कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अफगान जनतालाई नेपाली मल्हम

‘यो नेपालको प्रशंसनीय काम हो । जसले के देखाउँछ भने नेपाल अरूसँग मात्र सहयोग लिँदैन, आवश्यक पर्दा अरूलाई पनि सहयोग गर्छ भन्ने प्रस्ट पारेको छ ।’

काठमाडौँ — अफगान जनतालाई नेपालले मानवीय सहायता गरेको छ । करिब १० टन औषधि, लत्ताकपडा र घरायसी सामान सहयोग गरेको हो । तालिवानले सत्ता हातमा लिएपछि गत अगस्टमा अमेरिकी सैनिकले अफगानिस्तान छाडेका थिए । त्यसयता अफगानिस्तान अस्तव्यस्त छ ।

अफगान जनतालाई नेपाली मल्हम

ठूलो मानवीय संकट हुने देखेर संयुक्त राष्ट्रसंघले सदस्य मुलुकहरूलाई मानवीय सहायताका लागि आग्रह गरेको थियो । त्यसअनुसार नेपालले पनि सहयोग गरेको हो । मानवीय राहत सामग्री लिएर परराष्ट्र मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्सालको नेतृत्वमा रहेको नेपाली टोली आइतबार काठमाडौंबाट काबुल पुगेर नेपाली टोली फर्किएको छ ।

कोरोना संक्रमण बढ्दा नेपालले सन् २०२० फेब्रुअरी ७ मा चीनलाई एक लाख मास्क सहयोग गरेको थियो । त्यसबेला तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चिनियाँ राजदूत होउ यान्छीलाई उक्त मास्क काठमाडौंमा हस्तान्तरण गरेका थिए ।

यस पटक काबुल पुर्‍याइएका सामग्रीहरू सहसचिव लम्सालले नेपालका तर्फबाट अफगानिस्तानमा रहेका यूएनका महासचिव एन्टोनियो गुटरेसका अफगानिस्तानका मानवीय सहायता उपविशेष प्रतिनिधि रामिज अलकवारोभलाई हस्तान्तरण गरिन् । ‘यो नेपालको प्रशंसनीय काम हो । जसले के देखाउँछ भने नेपाल अरूसँग मात्र सहयोग लिँदैन, आवश्यक पर्दा अरूलाई पनि सहयोग गर्छ भन्ने प्रस्ट पारेको छ,’ भूराजनीतिक जानकार तथा अवकाश प्राप्त उपरथी विनोज बस्न्यातले भने ।

उनका अनुसार नेपाल दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्ष मुलुकको हिसाबमा पनि काम प्रशंसनीय छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, अवैतनिक महावाणिज्य दूतावास नेपाल, अग्रवाल सेवा केन्द्र, हिमालय एयरलाइन्स लगायत निजी क्षेत्रका अन्य निकाय, संघसंस्था र व्यक्तिहरूले राहत सामग्रीहरू सहयोग गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री नारायण खड्काले आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टोलीलाई बिदाइ गर्दै अफगान जनताका लागि अन्तर्राष्ट्रिय सहयोग ठप्प भएको अवस्थामा नेपालको मानवीय सहयोग पुर्‍याउनुपर्छ भनेर विशेष जहाजबाट सामग्री पठाउन लागेको बताए । उनले भनेका थिए– ‘सरकारलाई कुनै व्ययभार नपारी निजी क्षेत्रकै सहयोगबाट हामीले इतिहासमै पहिलो पटक यस्तो सहयोग गर्न लागेका छौं ।’

प्रकाशित : माघ ३, २०७८ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?