कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालमा अब ३८६ प्रजातिका माकुरा

माकुरा अध्ययन नेपाली अनुसन्धानकर्ताको कम प्राथमिकतामा
नेपालमा माकुराको अध्ययन गरेर विदेशीले विज्ञानकै लागि नयाँ पत्ता लगाउँछन्, नेपालमा भने अनुसन्धानकर्ताको चासोमा पर्दैन ।
गोविन्द पोखरेल

काठमाडौँ — नेपालमा ३८६ प्रजातिका माकुरा रहेको पाइएको छ । वन विज्ञान क्याम्पस पोखराका विद्यार्थीहरुले गरेको खोजबाट थप २११ प्रजातिका माकुरा थपिएका हुन् । यसअघि नेपालमा १७५ प्रजातिका माकुरा रहेको अभिलेख थियो ।

नेपालमा अब ३८६ प्रजातिका माकुरा

संस्कार सुवेदीसहितको टोलीले पत्ता लगाएको यी प्रजातिबारे हेलियोन जर्नलमा दुई साताअघि प्रकासित भएको छ । अनुसन्धानकर्ता सुवेदीले कान्तिपुरसित भने,‘नेपालमा माकुरा सम्बन्धीको अनुसन्धान सन् १९१० देखि नै भएको थियो तर अनुसन्धान सुस्त गतिमा भएको छ ।’

प्राध्यापक वसन्तकुमार थापाको सन् १९९५मा प्रकासित आलेख अनुसार नेपालमा १४४ प्रजातिका माकुरा पाइन्थे । त्यसपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सन् २०१८मा प्रकासित गरेको विवरण अनुसार नेपालमा १७५ प्रजातिका माकुरा पाइने उल्लेख छ । दक्षिण एसियाको चेकलिस्टमा भने नेपालमा २ सय २२ प्रजाति पाइने उल्लेख छ ।

सुवेदीको अनुसन्धानमा ३४ परिवार र १३५ विभिन्न जेनस गरी ३८६ प्रजातिको अभिलेख गरेको हो । नेपालमा पाइएका यी माकुरा प्रजातिमध्ये २५१ वटा नेपालबाट मात्रै अभिलेख भएका छन् । ‘हाम्रो अध्ययन अनुसार २५१ प्रजातिका माकुरा नेपालबाहेक संसारका अन्य ठाउँबाट अभिलेख भएका छैनन्,’ उनले भने, ‘नेपालमा अझै धेरै प्रजातिका माकुरा भेटिन सक्छन्, हाम्रोमा माकुराहरुको खोजसुस्त गतिले भएको छ ।’

प्रजातिको विविधताको हिसाबले माकुरा संसारको सातौं धेरै पाइएको जीवमा पर्छ । माकुराहरुलाई ‘अर्कान्वाइड्स’ पनि भनिन्छ । वर्ल्ड स्पाइडर क्याटलगका अनुसार हालसम्म विश्वमा ५० हजार २ सय ६२ प्रजातिका माकुरा छन् ।

क्षेत्रफलको हिसाबले हेर्ने हो भने नेपालमा चीन र भारतभन्दा ५ गुणा बढी माकुरा छन् भने अनुसन्धानमा भने ४० गुणाले तल रहेको उनले बताए ।

नेपालमा कम अनुसन्धान भएको प्रजाति

नेपालमा पाइएका माकुराहरुमध्ये धेरैको आईयूसीएन स्टाटसमा पनि उल्लेख भएको छैन । कम अनुसन्धान भएकाले नेपालमा धेरै प्रजातिका माकुरा अभिलेख हुन सक्ने माकुरा अनुसन्धानकर्ता किरण मास्के बताउँछन् ।

नेपालमा भेटिएका माकुराहरुमध्ये अहिलेसम्म ४ हजार मिटरसम्म पाइएको छ । ढाड नभएका जीवहरुमा पर्ने माकुरा प्रजाति सम्बन्धी खोज,अनुसन्धान नेपालमा भएको छैन । यस्तै, माकुरा पहिचान गर्ने ‘ट्याक्सोनोमिस्ट’हरु पनि नेपालमा कमै छन् । सानो जीव हुने भएकाले यसको पहिचानका लागि विशेष गरेर डाइसेक्टिङ माइक्रोस्कोपको आवश्यकता पर्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा यो माइक्रोस्कोप भएपनि रिसर्चका लागि पर्याप्त नभएको अनुसन्धानकर्ताहरुको भनाइ छ । माकुराको पहिचान गर्नका लागि प्राय: यसको लिंग हेरेर प्रजाति छुट्टयाइने गरिन्छ ।

नेपालमा मात्रै पाइएको ‘टारेन्टुला’ प्रजातिको माकुरामा अनुसन्धान गर्दै आएका मास्केले यसअघि चितवन राष्ट्रिय निकुञ्जबाट पहिलो पटक नेपालका लागि ९ वटा माकुरा प्रजाति पत्ता लगाएका थिए । ती सबै ‘जम्पिङ स्पाइडर’ अन्तर्गत रहेको उनले जानकारी दिए ।

माकुराले पारिस्थितीकीय प्रणालीलाई सन्तुलन गर्न महत्वपूर्ण भूमिका खेल्ने मास्के बताउँछन् । ‘माकुराले हानिकारक किरालाई खाइदिने गर्छ,’ विगत ५ वर्षदेखि माकुरामै अनुसन्धान गर्दै आएका मास्के भन्छन्, ‘माकुरा नहुँदो त, हाम्रो धानखेतमा धेरै हानिकारक किरा हुन्थे । तीनले उत्पादकत्व घटाइदिन्थे ।’ पारस्थितिकीय प्रणालीको सन्तुलन, हरेक प्राणीले पृथ्वीमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न पनि माकुराको महत्व रहेको उनले बताउँछन् ।

उनी टेरान्टुला माकुरा प्रजातिबारे पनि अनुसन्धान गरिरहेका छन् । यो प्रजातिको माकुराको शरीर ठूलो हुने र रौंले ढाकिएको हुन्छ । यो नेपालमा सन् १९९६मा काठमाडौं र कास्कीबाट पत्ता लागेको थियो । यसको वैज्ञानिक नाम ह्यापालोकोस्मिका नेपालेन्सिस रहेको छ । यो प्रजाति गाईगोठ भएको ठाउँमा पाइन्छ । गोठ वरीपरीको पर्खालमा पनि पाइने उनले बताए ।

भेटिएका माकुरा प्रजातिमध्ये ल्याक्ट्रोडेक्टस प्रजाति विषालु माकुराको हो । तीमध्ये केही माकुराहरु ढुकेर बस्ने र आहारा खान्छन् । ‘सिट वेर्भस’ प्रजातिहरु जालो बनाएर छाडेर जान्छन् । ती जालोमा अन्य किराहरु टाँसिन्छन् र तीनलाई आफ्नो आहारा बनाउँछन् ।

धेरै माकुराहरु हानिकारक छैनन् । उनीहरुले बालीमा लाग्ने किरा नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्छन् । अधिकांस मांसाहारी छन् । उनीहरु झिँगालाई ट्रायाप गर्ने वा अन्य किराहरुलाई खाने गर्छन् । नेपालमा पछिल्लो क्रममा माकुराले भ्यागुतालाई पनि खाएको पाइएको थियो । सो सम्बन्धी फाइलोमेडुसा जर्नल अफ हर्पिटोलोजीमा समेत प्रकासित भएको छ ।

माकुरा आफ्नो आहारालाई सिधै निल्न सक्दैनन् । शिकारलाई आफ्नो ‘डाइजेस्टिभ फ्लयुड’मार्फत घोचेर मार्छन अनि तरल पदार्थका अवशेषहरु निल्ने गरेको छन् ।

माकुराको जालो

माकुराका विशेष गरेर ४ प्रकारका जालो हुन्छन् । होबो प्रजातिको माकुराले मध्य भागमा साँघुरो र बाहिरी भाग अलिक खुला भएको जालो बनाउँछन् जसलाई ‘सोली आकारको जालो’ भनिन्छ ।

अध्याँरो ठाउँमा देखिने गुजल्टिएको अवस्थाको जालो चाही ‘कब–वेब’ अर्थात ‘ट्यांगल्ड वेब’ जालो हुन् । ब्ल्याक विडो प्रजातिको माकुराले यस किसिमको जालो बनाउने गर्छ । चादर आकारको देखिने जालो चाही सिट वेब प्रकारको जालो हुन् । यस्ता जालोहरु रुखहरुमा झुन्डिएको अवस्थामा देखिन्छ । गोलाकार जस्तो देखिने जालो चाही ‘यल्लो गार्डेन स्पाइडर’ले बनाउँछ । यस्ता जालो घाम लागेको बेला, ट्रक जादा खुला रुपमा सेतो रंगको जस्तो देखिने अनुसन्धानकर्ताहरु बताउँछन् ।

‘साल्टिसिडे’ प्रजातिहरु उफ्रने खालका माकुरा हुन् । यिनका दुईवटा ठूला आँखा हुन्छन् । ठूलो जालो नबनाएपनि उनीहरु बस्नका लागि सानो जालो बनाउने अनुसन्धानकर्ता सुवेदी बताउँछन् ।

‘लिनिफिडे’ प्रजातिहरु चाही जमिनमा जालो बनाउने गर्छन् । यिनलाई ‘मनी स्पाइडर’ पनि भनिन्छ । यी प्रजातिहरु सानो हुने र लुगामा पनि जालो बनाउने सुवेदीले बताए । बलोनिङ प्रजातिहरु हावा चलिरहेको बेला बहाबसँगै जालो फालेर अन्यत्र जाने उनले बताए ।

माकुराका सबै प्रजातिले जालो बनाउँदैनन् तर जालो बनाउन प्रयोग गरिने ‘सिल्क’ उत्पादन गर्छन् । माकुरामा हुने विशेष ग्रन्थीबाट प्रोटिनबाट निर्मित ‘सिल्क’ उत्पादन गर्छन् । धागो जस्तो हुने यो ‘प्रोटिक सिल्क’ माकुरा चढ्न, सुरक्षित स्थानमा जान, फुलहरु राख्न, शिकारलाई बेर्न, गुँड बनाउनलगायत अन्य कार्यका लागि प्रयोग गर्छन् । उनीहरु फुललाई जालेले बेरेर बनाइएको ‘एग स्याक’ मा राख्छन् । अधिकांशको आँखा ८ वटा भएपनि केही प्रजातिको ६ वटा हुने गर्छ ।

अनुसन्धानकर्ता सुवेदीका अनुसार हाम्रो घरमा पाइने माकुरा चाही ‘फोलिसिडे’ प्रजातिका हुन् । यिनलाई सेलर स्पाइडर पनि भनिन्छ । लामो खुट्टा हुने भएकाले यिनलाई अनुसन्धानकर्ताहरु ‘ड्याडी लङ लेग्स’ पनि भन्छन् ।

प्रजनन्का बेला पोथीलाई आकर्षित गराउनका लागि माकुराले जालोमा ‘भाइब्रेसन’ गराउँछन् । अनुसन्धानकर्ता सुवेदीले भने,‘जालोमा भाइब्रेसन आएको थाहा पाएपछि गुँडबाट माकुरा निस्किन्छ अनि उपयुक्त लाग्यो भने उनीहरुबीच संसर्ग हुन्छ ।’

विदेशीले नेपालबाट पत्ता लगाए विज्ञानका लागि नयाँ प्रजाति

सन् २०२०मा नेपालबाटै खोजेर लगिएको माकुरा प्रजाति विश्वकै लागि नयाँ प्रजातिको माकुरा भएको पत्ता लाग्यो । रसिया एकेडेमी अफ साइन्सेन्सका अनुसन्धानकर्ता एन्ड्रेई भी टानास्भिचले गरेको अनुसन्धानले हिमालाफुर्का जेनसका दुई वटा प्रजाति संसारकै लागि नयाँ भएको पत्ता लगाएका हुन् ।

सन् २०२१मा प्रकासित उनको वैज्ञानिक आलेकले हिमालाफुर्का मार्टेन्सी र हिमालाफुर्का स्चावालेरी प्रजाति विज्ञानकै लागि नयाँ थियो ।

अनुसन्धानकर्ता मास्के कान्तिपुरसँग भन्छन्,‘माकुराको अध्ययन गर्ने हो भने नेपालका लागि धेरै नै सम्भावना छ । यो विषय अनुसन्धानकर्ताहरुको आँखामा नपरेको कारणले गर्दा ओझेलमा परेको छ ।’

तस्बिर सौजन्य: संस्कार सुवेदी

प्रकाशित : श्रावण २२, २०७९ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?