कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सधैं बाघको त्रास

निकुञ्जमा बाघको संख्या बढ्दा छेउछाउका सामुदायिक वनमा जोखिम बढ्दो
रूपा गहतराज

नेपालगञ्ज — बाँकेको हब्रहवा र सिधनवा गाउँमा अहिले साँझमा पैदल हिँड्ने मान्छे विरलै भेटिन्छन् । रात नपर्दै गाउँले खानपिन गरी घरभित्र बस्छन् । हिंड्नै परे समूह बनाएर हिंड्छन् ।

सधैं बाघको त्रास

रातिमा निस्कँदा सबैका हातमा धारिला बस्तु हुन्छन् । हत्तपत्त राति शौच गर्न बाहिर निस्किँदैनन् । एकाएक यस्तो परिवर्तन भएको होइन । बाघ आक्रमणबाट सोमबार राप्तीसोनारी–६, फत्तेपुरकी २९ वर्षीया चाँदनी थारुको मृत्यु भएपछि गाउँमा त्रास फैलिएको हो ।

‘डरले रातभर जाग्राम बस्छौं,’ राप्तीसोनारी–६, हब्रहवा गाउँका रामप्रसाद थारुले भने । रातपरेपछि घरबाट परिवारका सदस्यले आत्तिएर फोन गर्ने गरेको उनले सुनाए । उनका दुई छोराछोरी पढ्नका लागि नेपालगन्ज बस्छन् । घरमा पत्नी एक्लै हुन्छिन् । ‘एक्लै बस्न धेरै गाह्रो छ,’ उनले भने, ‘डरले दिसा–पिसाब पनि घरभित्रै गर्ने गरेका छौं ।’ नरभक्षी बाघ नियन्त्रणमा नआउँदा राप्तीपारिका बासिन्दा अहिले त्रसित बनेका हुन् ।

गाउँका महिला घाँस–दाउरा गर्न जंगल पस्नुपर्ने बाध्यता छ । हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार जंगलबाट दाउरा ल्याउन पाइन्छ । गत शनिबार पनि समूह बनाएर उनीहरू दाउरा लिन जंगल पसेका थिए । ‘बाघको डरले समूह बनाएर जंगल गएका थियौं, नहरमै बाघ हिंडेको देख्यौं,’ स्थानीय फूलरानी थारुले भनिन्, ‘गाउँलेलाई फोन गरेर बोलाएपछि भागाभाग भयो र धन्न बाँचियो ।’ जंगलको बीचमा उनीहरूको गाउँ छ । डरैडरमा बाँचिरहेको उनीहरूले बताए । ‘के गर्ने गरिबको भाग्य नै यस्तै जंगलको बीचमै घर बनाएर बस्ने रहेछ,’ सरस्वती थारुले भनिन्, ‘अब त बरु काँचो भात खान्छौं, दाउरा लिन जंगल जाँदैनौं ।’ घरमा पुरुष नहुने परिवार थप डरमा छन् । छोराछोरीलाई कसरी जोगाउने भन्ने चिन्ता सबैको छ । कमलाकुमारी चौधरीले भनिन्, ‘मान्छे खाने बाघलाई समाते त निर्धक्क भइन्थ्यो ।’

राप्तीसोनारी गाउँपालिकाको हब्रहवामा १ सय घर छन् भने सिधनवामा करिब २ सय घरधुरी छन्, जुन जंगलको बीचमा छ । उक्त गाउँपालिकामा २ दर्जनभन्दा बढी सामुदायिक वन छन् । जुन वनमा स्थानीय घाँस–दाउराका लागि निर्भर छन् । बाघको त्रास फैलिएको जंगल राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्छ । बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ्दा छेउछाउका सामुदायिक वनमा बाघ देखिन थालेको हो । डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत गणेश खड्काले राप्तीसोनारी गाउँपालिकाका विभिन्न वडाका वन क्षेत्रमा बाघले मान्छेमाथि आक्रमण गर्ने क्रम बढेपछि नियन्त्रण तथा व्यवस्थापन गर्न आवश्यक प्रक्रिया अगाडि बढाइसकेको बताए ।

बाघलाई खोज्न मंगलबारदेखि डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषका स्वास्थ्य प्राविधिक, स्थानीय जनप्रतिनिधि, वन तथा वातावरण संरक्षण समन्वय समिति कम्दी, सामुदायिक समूह, प्रहरी, नेपाली सेनालगायतको संयुक्त टोली फत्तेपुर जंगलमा परिचालित भएको छ । डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत खड्काले बाघको ताजा पाइला फेला परेपछि सम्भावित स्थानमा आहारास्वरूप एउटा पाडो लगेर छाडिए पनि बाघले नखाएपछि बुधबार अर्को पाडो राखिएको बताए । ‘बस्तीदेखि करिब चार/पाँच किलोमिटरभित्र फत्तेपुर जंगलमा बाघको ताजा पाइला फेला पर्‍यो, त्यसपछि बाघ आउन सक्ने सम्भावित स्थानमा पाडो लगेर राख्यौं तर बाघले खाएन,’ उनले भने, ‘त्यहाँ क्यामेरा पनि जडान गरेका छौं । पाडो खान आउने बाघलाई लठ्याएर नियन्त्रणमा लिन प्राविधिक सहितको टोली जंगलमै बसेको छ ।’

उनका अनुसार पाडोको व्यवस्थापन वडा कार्यालय र राप्तीसोनारी गाउँपालिकाले गरेका हुन् । ‘बाघलाई लठ्याएर नियन्त्रणमा लिने हाम्रो योजना छ,’ उनले भने, ‘बेहोस् भएको बाघलाई व्यवस्थापन गर्नका लागि वाइल्डलाइफ एम्बुलेन्स पनि तयारी अवस्थामा छ ।’ बाघ नियन्त्रण गर्न स्वास्थ्य प्राविधिक टोली सोमबार बेलुका मात्रै बाँकेको राप्तीपारि पुगेको हो । उक्त टोलीमा एक जना भेटेनरी डाक्टरसहित तीन जना प्राविधिक कर्मचारी छन् । फत्तेपुरको मेमानपुरस्थित सबडिभिजन वन कार्यालयमा शिविर खडा गरेर प्राविधिक टोली बाघ नियन्त्रणको काममा खटिएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख दधिलाल कँडेलले बताए ।

बाघको निगरानी गर्न बाँके राष्ट्रिय निकुञ्जले विगत चार दिनदेखि राप्तीपारि क्षेत्रमा दुईवटा हात्तीसहित कर्मचारी तथा सुरक्षाकर्मी परिचालन गरेको छ । बाघ नियन्त्रणमा नआउँदा राप्तीपारिका स्थानीय बासिन्दा निकै त्रसित भएका छन् । बाघको आक्रमणबाट शनिबार राप्तीसोनारी–६ फत्तेपुरकी ३० वर्षीया चाँदनी थारू र बिहीबार राप्ती सोनारी–४ पर्सोनाकी ५४ वर्षीया लीला विष्टको मृत्यु भएको थियो । बाघको आक्रमणबाट बाँकेमा तीन महिनामा चार जनाको ज्यान गइसकेको छ ।

प्रकाशित : माघ २, २०७८ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?