कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पत्रकार विश्वकर्माको मृत्युबारे छानबिन गर्न अस्पतालद्वारा समिति गठन

काठमाडौँ — पत्रकार लालबहादुर (एलबी) विश्वकर्माको मृत्युको घटनाबारे छानबिन गर्न निजामति कर्मचारी अस्पताल (सिभिल)ले छानबिन समिति गठन गरेको छ । अस्पतालका इमर्जेन्सी विभागका प्रमुख डा. दिनेशकुमार लम्सालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन भएको हो ।

पत्रकार विश्वकर्माको मृत्युबारे छानबिन गर्न अस्पतालद्वारा समिति गठन

समितिको सदस्यमा अस्पतालका उपसचिव कृष्ण सापकोटा, शाखा अधिकृत भेषराज घिमिरे र क्यास काउण्टर इन्चार्ज भेषबहादुर बस्नेत रहेका छन् । समितिले तीन दिनभित्र पत्रकार विश्वकर्माको मृत्युमा भएको लापरबाहीबारे सत्य तथ्य सार्वजनिक गर्ने जनाएको छ ।

नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टका अनुसार यसबारे पत्रकार महासंघले पनि अध्ययन गरिरहेको छ । सिभिल अस्पतालले उपचार गर्ने रकम नभएकै कारण पत्रकार विश्वकर्मालाई अर्को अस्पताल लैजान भनेको र त्यहीकारण विश्वकर्माको मृत्यु भएको आफन्तको आरोप छ ।

विश्वकर्माको मृत्युपछि नेपाल पत्रकार महासंघ, क्रियाशील दलित पत्रकार संघ, श्रमजिवी पत्रकार संघ र प्रेस काउन्सिल लगायत संघसंस्थाले समेत निजामति अस्पतालमा पत्रकार विश्वकर्माको उपचारमा भएको लापरवाहीबारे निष्पक्ष छानबिन गर्न माग गरेका थिए । टिभी टुडेमा कार्यरत पत्रकार विश्वकर्माको गत बिहीबार बिहान साढे ३ बजे पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रकाशित : माघ ९, २०७८ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?