पढिरहेका किशोरीमाथि एसिड (फोटो फिचरसहित)

प्रतिमा बाँस्कोटा

काठमाडौं — एसएलसी दिने तयारीमा रहेका दुई किशोरीमाथि राजधानीमा आइतबार एसिड आक्रमण भएको छ । वसन्तपुरस्थित 'ए प्लस' ट्युसन सेन्टरभित्र कक्षामा रहेका किशोरीमाथि मास्क लगाएर आएका एक व्यक्तिले एसिडको बोत्तल प्रहार गरेको हो ।

एसिड लागेर रामेछाप घर भई जैसिदेवल बस्ने १६ वषर्ीया संगीता मगर र रौतहट घर भई भीमसेनस्थान बस्ने १५ वषर्ीया सीमा बस्नेत घाइते भएका छन् ।
गम्भीर घाइते भएकी मगरको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अनुहार, दाहिने छाती र तिघ्रामा गम्भीर चोट लागेको छ ।
मगर बोल्न सक्ने भए पनि शरीरको आधा भाग जलेका कारण स्थिति गम्भीर रहेको अस्पताल स्रोतले जनायो । बस्नेतको वीर अस्पतालमा उपचार भइरहेको छ । उनको अनुहार जलेको छ । प्रहरीका अनुसार जम्पर र मास्क लगाएर बिहान कक्षामा अचानक छिरेको व्यक्ति किशोरीमाथि एसिडको बोत्तल फ्याँकेर फरार भएको थियो ।
प्रहरीले आइतबार रातिसम्म आक्रमणकारीको पहिचानसमेत गर्न सकेको छैन । महानगरीय प्रहरी वृत्त जनसेवाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वेद बिष्टले बदला लिने हेतुले किशोरीमाथि आक्रमण भएको हुन सक्ने बताए । 'प्रेम सम्बन्धका कारण यस्तो घटना भएको हो कि भनेर अनुसन्धान गरिरहेका छौं,' उनले भने ।
प्रहरीका एक उच्च अधिकारीले त्यही स्थानमा ट्युसन पढ्न आउने अर्की एक किशोरीलाई हानेको एसिड मगरलाई लागेको बताए । ती अधिकारीका अनुसार एसएलसीकै तयारी गरेकी ती किशोरीलाई स्थानीय एक युवकले पिछा गर्ने गरेका थिए । पिछा गर्ने गरेको सुनाएपछि किशोरीका आमाबुवाले त्यो युवकलाई गाली गरेका थिए । प्रहरीले ती किशोरी र उनका अभिभावकलाई समेत प्रहरी वृत्तमा ल्याएर सोधपुछ गरेको छ । उनीहरूलाई थप सोधपुछका लागि महानगरीय प्रहरी वृत्त कालिमाटीको महिला सेलमा पठाउने तयारी गरेको छ ।
'त्यसैको बदला लिन उसले किशोरीमाथि आक्रमण गरेको हुन सक्छ,' अनुसन्धान अधिकारीले भने, 'आशंका गरिएका युवकको खोजी गरिरहेका छौं ।' प्रहरी स्रोतका अनुसार आइतबार ती किशोरी बस्ने बेन्चमा सरिता मगर बसेकी थिइन् । केही दिनदेखि नै पिछा गरिरहेका ती युवकले अचानक एसिड फ्याँकेको हुन सक्ने प्रहरीको अनुमान छ ।
गम्भीर घाइते मगर शान्ति निकुञ्ज हाइस्कुल मरुहिटीमा दस कक्षामा पढ्छिन् । अचानक अनुहारमा एसिड परेपछि उनी रुँदै घर पुगेकी थिइन् । उनको शरीरमा लगाएको कपडाको आधाभन्दा धेरै भाग एसिडले डढाएको थियो । सुरुमा उपचारका लागि वीर अस्पताल लगिएकी मगरलाई थप उपचारार्थ काठमाडौं मेडिकल कलेज लगिएको हो ।
रौतहट घर भएकी बस्नेत कान्ति ईश्वरी कन्या हाइस्कुलमा दस कक्षामा पढ्छिन् । प्रहरीले किशोरीहरूमाथि एसिडले आक्रमण गर्नेविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्ने तयारी गरिरहेको छ । कुनै पनि प्रकारले कसैको ज्यान लिन गरिने कोसिस ज्यान मार्ने उद्योगअन्तर्गत पर्छ ।


'एक्कासि बोत्तल फ्याँक्यो'

सीमा बस्नेत (वीर अस्पतालको शय्यामा)
म एक सातादेखि 'ए प्लस' ट्युसन सेन्टरमा पढ्न गइरहेकी थिएँ । बिहान ५ बजेदेखि कक्षा सुरु हुन्थ्यो । आज बिहान गणित पढाउने शिक्षक नआउने भएकाले अलि ढिलो पुगेकी थिएँ । ट्युसन सेन्टरको दोस्रो बेञ्चमा बसेर हामी 'एकाउन्ट' पढिरहेका थियौं । म संगीतासित सिक्दै थिएँ । अचानक भुइँचालो आए जसरी ढोका कसैले खोल्यो । हामी तीनै जनाले झस्किएर ढोकातर्फ हेर्‍यौं । एउटा केटो उभिएको थियो । उसको एउटा हात पछाडिपट्टि थियो । किन आयो ? को थियो बुझ्न नपाउँदै त्यसले सिसाको बोत्तल संगीताको दाहिने छातीमा फ्याँक्यो । बोत्तल फुट्यो । बोत्तलको एसिड मेरो अनुहारमा पनि लाग्यो । सुरुमा त त्यो के हो भन्नेसमेत थाहा थिएन । साथी पोलेर रुन थाली । म पनि रोएँ । त्यहाँबाट निस्किएर दुवै जना आ-आफ्नो घरतर्फ दौडिएर गयौं । ट्युसन पढ्ने ठाउँ मेरो डेरादेखि ५ मिनेट टाढा छ । म दौडँदै घर जाँदा एक जना छिमेकी दिदीले मलाई अनुहार पानीले धुन लगाउनुभयो । मैले अनुहार धोएँ । तर मुख पोल्न छाडेन । घर पुगेपछि हजुरबुवा र आमाले मलाई अस्पताल ल्याउनुभयो । संगीतालाई त झन् धेरै लागेको छ । कसले किन हान्यो केही थाहा छैन । (कुराकानीमा आधारित)

तस्बिरहरुः निमेषजङ्ग राई/ईकान्तिपुर




























प्रकाशित : फाल्गुन १०, २०७१ १०:५९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

छ करोडको अकबरे खुर्सानी निकासी

चन्द्र कार्की

तेह्रथुम — जिल्लावाट यस वर्ष ६ करोड रुपैयाँको अकबरे खुर्सानी निर्यात भएको छ । व्यावसायिक अकबरे खुर्सानी खेतीमा लागेका किसानले जेठदेखि माघ मसान्तसम्म यति मूल्य बराबरको खुर्सानी बाहिर पठाएको कृषि कार्यालयका वरिष्ठ अधिकृत मोहनकुमार यादवले वताए ।


अलैंची र अदुवापछि जिल्लाको प्रमुख नगदेबालीको रूपमा अकबरे खुर्सानी आएको छ । यसका बिरुवा, फल र वियाँ विक्री गरेर किसानले राम्रो लाभ लिन थालेका छन् । उत्पादित अग्र्यानिक अकबरे खुर्सानीको माग भारतीय वजारबाट आउन थालेपछि यसको व्यावसायिक खेती मौलाएको हो । 
उत्पादित खुर्सानी पूर्वी तराई हुँदै भारतका सिलिगुढी, दार्जिलिङ, सिक्किम, कालेम्पुङ मेघालयलगायतका बजारसम्म जाने कृषि कार्यालयले जनाएको छ । पछिल्लो समय हङकङ, सिंगापुरबाट समेत माग वढ्न थालेको छ । स्थानीय वजारमा प्रतिकेजी २ सय ५० देखि ४ सय ५० रुपैयाँसम्ममा बिक्री भइरहेको अकबरे खुर्सानीको यहाँका २० गाविसमा व्यावसायिक रूपमा खेती हुने गरेको छ । पिरो प्रजातिका ७ प्रकारका खुर्सानी यहाँ पाइन्छन् । ठूलो डल्ले, सानो डल्ले, गोलो लाम्चे, चिप्लो लाम्चेलगायतका आकारका अकबरे खुर्सानी किसानले खेती गर्दै आएका छन् ।
हावापानीको हिसाबले १ हजारदेखि १ हजार ९ सय मिटरको उचाइसम्म अकबरे खुर्सानीको खेती गर्न सकिने प्राविधिकहरूको भनाइ छ । कम मेहनत, लगानी र क्षेत्रफलमा पनि धेरै उत्पादन गर्न सकिने भएकाले व्यावसायिक अकबरे खुर्सानी खेतीमा लागेको आम्वुङ ७ का खुर्सानी किसान चन्द्रकुमार श्रेष्ठले बताए । '२ हजार रुपैयाँ लगानी गर्दा १६ हजार रुपैयाँ आम्दानी भयो,' उनले भने, 'आउँदो सिजनमा लगानी र क्षेत्रफल बढाएर खुर्सानी रोप्ने सोचाइमा छु ।' 
यो वर्ष जिल्लामा किसानले ० हेक्टर क्षेत्रफलमा अकबरे खुर्सानी खेती गरेका थिए । 
 
 

प्रकाशित : फाल्गुन १०, २०७१ १०:५६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT