कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मध्यान्ह काम गर्न रोक

दोहा — तापक्रम बढेपछि कतार सरकारले मध्यान्हको समयमा बाहिरी क्षेत्रमा काम गर्न रोक लगाएको छ। उसले बिहान ११:३० बजेदेखि दिउँसो ३ बजेसम्म रोक लगाएको हो।


श्रम तथा सामाजिक मन्त्रालयका अनुसार सोमबार जुन १५ (जेठ ३२) बाट लागू हुने गरी अगस्ट ३१ सम्ममा मध्यान्ह काममा लगाउन नपाउने व्यवस्था गरेको हो। ‘सरकारको नियमअनुसार गर्मी समय भर दिउसोको समयमा बाहिर क्षेत्रमा काममा लगाउन पूर्ण रुपमा रोक लगाएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ, ‘यसलाई उल्लंघन गरिएमा रोजगारदातालाई कारबाही गरिनेछ।’
निर्माण क्षेत्रमा कार्यरत नेपालीसहित विदेशी कामदारलाई यसबाट ठूलो राहत मिलेको छ। ‘बिहान ८ बजेबाटै एकदमै बोल्न थाल्छ,’ दोहाको मुसरिफ प्रोजेक्टमा काम गर्ने तनहुँका सुमन मल्लले भने, ‘११ बजेसम्म थेग्न पनि निकै गार्‍हो हुन्छ।’ ठूला ठूला प्रोजेक्टमा सरकारको नियमलाई पछ्याउँदै कम्पनीहरूले काम गर्ने समय पनि परिवर्तन गरेको छ। रातीको डिउटी दिउँसो ३ बजेदेखि बिहान १ बजेसम्म र बिहानको डिउटी बिहान १ देखि ११ बजेसम्म तय गरेको छ। ‘हामीलाई यही रूपमा काम गर्न कम्पनीले सूचना दिएको छ,’ महोत्तरीका बलराम रायले भने, ‘यसले तातोबाट पोल्नुबाट त जोगिन्छ।’
गर्मीमा काम गर्न धेरै कामदारहरू कार्यस्थलमै ढल्ने गर्छन्। ‘धेरै साथीहरू ढेलेको देख्छु,’ स्याङ्जाका रतन सापकोटाले भने, ‘शरीरमा रहेको नुन पसिना भएर बग्छ। त्यस्तो उनीहरू ढल्छन्।’
कतारमा रहेका नेपाली डाक्टर नरेन्द्र शाक्यले यस्तो बेला कामदारले विशेष ध्यान दिनुपर्ने बताउँछ। ‘यो समय सबैभन्दा होसियारी पुर्‍याउनुपर्छ। घाममा काम गर्न सुरक्षाका सबै उपायलाई कामदारले आफ्नो लागि अपनाउनुपर्छ,’ उनले भने, ‘बारम्बार पानी पिउने, शितलमा आराम गर्ने, तुरुन्तै चिसो नबस्ने गर्नुपर्छ।’
कतारमा झन्डै चार लाख नेपाली कार्यरत छन्। त्यसको ६० प्रतिशत नेपाली बाहिरी क्षेत्रमा काम गर्छन्। उच्च रक्तचाप र मुटुका रोगी भएका कामदारहरू बढी जोखिममा पर्ने डा. शाक्यले बताए।

प्रकाशित : असार ११, २०७२ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?