कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाघ सम्मेलनको तयारीबारे छलफल गर्न बाघ पाइने देशहरू दिल्लीमा

सेप्टेम्बर पहिलो साता रुसको भ्लादिभोस्तोकमा हुने 'दोस्रो बाघ सम्मेलन'को तयारीबारे छलफल गर्न बाघ पाइने देशका सरकारी अधिकारी, सहयोगी संस्था र विज्ञहरु नयाँ दिल्लीमा भेला भएका छन् ।
अब्दुल्लाह मियाँ

काठमाडौँ — रुसको भ्लादिभोस्तोकमा हुने बाघ सम्मेलनको तयारीबारे छलफल गर्न बाघ पाइने देशका सरकारी अधिकारी, बाघ विज्ञ र सहयोगी संस्थाका प्रतिनिधिहरू बुधबारदेखि भारतको राजधानी नयाँ दिल्लीमा भेला भएका छन् ।

बाघ सम्मेलनको तयारीबारे छलफल गर्न बाघ पाइने देशहरू दिल्लीमा

नेपालसहित बंगलादेश, भुटान, कम्बोडिया, चीन, भारत, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, रुस, थाइल्यान्ड र भियतनाम बाघ पाइने देश हुन् । चीन र इण्डोनेशिया भने तयारी बैठकमा सहभागी छैनन् ।

भारतको वन, वातावरण तथा जलवायु परिवर्तन मन्त्रालयको आयोजनामा भएको बैठकमा नेपालबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निवर्तमान महानिर्देशक रामचन्द्र कँडेल नेतृत्वको टोलीले भाग लिएको छ । टोलीमा विभागका उपमहानिर्देशक वेदकुमार ढकाल, इकोलोजिस्ट गणेश पन्त, बाघ संरक्षणमा सहयोगी संस्थाहरू – जेडएसएल नेपालका भगवानराज दाहाल, डब्लूडब्लूएफ नेपालका शिवराज भट्ट र राष्ट्रिय प्रकृति संरक्षण कोषका नरेश सुवेदी छन् ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भ्लादिभोस्तोकमा भदौ २० (सेप्टेम्बर ५) मा दोस्रो बाघ सम्मेलन आयोजना गरेका छन् । बैठकमा सहभागी इकोलोजिस्ट पन्तले बुधवारदेखि सुरु भएको बैठकमा अर्को महिना रुसमा हुने दोस्रो बाघ सम्मेलनको तयारीबारे छलफल सुरु भएको जानकारी दिए ।

गत माघमा मलेसियाको क्वालालाम्पुरमा भएको बाघ पाइने देशका मन्त्रीहरूको चौथो बैठक (फोर्थ एसिया मिनिस्ट्रियल कन्फ्रेन्स अन टाइटर कन्जर्भेसन) ले पुटिनले आयोजना गर्न लागेको सम्मेलनलाई स्वीकार गर्दै सम्मेलनमा सहभागी हुने निर्णय गरेको थियो । बाघ सम्मेलनको एक महिनाअघि बाघ पाइने देशका प्रतिनिधि, विज्ञ र सहयोगी संस्थाका प्रतिनिधिहरू अहिलेसम्मको प्रगति र तयारीबारे छलफल गर्न जुटेका हुन् ।

बुधबारको बैठकमा निवर्तमान महानिर्देशक कँडेलले बाघ संरक्षणमा नेपालले गरेका गतिविधिबारे प्रस्तुती दिएका छन् । उनले नेपालको बाघ संरक्षणको इतिहासदेखि हालसम्मको अवस्थाबारे प्रष्ट्याएका छन् । उनले नेपालले प्रतिबद्धता जनाएभन्दा बढी संख्यामा बाघ बढेको समेत उल्लेख गरे ।

बाघ पाइने देशका कार्यकारीहरूको पहिलो सम्मेलन सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा भएको थियो । सम्मेलनमा सहभागी देशहरूले सन् २०२२ सम्ममा प्राकृतिक बासस्थानमा बाघको संख्या सन् २०१० मा भन्दा दोब्बर बनाउने संकल्प गरेका थिए । त्यतिबेला नेपालमा बाघको संख्या १ सय २१ थियो भने विश्वभर ३ हजार २ सय थियो ।

कँडेलले अघिल्लो साता सार्वजनिक बाघ गणनाअनुसार करिब १२ वर्षमा नेपालमा बाघको संख्या करिब तेब्बरले बढेको समेत बताए । पछिल्लो गणनाले देशभर बाघको संख्या ३५५ देखाएको छ । बासस्थान विस्तार र सुधार, प्रभावकारी गस्ती, समुदायको साथ–सहयोग र कानुन कार्यान्वयनका कारण बाघको संख्या बढ्न मद्दत पुगेको उनले उल्लेख गरे । उनले हालैको ‘बाघ सर्वेक्षण प्रतिवेदन २०२२’ भारतका वन, वातावरण र जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादवलाई हस्तान्तरण गरेका थिए ।

बैठकमा ‘ग्लोबल टाइगर फोरम’का महासचिव राजेश गोपालले बाघ पाइने १३ वटै देशमा बाघको संरक्षणको अवस्थाबारे प्रस्तुती दिए भने भारतको ‘नेशनल टाइगर कन्जरभेसन अथोरिटी’का वन महानिरीक्षक अमित मल्लिकले भारतमा बाघ संरक्षणको प्रत्यत्नबारे प्रस्तुती दिएका थिए ।

बिहीबारको बैठकमा दोस्रो बाघ सम्मेलनको घोषणा पत्रको मस्यौदाबारे पनि छलफल हुनेछ । घोषणापत्रको मस्यौदा भने अर्को महिना भ्लादिभोस्तोकमा हुने सम्मेलनका बेला मात्र सार्वजनिक गरिने इकोलोजिस्ट पन्तले दिल्लीबाट कान्तिपुरलाई बताए ।

यस्तै, दक्षिण पूर्वी एसियाली बाघ रिकभरी कार्ययोजना र ग्लोबल टाइगर रिकभरी प्लान (जीटीआरपी) मा बाघ पाइने देशका गतिविधिबारे पनि छलफल हुने कार्यक्रम तालिका छ । रुसी अधिकारीहरूले दोस्रो बाघ सम्मेलनको तयारीबारे पनि अन्य मुलुकहरूलाई बिफिङ गर्नेछन् । ‘सँगै बाघ पाइने देशहरूले द्विपक्षीय र क्षेत्रीय लगाब र भावी योजनाबारे पनि छलफल र अनुभव आदान–प्रदान हुनेछन्,’ कार्यतालिकामा छ । अर्को महिना हुने दोस्रो बाघ सम्मेलनमा १३ वटै देशहरूले संरक्षणमा सन् २०१० पछि पाएको सफलताको कथा सुनाउने छन् ।


प्रकाशित : श्रावण २५, २०७९ २०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?