कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वास्थ्य मापदण्ड पालनामा दलहरूकै अटेरी

ओमप्रकाश ठाकुर

सर्लाही — कोरोना भाइरसको तेस्रो लहरको बढ्दो जोखिमबीच पनि सर्लाहीमा भीडभाड घटेको छैन । स्थानीय प्रशासनले २५ जनाभन्दा बढी एक स्थानमा जम्मा नहुन निर्देशन गरे पनि अटेरी गर्दै भीडभाड भइरहेको हो । अटेरी गर्नेमा राजनीतिक दलहरू नै बढी छन् । राजनीतिक दलहरूले स्वास्थ्य मापदण्डविपरीत कार्यक्रम गर्दै आएका हुन् । 

जिल्ला प्रशासनले जमघट र भीडभाड घटाउन जारी गरेको सूचनापछि सीके राउत नेतृत्वको पार्टीले किसानलाई मल उपलब्ध गराउनुपर्ने भन्दै सदरमुकामा मलंगवामा प्रदर्शन गरेको छ । लगत्तै प्रदेशको नाम मधेस प्रदेश भएपछि जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा माओबादी केन्द्रले मलंगवामा विजय जुलुस नै निकाले । त्यहाँ माओवादीका जिल्ला तहका नेता, जसपा र लोसपाका जिल्ला तहका नेतासहित सयौंको संख्यामा नेता तथा कार्यकर्ताहरू उपस्थित थिए । जुलुससहित गरिएको कोणसभामा नेताहरूले सम्बोधन गरिरहँदा अधिकांशले मास्कको प्रयोग गरेका थिएनन् । माघ ५ गते जसपा र लोसपाले मनाएको बलिदानी दिवसमा पनि अवस्था उस्तै थियो ।

शुक्रबार नेपाली कांग्रेसको संस्थापन पक्षले लालबन्दीमा तामझामका साथ जिल्ला अधिवेशनको उम्मेदवार घोषणा गर्‍यो, जहाँ सयौंको संख्यामा नेता तथा कार्यकर्ता उपस्थित थिए । त्यहाँ पनि न भौतिक दूरी कायम थियो न त अधिकांशले मास्कको नै प्रयोग गरेका थिए । प्रशासनको निर्देशनलाई कडाइका साथ पालना नहुँदा संक्रमण दिन प्रतिदिन फैलिरहेको नागरिक अगुवा रजनीकान्त झाले बताए । राजनीतिक दलले स्वास्थ्य मापदण्ड पालना नगरी भीडभाडयुक्त कार्यक्रम गर्न छुट दिएकोमा पनि उनले आपत्ति जनाए । ‘राजनीतिक दलले भीड जम्मा पार्ने तथा प्रशासन रमिता हेरेर बसेको छ,’ उनले भने ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले गत आइतबार डीसीसीएमसीको बैठकपछि कोरोना संक्रमण बढ्दै गएकाले अनावश्यक भीडभाड नगर्न सूचना जारी गरेको थियो । भारतसँगको खुला सीमा नाकाका कारण आवतजावत बढ्नुका साथै मानिसहरूको चहलपहल अत्यधिक बढेकाले संक्रमणको जोखिम उच्च रहेको सूचनामा उल्लेख थियो । सामाजिक कार्य गर्नै परे सकेसम्म धेरै ठूलो जमघट नगर्न, भोजभतेर तथा सभासमारोह नगर्न, सामाजिक दूरी कायम गर्न आग्रह गरिएको थियो ।

यसैगरी घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन, नियमित साबुन पानीले हात धुन, सेनिटाइजर प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न सार्वजनिक सेवा प्रवाह, व्यापार तथा व्यवसाय गर्दा अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न पनि सूचनामा भनिएको थियो । स्वास्थ्य सुरक्षा पालना नगरेको पाइएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ । तर प्रशासनको सूचना उल्लंघन गर्दै जमघट र भीडभाड भइरहेको छ । भीडभाड भएको स्थानमा न मास्कको प्रयोग भएको छ न त सेनिटाइजरको नै । सार्वजनिक यातायात तथा विभिन्न हाटबजारमा भीडभाड त्यत्तिकै छ । सर्वसाधारण बिनामास्क आवतजावत तथा किनमेल गरिरहेको भेटिन्छन् ।

प्रकाशित : माघ ९, २०७८ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?