कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गैरीगाउँका महिला : गुन्द्री बुनेर जीविका चलाउँदै

अमृता अनमोल

बुटवल — ज्याला मजदुरीको काम गर्ने गैरीगाउँकी सन्जु परियारको दैनिकी अहिले बदलिएको छ । उनी बिहान कुश खोज्न जान्छिन् । दिउँसो त्यही कुशको गुन्द्री र चकटी बुन्छिन् ।

गैरीगाउँका महिला : गुन्द्री बुनेर जीविका चलाउँदै

सरासर बुन्न पाए दिनमा एउटा गुन्द्री बुनिसक्छिन् भने चकटी ३ वटासम्म । गुन्द्री ३ सय ५० देखि ४ सय रुपैयाँ र चकटी १ सयदेखि १ सय ५० रुपैयाँसम्ममा बिक्छ । ‘अरुको घरखेतमा काम गर्न जानुभन्दा आफ्नै घरको आँगनमा काम गर्दा धेरै जाति छ,’ सन्जुले भनिन् , ‘कमाइले घरखर्च पनि धानिएको छ ।’

३५ वर्षे सन्जुले करिब १० वर्षअघिसम्म घर निर्माणमा मजदुरको काम गर्थिन् । घामपानी नभनी काममा खटिनुपर्थ्यो । तर, महिला भएकै कारण आफूसँगै खटेका पुरुषसरह ज्याला पाउदिन थिइन् । त्यही ज्याला पनि ठेकेदारले भनेको समयमा दिँदैनथ्यो । आफैले काम गरेको ज्याला लिन पटक पटक बिन्तीभाउ गर्नुपर्थ्यो । ‘हैरान भएर गुन्द्री‚ चकटी बुन्न थालेकी थिएँ,’ सीताले सुनाइन्, ‘५ जनाको परिवारको खर्च चलाउन बुढाको कमाइ चलाउ‍नु पर्दैन । छोराछोरीको पढाइ खर्च पनि धानिएको छ ।’ उनलाई कुश खोज्न छोराछोरी र पतिले सघाउने गर्छन् ।

देवदह-१० भलुहीको गैरीगाउँका १८ परिवारका महिलाको दैनिकी अहिले गुन्द्री र चकटी बुन्ने छ । उनीहरू बिहान नजिकैको जंगलमा जान्छन् । कुश खोजेर ल्याउँछन् । त्यसलाई भिजाएर दिउसो गुन्द्री बुन्न थाल्छन् । कुश नपाइँदा परालका गुन्द्री र चकटी यसैगरी बुन्छन् । हिउँद होस् या वर्षा; १२ वर्षयता उनीहरू निरन्तर गुन्द्री-चकटी बुनिरहेका छन् ।

घरमा गुन्द्री बुन्दा छोराछोरी हुर्काउन र घरधन्दा गर्न पनि सहज भएको छ । पुरुष निर्धक्क ज्याला मजदुरीमा जान्छन् । महिलाहरूले तयार गरेका गुन्द्री र चकटी घरघरैबाट नगद बिक्री हुन्छ । यसबाट सुकुम्बासी बस्तीमा बसेका उनीहरूको घरखर्च चल्छ । पतिको कमाइ बच्छ । गुद्री उत्पादक मीना बर्देवा धेरैजसो बुटवलका व्यापारीले थोक मूल्यमा किन्ने बताइन् । उनले भनिन्, ‘पूजाआजा र शुभकार्यमा कुशका चकटी र गुन्द्री काम लाग्ने रहेछ । टाढा-टाढाबाट सोझै किन्न पनि आउनुहुन्छ ।’ महिलालाई थोकमा भन्दा खुद्रामा बेच्दा फाइदा हुन्छ । तर, धेरै सामान हुदा थोकमै बेचेर कटाउनुपर्ने उनीहरूले बताए ।

गाउँमा कुशका गुन्द्री बुन्न सिकाउने अगुवा हुन् सुकमाया राई । उनले गुन्द्री बुन्न र बेच्न थालेपछि अरु लोभिएर यता लागेका हुन् । जसले अहिले व्यावसायिक बन्न सघाएको छ । सुकमायाको कथा बेग्लै छ । उमेर छँदा उनी अरुको मेलापात जान्थिन् । पति र आफ्नो कमाइ मिलाएर घरखर्च चलाउँथिन् । श्रीमान्‌को मृत्युपछि जण्डिस लागेर छोराको मृत्यु भयो । बुहारीले आफ्नै सुर गरिन् । यसपछि सुकमायालाई परिवारमा २ नातिको पालन पोषण र संरक्षणको जिम्मेवारी थपियो । त्यसपछि कुशबाट गुन्द्री बुन्ने उपाय निकालेकी हुन् ।

१३ वर्षअघिदेखि नजिकका जंगलमा जाने र कुश ल्याउने गर्न थालिन् । त्यसलाई भिजाएर गुन्द्री बुन्न थालिन् । पुजापाठ र शुभकार्य गर्नेहरूले किन्न थाले । उनीहरूको मागअनुसार परालका गुन्द्री र चकटी पनि बुन्दै गइन् । ‘गुन्द्री चकटीको माग बढेपछि छिमेकी दिदीबहिनीलाई पनि यसमा लाग्न भनेकी थिए,’ सुकमायाले भनिन्, ‘समान नबिकेर थन्काउन पर्दैन । उधारो बेच्न पर्दैन । घरखर्च चलेकै छ ।’

चुरे क्षेत्रको जंगलमा कुश पाइन्छ । बुटवल र देवदहका जंगलमा केही कुश छ । नवलपरासी पश्चिमको वर्दघाट र सुनवल क्षेत्रका जंगलमा भने धेरै र बाक्लो कुश पाइन्छ । आसपासका जंगलको कुश सकिए पनि देवदहका महिलाहरू कुश खोज्न त्यहाँसम्म पुग्छन् । एकैपटक धेरै जम्मा गर्छन् र गाडीमा ओसार्छन् । उनीहरू यस वर्ष कपिलवस्तुको वाणगंगा बंगलमा समेत कुश लिन पुगे । ‘धेरैले गुन्द्री चकटी बुन्न थालेपछि आसपासका जंगलको कुश सकियो । त्यसैले टाढा पुगेर ल्याउन परेको हो,’ गुन्द्री व्यवसायी मीना विकले भनिन् । ठिक्क पारेको कुश वा पराल भए मीनाले ५ वटासम्म चकटी बुन्छिन् । ‘दिनमा ५ वटासम्म चकटी बुन्छु । खर्च कटाएर ४ सय जति बच्छ,’ उनले सुनाइन् ।

महिलाहरूले मेहनत गरेअनुसार गुन्द्री र चकटीले बजार भाउ भने पाएका छैनन् । बिचौलियाले बढी फाइदा लिँदा उनीहरू मर्कामा छन् । गैरीगाउँका महिलाहरूले बेच्ने ४ सय रुपैयाँ पर्ने कुशका गुन्द्रीलाई बुटवलमा उपभोक्ताले ८ सयदेखि एक हजार रुपैयाँसम्ममा किन्नुपर्छ । १ सयदेखि १ सय ५० रुपैयाँमा बेच्ने चकटीलाई ४ देखि ५ सय रुपैयाँ पर्छ ।

परालका गुन्द्री र चकटीमा पनि यस्तै अन्तर छ । वर्षौंदेखि गुन्द्री बुन्ने यी महिलाका पक्षमा बोलिदिने कोही छैन । व्यवसायी सीता बर्देवाले यसैले पनि मेहनतअनुसारको रकम नपाएको हुनसक्ने बताइन् । ‘सरकारले धागो किन्न सहुलियत दिने र गुन्द्री चकटीको मूल्य तोकिदिने हो भने पनि धेरै सजिलो हुन्थ्यो,’ उनले भनिन् ।

वैज्ञानिकहरूका अनुसार कुश बहुउपयोगी वनस्पति हो । यसको प्रयोगले विकीरणजन्य किरणहरूलाई निस्तेज पार्ने र पानीमा कुशका टुक्राहरू राख्दा अक्सिजनको मात्र बढ्ने विश्वास छ । ढोकामा राख्दा खराब तथा नकारात्मक ऊर्जालाई हटाउने र ध्यान, साधना गर्दा कुशबाट बनेका गुन्द्रीमा बस्दा लाभदायक हुने मान्यता छ ।

कुशबाट गुन्द्री चकटीमात्रै होइन‚ कुशन, ब्याग, टोकरी लगायत सजावटका सामग्री पनि बनाउन सकिन्छ । व्यवसायी बर्देवाले भनिन्, ‘हामीलाई एक दुईपटक तालिम दिने हो भने अरु सामग्री पनि बनाएर बेच्थ्यौं । अलि बढी कमाउन सक्थ्यौं ।’

प्रकाशित : माघ १३, २०७८ २१:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?