कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना संक्रमित एमाले अध्यक्ष ओली सार्वजनिक कार्यक्रममा

भक्तपुरकी सीडीओ शर्मा भन्छिन्- मलाई जानकारी छैन

काठमाडौँ — प्रमुख प्रतिपक्षी दलका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कोरोना संक्रमण भएको चौथो दिनमा नै सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । उनलाई माघ ९ गते कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरिएको थियो ।

कोरोना संक्रमित एमाले अध्यक्ष ओली सार्वजनिक कार्यक्रममा

एमालेको भ्रातृ संगठन युवा संघले बुधबार माघ १२ गते आयोजना गरेको रक्तदान कार्यक्रममा कोरोना संक्रमित ओली पुगेका हुन् । युवा संघले भक्तपुर बालकोटस्थित ओलीको निवास नजिकै रक्तदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा सांसदसमेत रहेका एमाले स्थायी कमिटी सदस्य गोकुल बाँस्कोटा, युवा संघका इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य महेश बस्नेत, युवा संघका अध्यक्ष किरण पौडेललगायत दर्जनौं नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

कार्यक्रममा ओलीको पूर्णकदको तस्बिरसहितको ब्यानरमा 'शीघ्र स्वास्थ्यलाभको कामना श्रद्धेय अध्यक्ष केपी शर्मा ओली' लेखिएको थियो । रक्तदान कार्यक्रम ओलीको स्वास्थ्यलाभको कामना गर्दै साताव्यापी रुपमा देशभरी गर्ने बताइएको छ । कार्यक्रममा पुगेका ओलीले आफूलाई कोरोना संक्रमण भएको पनि बताएका थिए ।

क्यानडा नेपाल नामक युट्युब च्यानलले अपलोड गरेको भिडियोमा ओलीले 'मलाई त रिपोर्टअनुसार छोयो भन्ने छ' भनेका छन् । यस्तै ओली कार्यक्रमस्थल पुग्दा कार्यकर्ताहरूले 'भीड नगर्नुस्' भनेर सहभागीलाई दूरी कायम गरेर बस्न भनिरहेका थिए । भीडबाट 'स्वास्थ्य लाभको कामना छ' भनेर कार्यकर्ताले भनिरहँदा ओलीले 'थ्यांकु सो मच' भन्दै जवाफ फर्काइरहेका थिए ।

ओलीले 'तपाईंहरू आफै पनि डिस्ट्यान्स मेन्टेन गरेर बस्नुस् न' भन्दा एउटी महिला कार्यकर्ताले 'हामीलाई बा भएपछि केही पनि हुँदैन, हामी स्ट्रोङ छौं' भनिरहेको भिडियोमा सुनिन्छ । कोरोना संक्रमित ओली 'ऊर्जा प्रदान गर्न र सप्ताहव्यापी रक्तदान कार्यक्रममा ऐक्यबद्धता जनाउन' उपस्थित भएको कार्यक्रम सञ्चालकले भनिरहेका थिए ।

कार्यक्रम आयोजक युवा संघका अध्यक्ष किरण पौडेल 'आज हाम्रो अध्यक्ष केपी शर्मा ओली पनि कोरोना संक्रमणबाट ग्रसित भइरहनुभएको छ, कोरोना संक्रमणबाट ग्रसित भइरहँदा त्यसले उहाँलाई गलाउँछ भन्ने हामी कसैलाई विश्वास छैन' भनिरहेका थिए । उनले ओलीलाई कोरोनाको सामान्य संक्रमण भएको भन्दै भाषण गरिरहेका थिए ।

एमालेको केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले माघ ११ गते ओलीको स्वास्थ्यबारे जानकारी दिन एउटा विज्ञप्ति जारी गरेका थिए । 'अध्यक्ष ओलीले कोभिड संक्रमणका कारण विगत चार दिनदेखि भक्तपुर बालकोटस्थित आफ्नो निवासमा आराम गरिरहनुभएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ,' विज्ञप्तिमा भनिएको थियो ।

त्यसरी विज्ञप्ति जारी गरेको एक दिन पछि नै ओली सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन् ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कोरोना संक्रमित ओली सहभागी कार्यक्रमबारे आफूलाई जानकारी नभएको बताइन् । उनले भनिन्, 'त्यो कार्यक्रमबारे मलाई जानकारी छैन । तपाईंले भनेपछि मलाई थाहा भयो । यसबारे मलाई केही पनि जानकारी छैन । विषयवस्तु नबुझिकन केही पनि भन्दिनँ ।'

जिल्ला प्रशासन कार्यालय भक्तपुरले माघ ६ गतेदेखि कोरोना संक्रमण फैलिन नदिनका लागि एक आदेश जारी गरेको थियो । शर्माले नै जारी गरेको आदेशमा कोरोनाको लक्षण देखिए पनि ५ दिन क्वारेन्टिनमा बस्न भनिएको छ । 'जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड-१९ को लक्षण देखिएमा अनिवार्य रूपमा पाँच दिन क्वारेन्टिन बस्ने र ५ दिनिपछि कोभिड- १९ परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा मात्र काममा आउने,' आदेशमा भनिएको छ ।

त्यस्तै, आदेशमा कुनै पनि प्रकारका आमसभा, जुलुस, सभा, भेला, मेला लगायतका कुनै पनि गतिविधि गर्न प्रशासनले रोक लगाएको उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि कोरोना संक्रमण पुष्टि भएका वा संक्रमणको लक्षण देखिएकाहरूलाई कम्तिमा पनि सात दिन आइसोलेसनमा बस्न हरेक दिन अनुरोध गरिरहेको छ । हाल नेपालमा तेस्रो लहरको कारक बनेको कोरोनाको ओमिक्रोन भेरिएन्ट सबैभन्दा बढी संक्रामक रहेको पुष्टि भइसकेको छ । जसका कारण दिनहुँ परीक्षण गराउनेमध्ये झण्डै आधाको रिपोर्ट पोजिटिभ आउने गरेको छ ।

'प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री ओलीकै सिको गरेर जनताले पनि आइसोलेसनमा बस्न छोडे भने हामीले के नै गर्न सक्छौं र?' कोरोना संक्रमणकै कारण हाल आइसोलेसनमा रहेका एक चिकित्सकले नाम उल्लेख नगरीदिन अनुरोध गर्दै भने, 'उहाँ जस्तो ठूलो नेताले यति संवेदनशील विषयलाई मजाक बनाउनु हुँदैन । बेलायत लकडाउनको समयमा प्रधानमन्त्री निवासमा भेला गरिएको भनेर संसद्मै त्यति बबाल भइरहेको छ । यहाँ संक्रमित नै रमाइलो गर्दै हिँड्नुभएको छ ।'

प्रकाशित : माघ १३, २०७८ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?