सञ्चालकहरुबीचको विवादका कारण विद्यार्थीको पढाइ अन्योलमा

नेपाल इन्जिनियरिङ कलेज विवाद 
लीला श्रेष्ठ

भक्तपुर — भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालकबीचको द्विपक्षीय विवादका कारण विद्यार्थीको भविष्य अन्योलमा परेको छ । विभाजितमध्ये एक पक्षीय सञ्चालक नियमित कलेज आउने गर्छन् भने, अर्कोपक्षका कलेजबाहिर आफूखुसी बैठक बसी विभिन्न निर्णय गर्ने तथा कलेजको बैंक खातासमेत बन्द गरेका छन् । 

चाँगुनारायण नगरपालिका–४ बेंसीस्थित नेपाल इन्जिनियरिङ कलेज । तस्बिर : लीला श्रेष्ठ

संस्थाको सञ्चालक समितिमा संस्थापक सदस्यका तर्फबाट ७, स्थानीय समाजसेवीका तर्फबाट १, अभिभावक र विश्वविद्यालयको प्रतिनिधित्व गर्ने एक/एक र प्राचार्य सदस्यसचिव गरी ११ सञ्चालक छन्। सञ्चालकमध्ये ७ संस्थापक सञ्चालक (लम्बोदर न्यौपाने, सूर्यबहादुर केसी, डा. रामरत्न उपाध्याय, डा.उपेन्द्र गौतम, लवराज भट्टराई, हरिप्रसाद पाण्डे र सलिल भट्टराई) छन्। अभिभावकका तर्फबाट डा. दीपक भट्टराई, स्थानीय समाजसेवीका तर्फबाट चाँगुनारायण नगरप्रमुख सोमप्रसाद मिश्र र पोखरा विश्वविद्यालयको प्रतिनिधि अर्जुन गौतम तथा कलेजका प्राचार्य डा. हरिकृष्ण श्रेष्ठ छन्।

Yamaha

संस्थापक ७ सञ्चालकमध्ये अध्यक्ष लम्बोदर न्यौपानेसहित सूर्यबहादुर केसी, डा.रामरत्न उपाध्याय, डा.लवराज भट्टराई र उपेन्द्र गौतम गरी ५ एक पक्षमा छन् भने सलिल भट्टराई र हरिप्रसाद पाण्डेलगायत अर्को पक्षमा छन्।

२०५१ बाट गैरनाफामूलक संस्थाका रूपमा सञ्चालित इञ्जिनियरिङ कलेजलाई अध्यक्ष लम्बोदर न्यौपाने पक्षका सञ्चालकले प्रालि बनाउने र सम्पूर्ण सम्पत्ति हडप्ने, कलेजलाई चाँगुनारायणबाट अन्यत्रै सार्ने र पोखरा विश्वविद्यालयको सम्बन्धन खारेज गरी मध्यपश्चिम विश्वविद्यालयबाट नयाँ सम्बन्धन लिने प्रयास गरेपछि विवाद सुरु भएको थियो। विवादपछिको विरोध तथा आन्दोलनपछि कम्पनी रजिस्टारको कार्यालयमा २०७४ वैशाख २५ मा दर्ता भएको नेपाल इन्जिनियरिङ कलेज प्रालि विधिवत् खारेज गरिसकेको जनाएको छ।

विवाद समाधान गर्न पछिल्लो पटक जिल्ला प्रशासन कार्यालय भक्तपुरले गत असार १९ मा कलेजका सञ्चालकसँग आवश्यक कागजात माग गरी छानविन गरिरहेको छ। सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको संयोजकत्वमा गठित छानविन समितिलाई प्रतिवेदन पेस गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए।

समितिले डेढ महिनासम्म कुनै विवरण नदिएका कारण विद्यार्थीको भविष्य थप अन्योलमा परेको सञ्चालक सलिल भट्टराईले बताए। नयाँ शैक्षिक सत्रका लागि प्रवेश परीक्षा दिएका ५ सय ६७ मध्ये मंगलबारसम्म १ सय ३३ विद्यार्थी भर्ना भइसकेका छन्। कलेजमा हाल २ हजार १ सय विद्यार्थी अध्ययनरत छन्। नयाँ शैक्षिक सत्रमा स्नातकमा ५ सय २८ र स्नातकोत्तरमा १ सय २० विद्यार्थी थपिने कलेज प्रशासनले जनाएको छ।

कलेजलाई सम्बन्धन दिएको पोखरा विश्वविद्यालयले विवाद समाधान गर्न दुवै पक्षलाई बोलाए पनि अध्यक्ष लम्बोदर न्यौपाने गएका छैनन्। ‘विश्वविद्यालयले सामुदायिक कलेजको रूपमा सम्बन्धन दिएको हो,’ पोखरा विश्वविद्यालयका रजिष्ट्रार गोविन्दप्रसाद शर्माले भने, ‘विद्यार्थीको भविष्यलाई विचार गर्दै कलेज सञ्चालन गर्नुपर्छ।’

सञ्चालकले गैरनाफामूलक संस्था (सामुदायिक) का रूपमा सञ्चालन गर्न नसक्ने हो भने विश्वविद्यालयले आंगिक क्याम्पसको रूपमा चलाउन तयार रहेको उनले बताए।
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

आधा दर्जन सडक अवरुद्ध

भर्तोला–जौलजीबी सडक, दल्लेक–खार–धुलीगडा, बिटुले–पारिबगड सडक पूर्ण रूपमा बन्द छन् ।
मनोज बडू

दार्चुला — ग्रामीण बस्तीलाई जिल्ला सदरमुकाम खलंगासित जोड्ने आधा दर्जन ग्रामीण सडक बाढी र पहिरोका कारण अवरुद्ध छन् । नियमित वर्षा नभए केही सडक खण्डको आधा दूरीसम्म यातायात सञ्चालन हुन्छ । तर केही सडकहरू भने पूर्ण रूपमा अवरुद्ध छन् ।

गोकुलेश्वर बिटुले हुँदै पारिबगड सडकमा अहिले बिटुलेसम्म मात्र यात्रा सञ्चालित छ । ठूलो वर्षा भएका बेला जिल्लाको मुख्य राजमार्ग महाकाली लोकमार्गसमेत बन्द हुने गरेको छ । केही खोलामा पुल निर्माण नहँुदा पानीको सतह बढेपछि यातायात अवरुद्ध हुनुका साथै वर्षातभरि जोखिमपूर्ण यात्रा चल्छ ।


भर्तोला–जौलजीबी सडक, दल्लेक–खार–धुलीगडा, बिटुले–पारिबगड सडक पूर्ण रूपमा बन्द छन् । खलंगा–हिकिला, खलंगा–दल्लेक, गोकुलेश्वर–धुलीगडा सडकमा भने आंशिक रूपमा यातायातका साधनहरू चल्ने गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । केही ग्रामीण सडकमा भने जोखिम मोलेर यातायात सञ्चालन भइरहेका छन् ।


यातायात व्यवसायीले यात्रुहरूकै आग्रहमा स्वैच्छिक बढी भाडा लिएर भए पनि जोखिमपूर्ण सडकमा यातायातका साधनहरू चलाउने गरेका छन् । जोखिम हुन सक्ने भए पनि त्यसो गर्न स्थानीय प्रशासनले रोक्न सकेको छैन । गोकुलेश्वर–धुलीगडा सडक खण्डमा नियमित यात्रुलाई व्यवसायीले नबोक्ने र थप भाडा दिए र पूरै गाडी बुकिङ गरी जोखिम मोलेर भए पनि जिपबाट सेवा दिइरहेको धुलिगडाका स्थानीय अर्जुनसिंह धामीले बताए ।


महाकाली लोकमार्गबाहेक अन्य जिल्लाका ग्रामीण सडकहरू कच्ची र ग्राभेल सडकमा पहिरो र हिलोका कारण अवरुद्ध भएका यातायात व्यवसायीले बताएका छन् । जिल्लाका ब्याँस र अपी हिमाल गाउँपालिकाबाहेक अन्य स्थानीय तहका विभिन्न बस्तीहरू सडक सञ्जालमा जोडिए पनि वर्षात लागेयता ती बस्तीहरू सम्बन्ध विच्छेदको अवस्थामा छन् ।


यो क्षेत्रका स्थानीयहरू दैनिक उपभोग्य वस्तु लैजान तथा सदरमुकाम आवतजावत गर्न सास्ती खेपिरहेका छन् । यातायातमा आवतजावत गर्न बानी बसेका यहाँका स्थानीयहरू जोखिम मोलेर यात्रा गर्न बाध्य भएको नौगाड गाउँपालिका–२ खारका गोविन्दसिंह ठगुन्नाले बताए । दुई घण्टामा सदरमुकाम खलंगा पुगिँदै आएकोमा अहिले एक दिन पूरै लाग्ने उनको भनाइ छ ।


सडक अवरुद्ध भएर यातायात नचल्दा आवतजावतसँगै सामान ओसारपसार गर्न साह्रै अप्ठ्यारो भएको स्थानीय बासिन्दाहरूले बताए ।


सबैभन्दा बढी महिला र बालबालिकाहरू मारमा परेका गाउँलेहरू बताउँछन् । महाकाली तटीय क्षेत्र मानिसहरू यातायात अवरुद्ध हुँदा जोखिमपूर्ण रूपमा तुइन र ट्युबबाट महाकालीको भेल तर्न बाध्य भएका छन् । सडकमा ठाउँ–ठाउँमा पहिरो खसेपछि असार दोस्रो साताबाट अवरुद्ध रहेको दत्तु जौलजिबी उकु सडक अहिलेसम्म सुचारु हुन सकेको छैन ।


यो सडक अवरुद्ध हुँदा मालिकार्जुन र लेकम गाउँपालिकाका एक दर्जन गाउँका स्थानीयलाई आवतजावतमा समस्या भएको मालिकार्जुन ६ का चन्द्रसिंह धामीले बताए । महाकाली लोकमार्गको साकार, शंकरपुर, पनेबाज, मालिकार्जुन, काँकडाखला, ग्वानी लगायतका ठाउँमा पहिरो गएपछि जोखिम बढेको प्रशासनले जनाएको छ ।


गत वर्ष महाकाली ९ साकार खोलामा सानो पुल बगाएपछि अहिलेसम्म उक्त खोलामा पुल बन्न सकेको छैन । अहिले डाइभर्सन बनाएर सवारी चलाइरहेका छन् । वर्षात भएको दिन त्यस खोलामा पानीको सतह बढ्ने हुँदा यातायातका साधन चलाउन धेरै अप्ठ्यारो हुने गरेको सवारी चालक बनाउँछन् ।


प्रकाशित : भाद्र ६, २०७५ १३:१०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT