छिमेकीले रातदिन छौँडा खेलाएर दुःख दिनु बेठीक कुरा हो : प्रधानमन्त्री ओली

रासस

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि छिमेकीले नेपालमाथि आफ्ना स्वार्थ लाद्न खोज्न नहुने बताएका छन् ।

मदन भण्डारी फाउन्डेसनले शुक्रबार आयोजना गरेको ‘परिवर्तित सन्दर्भमा नेपाल र भारत तथा चीनसँगको सम्बन्ध’ विषयक विचारगोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कुनै मुलुक नेपालमा धर्मनिरपेक्ष होस् भन्ने चाहने र कुनैले धर्मसापेक्ष गराउने कोसिस गरिरहेको बताए ।

उनले भने, ‘नेपाल कस्तो धर्म चाहन्छ भन्ने यहाँका जनताले निर्णय गर्ने हो । कुनै मुलुकलाई के मन पर्छ भन्ने आधारमा तय गर्ने विषय होइन । हाम्रा मामिलामा अरुको हस्तक्षेप थोपर्ने काम स्वीकार्य छैन ।’

प्रधानमन्त्री ओलीले मित्रराष्ट्रलाई मित्रकै हैसियतमा रहन आग्रह गर्दै भने, ‘छिमेकीले रातदिन छौँडा खेलाएर दुःख दिनु बेठीक कुरा हो ।’

संविधान बन्न नदिने र त्यसपछि सरकार बन्न नदिने पक्षले आफ्नो सरकारलाई करेली र लगाम लगाएर ठेगान लगाउन खोज्ने तथा कहिलेकाहीँ काँधमाथि चढ्न खोजेर नेपालीको स्वाभीमानमा हस्तक्षेप गर्न खोजेको आरोप लगाए ।

‘हस्तक्षेपको विरोधमा नबोल्नु कूटनीति होइन, कूटनीतिभन्दा माथि नेपालको स्वाभिमान पहिलो हो । सार्वभौम मुलुकको हौसियत कायम गर्नु प्रमुख विषय हो,' प्रधानमन्त्री ओलीले भने, 'एक स्वतन्त्र राष्ट्रका हैसियतले हामी दुनियाँका सबै मित्रराष्ट्रसँग आँखा जुधाएर कुरा गर्न सक्छौँ । त्यही हैसियतामा मैले भारत र चीन भ्रमणका समयमा नेपालको हितमा सम्झौता गरेको छु । नयाँ सरकारले त्यसबाट पछि फर्कन मिल्दैन । जनताको असाधारण चेतनाले अबका सरकारलाई स्वच्छन्द हुन दिँदैन ।'

उनले ‘कागका गुँडमा कोइलीले खुसुक्क अन्डा हालेर बच्चा कोरलेजस्तो’ स्थिति नेपाली राजनीतिमा देखिएको भन्दै यस्तो अवस्थामा यहाँ कसैले आफ्नो पुनःरोदय भयो भनेर दसैँमा आँगनमा निस्केर केटाकेटी नाँचेजस्तो गर्नु आवश्यक नभएको बताए ।

प्रधानमन्त्री ओलीले नेपालीको नयाँ सरकार सचेत जनताको निगरानीमा रहने जनाउँदै भने, 'त्यो सरकार पनि नेपालभित्र चल्ने हो, बाहिर चल्ने होइन ।'

कार्यक्रममा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले मुलुकको स्वाभिमान र राष्ट्रिय एकताका लागि सबै दल र शक्ति एक ठाउँमा उभिनुपर्ने बताए । उनले नेपालले आफ्नो अस्तित्व आफैँले रक्षा गर्न आफ्नो सन्तुलित परराष्ट्र नीतिको पक्षमा उभिनुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसका नेत्री सुजाता कोइरालाले वर्तमान ओली नेतृत्वको सरकार ढाल्नुपर्ने पक्षमा आफ्नो पार्टीका कार्यकर्ता नरहे पनि शक्तिका खेलाडीले सरकार परिवर्तन गर्न लागेको टिप्पणी गरिन् । उनले वर्तमान सरकारले लिएको राष्ट्रियतासम्बन्धी अडान सही भएको विचार राखिन् ।

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालका भारत र चीन दुवै छिमेकीबीच सन्तुलित सम्बन्ध विस्तार गर्न आवश्यक रहेको बताए ।

मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का नेता जितेन्द्र देवले राष्ट्रियताको परिभाषा सबैका लागि एउटै हुने टिप्पणी गरे ।

कार्यक्रमको दोस्रो सत्रमा विभिन्न परराष्ट्र विज्ञबाट कार्यपत्र प्रस्तुति र छलफल हुनेछ ।

प्रकाशित : श्रावण १४, २०७३ १४:२१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

हिलारी औपचारिक रुपमा अमेरिकी राष्ट्रपतिको उम्मेदवार भइन्

कान्तिपुर संवाददाता

फिलाडेल्फिया (अमेरिका) — महाशक्ति अमेरिकाको डेमोक्र्याटिक पार्टीले अगामी राष्ट्रपतिय निर्वाचनका लागि आफ्नो पार्टीको तर्फबाट पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनलाई औपचारिक उम्मेदवार घोषणा गरेको छ ।

यस अघि उनलाई सो पार्टीले राष्ट्रपतिको उम्मेदबारको रुपमा मनोनयन मात्र गरेको थियो । औपचारिक उम्मेदवार घोषणालाई वर्तमान राष्ट्रपति बाराक ओबामाले पनि पूर्ण समर्थन जनाएका छन् ।


उम्मेदवार हिलारी क्लिन्टनले पार्टीको औपचारीक घोषणालाई स्वीकार र स्वागत गर्दै आफू राष्ट्रपति पदमा निवार्चित भएमा अमेरिकामा थप रोजगारीका अवसर सिर्जना गर्न र सँगसँगै पारिश्रमिक दरमा बृद्धि गर्न पूरा प्रयास गर्ने नै आफ्नो प्रारम्भिक लक्ष रहने बताइन । साथै अमेरिकालाई स्थायी र दृढ नेतृत्व प्रदान गर्न आफूले कार्यभार सम्हालेको पहिलो दिनदेखि अन्तिम दिनसम्म सघर्ष गर्ने बताइन् ।

अमेरिकाको इतिहासमा पहिलो महिला राष्ट्रपति बनी नयाँ इतिहास रच्ने आकांक्षा पालेकी हिलारीले अमेरिकाको विदेश मन्त्रीको नेतृत्व पनि सफलतापूर्वक निर्वाह गरेकी थिइन् ।

फिलाडेल्फियामा सम्पन्न डेमोक्र्याटिक पार्टीको राष्ट्रिय भेलाको अन्तिम दिन उम्मेदबार क्लिन्टनले वर्तमान अन्तर्राष्ट्रिय परिवेशलाई अमेरिकी दृष्टिले निरुपणलाई गर्दै आफ्नो सम्बोधनको क्रममा बग्दाददेखि काबुलसम्म, निसदेखि पेरिस र ब्रुसेल्ससम्म, सान बर्नार्डिनोदेखि ओल्र्यान्डोसम्म बाटा भरी कांडैकाडा बिच्छ्याइएका समाचार पत्रपत्रिका हेर्ने सबैले दिनका दिन पढिरहेको बताइन् ।
'धम्की र विचलनको त्रासवश ती सबैले अमेरिकालाई नै याचनाको आँखाले हेरिरहेका छन् । अमेरिकाले यस्ता सबै चुनौतिको सामना गर्दै शान्तिका लागि धर्मयुद्धमा होमिई ज्ञात शत्रु जतिलाई जित्नै पर्छू' उनले भनिन् ।
रासस/सिन्ह्वा

प्रकाशित : श्रावण १४, २०७३ १४:१९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT