कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

व्यक्तिको सहमतिबिना सामाजिक सञ्जालमा फोटो/भिडियो पोस्ट नगर्न गृहको आग्रह

काठमाडौँ — सरकारले सार्वजनिक स्थलमा मजाक, ख्यालठट्टा वा मस्करी (प्र्यांक) गर्ने नाममा व्यक्तिको जथाभावी फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट नगर्न आग्रह गरेको छ ।

व्यक्तिको सहमतिबिना सामाजिक सञ्जालमा फोटो/भिडियो पोस्ट नगर्न गृहको आग्रह

गोप्य भिडियो तयार गर्ने र सामाजिक सञ्जालमा राख्ने कार्यहरु भइरहेको भन्ने गुनासो आएको भन्दै बिहीबार गृहमन्त्रालयले विज्ञप्तिमार्फत् व्यक्तिको सहमतिबिना कुनै पनि प्रकारको फोटो‚ भिडियो सामाजिक सञ्जालमा प्रकाशन गर्न निषेध गरेको हो ।

‘व्यक्तिलाई जानकारी नै नदिई सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै पनि प्रकारको भिडियोग्राफी गरी सामाजिक सञ्जालहरूमा प्रकाशन गर्ने क्रियाकलापमा संलग्न जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही हुने व्यवहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ,’ मन्त्रालयका सहसचिव एवम् प्रवक्ता फणिन्द्रमणि पोखरेलले भनेका छन् ।

मन्त्रालयले सार्वजनिक स्थलहरूमा गरिएका भद्दा प्रकृतिका ख्यालठट्टाबाट सिकार भएका व्यक्तिमा देखिन सक्ने मानसिक तनाव, उत्पन्न हुन सक्ने वादविवाद र द्वन्द्व, सामाजिक सद्भाव र शान्ति सुव्यवस्थामा पर्न सक्ने नकारात्मक प्रभाव एवम् व्यक्तिगत गोपनीयता, प्रतिष्ठामा पर्न सक्ने असर समेतलाई दृष्टिगत गरी व्यक्तिको अनुमतिबिना कुनै पनि प्रकारको तस्बिर लिन र सामाजिक सञ्जालमा प्रकाशन गर्न नमिल्ने जनाएको छ ।

यदि कसैले त्यस्तो गरे कानुनबमोजिम कारबाही हुने गृहले चेतावनी दिएको छ ।

प्रकाशित : माघ १३, २०७८ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?