कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विकृतिको चाङमा उभिएका प्रधानन्यायाधीशलाई महाभियोग : सांसद विश्वकर्मा

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको कांग्रेसका सचेतक मीन विश्वकर्माले न्यायपालिकामा विकृतिको चाङ लगाउने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाइएको बताएका छन् । प्रतिनिधिसभामा महाभियोग प्रस्तावमाथि आइतबार छलफल गर्दै विश्वकर्माले उक्त प्रस्ताव पारित गर्न आग्रह गरे । 

विकृतिको चाङमा उभिएका प्रधानन्यायाधीशलाई महाभियोग : सांसद विश्वकर्मा

महाभियोगलाई लिएर सत्ता र प्रतिपक्षमा उभिन नहुने सांसद विश्वकर्माको भनाइ थियो । संसद्‌ले न्यायपालिकामा देखिएको विकृति अन्त्य गर्नुपर्छ भनेर न्यायालय र सडकबाट आवाज उठेपछि महाभियोग लगाइएको उनले बताए । 'विकृति, विसंगतिको चाङमा उभिएका प्रधानन्यायाधीशलाई महाभियोग लगाएर निलम्बन गरिएको छ । अब सिफारिस समितिले उपयुक्त सिफारिस गरेर महाभियोग प्रस्ताव पास गर्नुपर्छ,' उनले भने ।

प्रधानन्यायाधीश जबराले पदीय आचरणअनुसार काम नगरेकाले र न्यायालयको नेतृत्व गर्न नसकेकाले महाभियोग लगाउनुपरेको पनि विश्वकर्माको भनाइ थियो । 'आफ्नो पदीय आचरणअनुसार काम गर्न नसकेको, विवादित, अन्यायपूर्ण फैसला गरेको, बिचौलियाको प्रयोग गरेर मुद्दा प्रभावित गरेको भन्ने कुरा उठेका थिए,' उनले भने, 'यी मुद्दा संसद्‌ले होइन सडकबाट कानुन व्यवसायी मात्रै होइन सबै न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, आमनागरिकले कुरा उठाएका हुन् । सडकमा वकिल कालो कोट लगाएर आन्दोलन गरिरहेका थिए । त्यसमा सांसद, संसद्, सभामुख खोइ भनिरहेका थिए । मानिस न्याय नपाएर तड्पिएका थिए । त्यो कहालीलाग्दो अवस्थामा थियो ।'

महाभियोगलाई सही ढंगबाट टुंगोमा पुर्‍याउनुपर्ने सांसद विश्वकर्माको भनाइ थियो । प्रतिपक्षका सांसदहरूले किन ढिलो छलफलमा ल्याएको भन्ने प्रश्नको जवाफमा विश्वकर्माले भने, 'यो मुद्दालाई सही ढंगबाट टुंगो लगाउनुपर्छ । विलम्ब भयो भन्ने गुनासो छ, विलम्ब भएको हामीलाई पनि लागेको छ । सबैलाई लागेको छ । विलम्बको कारण के हो ? ९ महिनासम्म संसद् सुचारु गर्न सकेनौं । त्यसपछि निर्वाचन आयो, बजेट आयो,' उनले भने ।

प्रकाशित : श्रावण २२, २०७९ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?