कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

उपत्यका भित्रिएका केही खसीबोका अस्वस्थ

राजु चौधरी

काठमाडौं — दसैंका लागि उपत्यका भित्रिएका खसीबोकामध्ये १८ वटा अस्वस्थ फेला परेका छन् । संयुक्त अनुगमन टोलीले केही खसीबोकामा नाकबाट सिँगान आउने, निमोनियाँको लक्षण फेला परेको जनाएको हो ।

उपत्यका भित्रिएका केही खसीबोका अस्वस्थ

दसैंका लागि उपत्यका भित्रिएका खसीबोकामध्ये १८ वटा अस्वस्थ फेला परेका छन् । पशु सेवा विभाग, पशुपक्षी बजार प्रवद्र्धन निर्देशनालय, भेटेरिनरी जनस्वास्थ्य कार्यालय, केन्द्रीय पशु क्वारेन्टाइन कार्यालय र केन्द्रीय पशु चिकित्सालयको संयुक्त अनुगमन टोलीले केही खसीबोकामा नाकबाट सिँगान आउने, निमोनियाँको लक्षण फेला परेको जनाएको हो । भेटेरिनरी जनस्वास्थ्य कार्यालयका प्रमुख तथा अनुगमन टोली संयोजक बोधनाथ अधिकारीका अनुसार उपत्यकाको चारवटै नाका कलंकी खसी बजार, टुकुचा खसीबजार/थापाथली खाद्य संस्थान, बिजुली बजार, सल्लाघारी भक्तपुरमा अनुगमन भएको छ ।

त्यस क्रममा कलंकी र खाद्य संस्थानले बिक्री गरेको खसीबोकामा निमोनियाँका लक्षण फेला परेको जनाएको हो । अधिकारीका अनुसार कलंकी खसीबजारमा रामकुमार मण्डल, टुकुचा खसीबजार र थापाथलीमा रहेको खाद्य संस्थानमा नारायण घिमिरे, बिजुलीबजारमा मुकुल उपाध्याय, भक्तपुर सल्लाघारीमा सरीलाल चौधरी र बालाजुमा अधिकारीकै नेतृत्वमा टोली परिचालन गरिएको छ ।

‘कलंकीमा भित्रिएकामध्ये ८ वटा खसीबोकामा नाकबाट सिगान आउने, निमोनियाँको लक्षण देखिएको छ,’ मण्डलले भने, ‘ती खसीबोका दुई/तीन दिनसम्म बिक्री निषेध गरेका छौं ।’ उनका अनुसार ती खसीबोकाको सिङमा रातो स्टिकर लगाइएको छ । स्थानीय बजारसँगै भारतबाट समेत खसीबोका भित्रिएकाले टाढाबाट आयात गर्दा बिरामी भएको हुन सक्ने उनले बताए । ‘दुई/तीन दिन अध्ययन गर्न रातो स्टिकर लगाएका छौं । त्यसपश्चात् पूर्ण परीक्षण गर्छौं,’ उनले भने, ‘सोही प्रकारको कैफियत देखिए बिक्री गर्न रोक लगाउँछौं ।’
विभागका अनुसार खसीबोकाको बाहिरी रूपमा देखिने रोगका लक्षण, मुटुको ढुकढुकी र शंका लागेमा रगतको नमुनाका आधारमा अध्ययन गरी हरियो र रातो स्टिकर लगाइन्छ । आवश्यक परीक्षणसँगै स्वस्थ र अस्वस्थ खसीको वर्गीकरण गरी बजारमा बिक्रीका लागि अनुमति दिइने जनाएको छ ।

अनुगमनका क्रममा सरकारले भित्र्याएको खसीबोकामा पनि समस्या देखिएको हो । टुकुचा खसीबजार र संस्थानको खसीबोका निरीक्षणको जिम्मा पाएका नारायण घिमिरेका अनुसार संस्थानमा रहेका खसीबोकामध्ये १० वटामा सिँगान आउने समस्या देखिएको हो । ती खसीबोकालाई छुट्टै राखिएको उनले बताए । ‘रातो स्टिकर नलगाए पनि तत्काल बिक्री गर्न दिएका छैनौं । दुई/तीन दिनपछि पुन: परीक्षण गरेर थप निर्णय लिन्छौं,’ उनले भने, ‘थप समस्या देखिए बिक्री हुँदैन ।’

यस्तै सल्लाघारी भक्तपुरबाट भित्रिएको च्याङ्ग्रा भेडा र राँगामा भने कुनै कैफियत भेटिएको छैन । ती च्याङ्ग्रा, भेडाहरू सिन्धुलीमै परीक्षण गरी भित्र्याइएकाले कैफियत नपाएको सल्लाघारी अनुगमन टोली प्रमुख सरीलाल चौधरीले बताए । ‘स्थानीय उत्पादनसँगै परीक्षण पनि भएकाले अनुगमनको क्रममा कैफियत देखिएन,’ उनले भने । अनुगमन टोलीले नवमीसम्म उपत्यकामा भित्रिने खसीबोका, राँगा, बंगुर, भेडा, च्याङ्ग्रा, कुखुरा र हाँसको स्वास्थ्य परीक्षण हेरेर मात्रै बिक्री गर्न अनुमति दिन्छ । खसीबोकाको बाहिरी क्षेत्र नाक–मुखबाट सिँगान र र्‍याल बगेको, मलद्वारबाट पातलो दिसा भएर शरीरको पछाडिको भागमा यत्रतत्र टाँसिएको, चोटपटक लागेर संक्रमण भएको, रोगबाट कानमा घाउ भएको वा रगत बगेको निरीक्षण गर्छ ।

यस्तै शरीरको तापक्रम, गिजा र खुट्टाको खुरमा घाउ, आँखामा चिप्रा र रातो आँखा, घरीघरी आकाशतर्फ फर्केर घुम्दै कराउने लड्नेजस्ता लक्षणहरूको पहिचान गर्छ । दसैंका लागि सरकारले खसीबोका र च्याङ्ग्रा गरी ३ हजार ल्याउने जनाइसकेको छ । ती खसीबोका शनिबारदेखि उपत्यका भित्रिने क्रममा छन् । सरकारले भित्र्याएको खसीबोका र च्याङ्ग्रा किलोमा २० र ३० रुपैयाँ सस्तो छ ।

आइतबारदेखि बिक्री सुरु गरेको संस्थानले व्यापारीभन्दा केही सहुलियत दरमा बिक्री गरेको हो । संस्थानले २५ किलोसम्मका खसीबोकाको मूल्य ४ सय ४० र २५ किलोभन्दा माथिलाई ४ सय ५० रुपैयाँ तोकेको छ । च्याङ्ग्रा किलोको ६ सय ५० रुपैयाँमा बिक्री गरेको छ ।

चौपाया व्यवसायी संघ कलंकीले भने खसीबोका किलोको ४ सय ६० रुपैयाँ र च्यांग्रा ६ सय ८० रुपैयाँमा बिक्री गरेको छ । खसीबोका भारत र च्याङ्ग्रा तिब्बतबाट आयात गरेकाले केही महँगो परेको संघको दाबी छ । व्यवसायीहरूले भारतको लखनउ, कर्नाटक लगायत १० स्थानबाट आयात गरी बिक्री गर्छन् ।

दसैंलाई लक्षित गरेर संस्थान र चौपाया व्यवसायी संघसहितले उपत्यकामा ५० हजारभन्दा बढी खसीबोका/च्याङ्ग्रा भित्रिने योजना बनाएका छन् । संस्थानले खसीबोका १५ सय र च्याङ्ग्रा १५ सय ल्याउने जनाएको छ । तीमध्ये साढे १४ सय च्याङ्ग्रा खरिद गरिसकेको जनाएको छ । च्याङ्ग्रा मुस्ताङबाट खरिद गरिएको हो । खसीबोकाको मुख्य कारोबार घटस्थापनाको अघिल्लो दिनदेखि टीकाको दिनसम्म हुन्छ ।

प्रकाशित : आश्विन १९, २०७३ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?