कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ऐतिहासिक विद्यालय खण्डहरमा परिणत

लीलानाथ घिमिरे

भोटसिपा (सिन्धुपाल्चोक) — सुरे तामाङले भर्खरै ६ कक्षा उत्तीर्ण गरे । उनी माथिल्लो कक्षामा पढ्न जाने उत्साहका साथ तयारीमा थिए । त्यसका लागि विद्यालयबाट उनले ७ कक्षाको किताब लगिसकेका थिए ।

ऐतिहासिक विद्यालय खण्डहरमा परिणत
आइतबार विद्यालय खुल्ने दिनको उनी अधिरताका साथ प्रतीक्षामा थिए । 
उनी विद्यालय जाने दिन आउनु अघि शनीबार आएको महाभुकम्पले उनको स्कुल सीपा तिनधारा जनता माद्यमिक विद्यालयलाई खण्डहरमा परिणत गरिदियो । ‘विद्यालको यस्तो हाल देख्दा रुन मन लाग्छ,’ उनले आखा रसिला पार्दै भने, यसलाई कसरी पहिलेको अबस्थामा ल्याउन सकिएला ? हाम्रो पढाइ कहिले सुचारु होला ।’
विद्यालयका ७ बटा भवन छन् । तीमध्ये एउटै सद्दे छैनन् । भुकम्पनिरोधक प्रविधि प्रयोग गरेर बनाइएको भनिएका भवनसमेत भत्किएका छन् । कार्यालय रहेको भवनका सबै भित्ता ढलेका छन् । कार्यालयमा रहेका पुस्तक, पत्रिका, विद्यार्थी/शिक्षकका हाजिरी रजिस्टर जताततै छरिएका छन् । दराज, कुर्सी, टेवल लडेका छन् । त्यसलाई सम्हाल्न विद्यालयमा भुकम्प गएका यतिका दिन वितिसक्दा कोही आएको छैन ।
विद्यालयकी कार्यालय सहयोगी सुनिता तामाङ विद्यालयकै स्वामित्वमा रहेको भवनमा बस्दै आएकी थिइन् । उनका ४ जनाको परिवार त्यही थियो । उनी खाना खानमात्र लागेकी थिइन् । भुकम्पको धक्काले उनका  आमाछोरीलाई खोल्सातिर हुत्याइ दियो । ‘हामी त्यहाबाट बल्ल उठेर डाडामा गएर बस्यौं, उनले भनिन्, त्यसको आधा घन्टासम्म बहोस भएछौं । होसमा आउदा आफू काम गर्ने विद्यालयको हालत हेरिनसक्नु थियो ।’ उनलाई छरपस्ट रहेका विद्यालयका सामग्रीको सुरक्षा गर्ने जागर अझै चलेको छैन ।  
सीपा तीनधारा मावि यस क्षेत्रको सम्भवत सबैभन्दा पूरानो इतिहास भएको विद्यालय हो । त्यस विद्यालयको शिक्षक रहेर भर्खरै अर्को स्कुलमा रमाना भएका स्थानीय सुरेशकृष्ण श्रेष्ठका अनुसार विक्रम सम्बत २००४ सालमा स्थापना भएको सिपातीनधारा प्राथमिक विद्यालय, कमला प्रावि र बीपी प्राविलाई गाभेर द्वन्द्वकालमा प्रस्तावित मावि बनाइएको थियो । अहिले यसमा करिव ४ सय ५० विद्यार्थी अध्ययन गर्छन् । विद्यालयमा १४ जना शिक्षक र एक जना कार्यालय सहयोगी छन् ।श्रेष्ठका अनुसार यस विद्यालयले हरेक बर्ष एसएलसीमा राम्रो नतिजा ल्याउदै आएको थियो ।
विद्यालय खण्डहरमा परिणत भएपछि आफ्ना बालबच्चाको पढाइ के हुने हो भन्ने चिन्ता अभिभावकलाई छाएको छ । ‘कुनै भवनमा कक्षा सञ्चालन गर्न सक्ने अबस्था छैन, स्थानीय अभिभावक राम तामाङले भने, ‘बालबच्चाले अब कसरी पढ्लान् र !’ उनीहरुको गाउँका पूरै घर भुकम्पले क्षतिग्रस्त भएका छन् । स्कुले बालबालिका अभिभावकसगै पालमुनी रात काट्दै आएका छन् । विद्यालयको यस्तो अबस्था भएपछि अभिभावकहरुलाई आफ्नो भन्दा छोराछोरीको भविष्यको चिन्ता थपिएको छ । सरकारले क्षतिग्रस्त विद्यालय पुननिर्माणको काम प्राथमिकता दिएर अगाडि बढाउनु पर्ने तामाङले बताए । 

प्रकाशित : वैशाख १९, २०७२ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?