवरले आफूसँगै दोभासेको व्यवस्था गरिएको बताए । अहिलेसम्म हिन्दी, मैथिली र भोजपुरीका लागि दोभासे आवश्यक परेको छ । ‘पहिला–पहिलाका मुद्दाको रेकर्ड हेर्दा ११ वटा भाषासम्बन्धी धेरै व्यक्ति आएको पाइयो,’ उनले भने, ‘त्यही भएर भाषा बोल्ने मान्छे चाहियो, मान्छे हुँदा किन सहजता नदिने भनेर यस्तो सेवा सुरु गरिएको हो ।’

अदालत स्रोतका अनुसार दोभासे सेवा दिनेका लागि राज्यले पारिश्रमिकको व्यवस्था गरेको हुन्छ । ‘सेवाग्राहीलाई नि:शुल्क सेवा दिने गरिएको छ,’ न्यायाधीश कुँवरले भने, ‘दोभासेले पनि अहिलेसम्म पैसा लिएका छैनन्, नि:शुल्क नै सेवा गरिरहेका छन् ।’

कुनै पनि भाषाभाषीका पीडित र अभियुक्तहरू आउँछन् । ‘उनीहरूले मातृ भाषामा जति कुरा गर्न सक्छन् त्यति अन्य भाषामा सक्दैनन्,’ उनले भने, ‘आफ्नो भाषामा बयान गर्ने अधिकार अदालतमा आउनेलाई हुन्छ, त्यसैले दोभासे राखेका हौं ।’

अदालत पुग्नेले सहज रूपमै सेवा पाउने गरेका छन् । धेरैबेर अलमलिनु पर्दैन । ‘यो एकदमै राम्रो सुरुवात हो,’ जिल्ला बार अध्यक्ष सापकोटाले भने । हिन्दी भाषाको दोभासे रहेका अदालतका नासु जयनारायण आचार्यले सेवाग्राहीलाई तुरुन्तै सेवा लिन सहज भएको बताए ।

प्रकाशित : चैत्र २२, २०७२ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?