कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिटामोल अभाव कायमै

राजु चौधरी

काठमाडौँ — सरकारले शुक्रबारसम्म सिटामोलको आपूर्ति व्यवस्था सहज बनाउने बताए पनि बजारमा अभाव कायमै देखिएको छ । कोभिड संक्रमण भइरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले सिटामोललगायत औषधि सहज आपूर्ति व्यवस्था मिलाउन बुधबार मात्रै गृहमन्त्री बालकृष्ण खाँण र मुख्यसचिव शंकर बैरागीलाई निर्देशन दिएका थिए । 

सिटामोल अभाव कायमै

त्यसपछि मुख्यसचिव बैरागीले स्वास्थ्य मन्त्रालयलाई औषधि उत्पादन र आपूर्ति तीव्र पार्न निर्देशन दिएका थिए । लगत्तै औषधि लिमिटेड, औषधि उत्पादक संघ, नेपाल औषधि व्यवसायी संघ, पैठारीकर्तासहितको छलफलपछि औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले शुक्रबारसम्म सहज हुने बताएका थिए । तर, बजारमा अझै सिटामोल सहजै पाइँदैन ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता हरि पंगेनीका अनुसार सिटामोल अझै सहज भइसकेको पाइएको छैन । ‘मुख्यतः बिहीबार र शुक्रबार उपत्यकाका ठूला अस्पतालका फार्मेसीमा अनुगमन गर्‍यौं । दुई दिनमा करिब २८ फार्मेसीमा अनुगमन गर्दा सिटामोल सहज देखेनौं,’ उनले भने, ‘केहीमा थोरै परिमाणमा मात्रै देखियो ।’

सातदोबाटोमा रहेको गोसाइँकुण्ड स्वास्थ्य सेवाले सिटामोल लुकाएको फेला पारेपछि १० हजार जरिवाना गरिएको थियो । विभागको टोलीले बुधबार पुनः दुईवटा फार्मेसीमा अनुगमन गरेको थियो । बिहीबार औषधि व्यवस्था विभागको टोलीसहित १५ फार्मेसीमा अनुगमन गरिएको थियो । शुक्रबार १२ फार्मेसीमा अनुगमन गरेको प्रवक्ता पंगेनीले बताए । ‘७/८ वटा फार्मेसीमा हेर्दा ३ वटामा भेटियो, त्यसमा पनि २/४ पत्ता मात्रै देखिन्छ,’ पंगेनीले भने, ‘४० लाख ट्याब्लेट बजारमा आएपछि अभाव हट्छ । सिटामोल लुकाएर नराख्न निर्देशन दिएका छौं ।’

अनुगमन गरिएको फार्मेसीमध्ये अलका अस्पतालको फार्मेसीमा भने ३७ हजार ५ सय ट्याब्लेट सिटामोल पाइएको थियो । नवयुग फार्मेसीले ८/१० पत्ता सिटामोल लुकाएर राखेको भेटिएको विभागले जनाएको छ । ‘नवयुगमा अनुगमन गर्दा सुरुमा औषधि नभएको भन्दै पन्छिन खोज्यो । तर, ८/१० पत्ता लुकाएर राखेको देखियो,’ उनले भने, ‘अधिकांश फार्मेसीमा त्यस्तै समस्या छ । बिलबिजक जारी नगरेको कसुरमा २/३ फार्मेसीलाई कारबाही गरेका छौं ।’

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले उद्योगहरूबाट उत्पादित सिटामोल बजारमा आपूर्ति भइरहेको बताए । विगत एक हप्ताको तुलनामा सिटामोलको उपलब्धता भएको दाबी उनले गरे । ‘उत्पादन, वितरणको प्रक्रिया सुरु भइसकेको छ । उपत्यका बाहिर त्यति समस्या छैन, अभाव उपत्यकामा हो,’ उनले भने, ‘आपूर्ति सुधार उन्मुख छ । केहीमा पाइएको थिएन, अब पाउन थालेको छ ।’ उनका अनुसार नेपालमा औषधि उत्पादन गर्ने २५ उद्योग छन् । ती उद्योगहरूले क्षमताअनुसार उत्पादन गर्ने जनाएका छन् । आयातकर्ता १२ वटा छन् । जसमध्ये एउटा आयातकर्ताले सिटामोल आयात गरिरहेको जनाएको छ । ‘नेसनल हेल्थ केयरले नेपालभर १० लाख र उपत्यकामा साढे ३ लाख ट्याब्लेट पठाएको छ । औषधि लिमिटेडले पनि पठाएको छ,’ उनले भने, ‘विस्तारै सुधारोन्मुख छ ।’

नेपाल औषधि लिमिटेडका महाप्रबन्धक मोहम्मद साइफुल्लाले बजारमा सिटामोल नियमित पठाइएको बताए । । ‘शुक्रबार साढे ३ लाख ट्याब्लेट पठाएका छौं । केही प्रक्रियामा छन्, तयार हुनेबित्तिकै बजारमा पठाउने गरेका छौं,’ उनले भने, ‘शुक्रबार मुख्यतः टिचिङ अस्पताल परिसरका फार्मेसीहरूलाई जनही २५ सय ट्याब्लेट दिएका छौं ।’

थप सिटामोल बन्ने क्रममा रहेकाले शनिबार नभए आइतबारसम्म वीर, मनमोहनलगायत अस्पतालमा पठाइने उनले बताए । त्यसपश्चात् सिटामोल उपत्यकाबाहिर पठाइने उनले बताए । नेपाल औषधि लिमिटेड घाटामा गएपछि १५ दिनदेखि सिटामोल उत्पादन बन्द थियो । लिमिटेडको घाटा पूर्ति गर्न बोर्डले अर्थ मन्त्रालयसँग १ करोड ६ लाख माग गरेको थियो । अर्थबाट स्रोत सुनिश्चित नभएपछि उद्योग पर्ख र हेरको अवस्थामा थियो । अहिले बजारमा सिटामोलको चरम अभाव देखिएपछि पुनः उत्पादन सुरु गर्न लागेको लिमिटेडले जनाएको छ ।

लिमिटेडले सिटामोल सरकारलाई ७४ पैसामा दिन्छ । सरकारले सर्वसाधारणलाई सित्तैमा दिन्छ । लिमिटेडसँग करिब १० ब्याचका लागि कच्चा पदार्थ मौज्दात छ । एक ब्याचमा ३ लाख २० हजार ट्याब्लेट उत्पादन हुन्छ । जसअनुसार ३० लाखभन्दा बढी ट्याब्लेट उत्पादन गर्न सकिने लिमिटेडले जनाएको छ ।

३ करोड ट्याब्लेटको कच्चा पदार्थ मौज्दातमा

उत्पादन र बजारमा ढुवानी नियमित रहेकाले सिटामोल अभाव नहुने औषधि व्यवस्था विभागले जनाएको छ । कृत्रिम अभाव गर्नेमाथि कारबाहीको चेतावनी दिएको विभागले शुक्रबार विज्ञप्ति जारी गर्दै हाल मौज्दात कच्चा पदार्थबाट करिब तीन करोड चक्की उत्पादन हुन सक्ने भएकाले आत्तिनु नपर्ने जनाएको छ ।

‘औषधि कम्पनीको निरीक्षणमा कच्चा पदार्थको मौज्दात १२ सय ३७ केजी, बजारमा बिक्रीका लागि पठाएको ४ लाख ४९ हजार चक्की, उत्पादनका क्रममा २० लाख र प्राप्त हुने क्रममा रहेको कच्चा पदार्थ १७ हजार केजी रहेको विवरणमा प्राप्त भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : माघ ८, २०७८ ०६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?