कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युरोप लैजाने भन्दै बंगालादेशी कामदारलाई काठमाडौंको ‘श्रम-शिविर’

‘हामी मेची नदीको भेल तरेर नेपाल छिऱ्यौं’
तस्करलाई १ लाख २० हजार टाका बुझाएर काठमाडौं आइपुगेका युवा निर्माण क्षेत्रमा लुकीछिपी काम गरिरहेका छन् तर एक पैसा हात पारेका छैनन्

काठमाडौँ — सुन्दैमा आश्चर्य लाग्ने यो समाचारका सबै विदेशी पात्रहरू पूर्वको सीमावर्ती नदी मेचीको भेल तरेर श्रम गन्तव्यको देश नेपाल आइपुगेका हुन् । त्यसमा पनि नेपालमा ६ महिना ‘काम सिकेर’ युरोप लगिने भन्दै मानव तस्करको प्रलोभनमा तानिएपछि दुई दर्जनभन्दा बढी बंगलादेशी युवा ५ महिनायता काठमाडौंका विभिन्न कन्स्ट्रक्सन साइटमा लुकिछिपी काम गरिरहेकै छन् ।

युरोप लैजाने भन्दै बंगालादेशी कामदारलाई काठमाडौंको ‘श्रम-शिविर’

युरोप ताकेर बंगलादेशबाट हिँडेका २६ वर्षीय अफिज (परिवर्तित नाम) मंगलबार अपराह्न महाराजगन्जको एक सेल्टर हाउसमा भेटिए । ‘कसरी काठमाडौं आइपुग्यौं भन्ने सबै कुरा सम्झन पनि मुस्किल छ,’ उनले सुनाए, ‘हामी ९ जना बंगलादेशको सिलेट सहरबाट बुरीमारी नाका (भारत प्रवेश गर्ने बिन्दु) हुँदै भारत छिरेका थियौं, त्यसपछि सिलिगुडी हुँदै सिमानाको नदी (मेची) मा तैरेर काँकडभिट्टा उत्रियौं ।’

अफिजसँगै टाँसिएर बसेका २३ वर्षे सलिम (परिवर्तित नाम) भने अलिक डराएका झैं देखिन्थे । तैपनि उनले बिस्तारै हिन्दी मिसिएको बंगाली लवजमा सुनाए, ‘मुख्य दलालले आफूसँग रहेका पासपोर्ट, रासन कार्ड र अरू कागजात त्यही नदीको बीचमा पुगेपछि बहाइदिनू भनेको थियो । हामीले त्यसै गर्‍यौं ।’

नेपालमा ६ महिना ‘काम सिकेर’ युरोप लगिने भन्दै मानव तस्करले उनीहरूलाई काठमाडौं ल्याएका हुन् । मेची नदी आडैको सीमावर्ती गलगलिया छेउछाउको भँगालोबाट गत असोज मध्यतिर उनीहरू युरोप जाने सपनाको नदीमा पहिलोपालि हेलिएका थिए । नदीपारि कुनै बंगाली सहायक–दलाल उभिएको हुन्थे, ३–३ जनालाई पालैपालो पारि जान अह्राउँथे, त्यो पनि छिप्पिएको साँझमा ।

‘नदीमा छातीसम्म पानी आएको थियो, धेरै त हिँडेरै पार गर्‍यौं । अलिकति भने पौडिएजस्तो पनि गर्नुपर्‍यो,’ अफिजले सम्झिए, ‘हाम्रो लटका ९ जना वारि आएपछि निथ्रुक्कै भिजेकै अवस्थामा अटो र ट्याक्सीमा राखेर काँकडभिट्टा बजार ल्याइयो ।’ उनका अनुसार त्यहाँ भने नेपाली दलाल थिए । उनैले एक रातका लागि एउटा होटलमा बस्ने र लुगाफाटा फेर्ने व्यवस्था मिलाइदिए । भोलिपल्ट बसमा चढेर उनीहरू काठमाडौं आइपुगे ।

यो यात्रामा सपनाको तानाबाना निकै लामो छ । अफिज र सलिम दुवैले सिलोट सहरमा रहेका मुख्य दलाल अब्दुल मुतिजलाई जनही १ लाख २० हजार टाका (झन्डै १ लाख ७० हजार रुपैयाँ) बुझाएका थिए । गाउँमा बस्ने अब्दुलकी श्रीमतीले त्यो पैसा बुझेकी थिइन् । त्यति रकम बुझाएको सर्त थियो– बुरीमारी नाका हुँदै भारत, सिलिगुडीबाट काँकडभिट्टा छिर्ने । त्यहाँबाट काठमाडौं गएर ६ महिनासम्म निर्माण क्षेत्रमा मजदुरी गर्ने । त्यसबापत मासिक ४० हजार टाका तलब पाइने । ६ महिनापछि युरोप लगिने । ‘यो कुरा ठीकै पनि लाग्यो,’ अफिजले भने, ‘किनभने बंगलादेशबाट युरोप छिर्न १० लाख टाकासम्म तिर्नुपर्छ ।’

नेपाल आएर यी तन्नेरीले ढुंगा–बालुवाको श्रमजीवी काम गरे तर एउटा शिविरमा जस्तो एकान्त घरमा सुत्ने र खाने सुविधा मात्रै पाए । पैसा कहिल्यै हात परेन, न युरोप जाने बाटोबारे फेरि कसैले कुरा निकाल्यो । काठमाडौंमा आएर केही समय बाल मन्दिरभित्रको निर्माण कार्य र पछि धोबीघाटको पानीट्यांकी बनाउनेसहितका काममा बंगाली युवा दत्तचित्तसँग लागेका थिए ।

युरोप जाने भनेर काठमाडौं आइपुगेपछि विभिन्न निर्माण क्षेत्रमा लुकीछिपी काम गरिरहेका बंगाली युवा दुई दर्जनभन्दा बढी पाइएका छन् । अहिले पनि मेचीको भँगालो तरेर युरोप जाने भन्दै बंगाली युवा काठमाडौंतर्फ आइरहेकै छन् । केही भने आउँदै र यो श्रम–शिविरको यथार्थ बुझ्दै खाडी मुलुकमा नेपाली श्रमिक ‘भगौडा’ बनेझैं भागिरहेका छन् । ‘हामीसँगै नेपाल छिरेका ७ जना केटा त्यही बाटो मेची नदी तरेर सिलिगुडी–बुरीमारी हुँदै गाउँ पुगिसके, हामी भने यतै अल्झेका छौं,’ सलिमले भने ।

मानव तस्करीको यो उपाय लगाएर काठमाडौंसम्म ल्याउने मुख्य दलाल अब्दुल मुतिज अहिले पनि काठमाडौंमै बसेर आफूले ल्याएका श्रमिकलाई काममा अह्राइखटाइ गर्न र नयाँ–नयाँ उपाय निकाल्नमा व्यस्त छन् । उनले अहिले ४० हजार टाका थप दिए फेरि त्यही बाटोबाट त्यसैगरी बंगलादेश पुर्‍याइदिने भन्न थालेका छन् । ‘उता घरमा रहेका बाबुआमाले जसरी हुन्छ, यतै फर्केर आइज भनेपछि आश्रय दिने यो संस्थामा ५ दिनअघि आइपुगेका हौं,’ सलिमले सुनाए ।

नेपालका बारेमा अलिअलि सुनेको भए पनि युरोप कहाँ पर्छ भन्नेबारे थाहा नभएको ५ कक्षा मात्रै पढेका अफिज र सलिमले बताए । ‘हामीलाई फकाएर, झुक्याएर यहाँ ल्याइएको हो,’ अफिजले भने, ‘हामी घर फर्कन चाहन्छौं । तर घर फर्कने कुनै उपाय नभएपछि हिजो (सोमबार) बंगलादेश दूतावासमा सम्पर्क गरेका छौं । दूतावासका सरहरू कोरोना भएर अफिस बन्द छ रे । अफिस खुल्नासाथ दूतावास जान्छौं ।’

यसबारेमा दूतावासका अधिकारीसँग कान्तिपुरले सम्पर्क गर्न खोज्दा सम्भव भएन । यो गैरकानुनी काममा संलग्न दलाल अब्दुल मुतिजसँग भने काठमाडौंमै फोन सम्पर्क भयो । ‘तपाईंको गतिविधिबारे जानकारी श्रम विभागमा पुगिसकेको छ, के भन्नुहुन्छ ?’ भन्ने प्रश्न गर्नासाथै निकैबेर अकमकाएका मुतिजले भने, ‘कौन ? पता नहीं ।’ त्यसपछि उनले मोबाइल ‘स्विच अफ’ गरे ।

सिधै गैरकानुनी : श्रम विभाग

बंगलादेशी श्रमिकले काठमाडौंका कन्स्ट्रक्सन साइटमा महिनौंदेखि काम गरिरहेको सूचना आफैंमा नौलो रहेको भन्दै श्रम विभागका महानिर्देशक उमाकान्त आचार्यले बताए । उनले उक्त गतिविधि श्रम ऐनविरुद्ध रहेको उल्लेख गर्दै तत्काल अनुगमन र अनुसन्धान सुरु हुने बताए । ‘श्रम ऐनले इजाजत नलिईकन र श्रम स्वीकृतिबेगर कुनै पनि विदेशीले काम गर्न नपाउने प्रबन्ध गरेको छ,’ उनले भने । महानिर्देशक आचार्यका अनुसार इजाजत लिएर चीन, भारत, बंगलादेश, श्रीलंका, सिंगापुर, कोरिया, जापान र केही युरोपेली मुलुकका करिब ३ सय श्रमिक नेपालमा कार्यरत छन् ।

प्रकाशित : माघ १२, २०७८ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?