कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आत्मनिर्भर बन्दै दुर्गमका महिला

इलाम — इरौटार ७ की रूपा राईलाई पढाइ छाडेपछि के गर्ने भन्ने चिन्ताले सताएको थियो । तर अघिल्लो वर्ष स्थानीय महिला समूहले गाउँघरमै सिलाइकटाइ तालिम दिएपछि अहिले त्यस्तो अत्यास हटेको छ ।

आत्मनिर्भर बन्दै दुर्गमका महिला

समूहले दिएको सिलाइ मेसिनबाट रूपाले घरै बसेर गरेको व्यवसाय आयआर्जनको माध्यम 

बनेको छ । उनी जस्तै इरौटार ८ की मीना कार्की पनि घरै सिलाइकटाइ काम गर्छिन् । 
जिल्लाकै विकट दक्षिणी इरौटारमा चेतना विस्तार र स्वावलम्बी बन्न महिलाले नै क्रियाशीलता बढाएपछि धेरैलाई व्यावसायिक बन्ने अवसर मिलेको हो । भौगोलिक रूपमा विकट भएसँगै सामाजिक, आर्थिक र शैक्षिकलगायत क्षेत्रमा यहाँका महिला कमजोर देखिएका थिए । अघिल्ला वर्ष लक्षित वर्गअन्तर्गतको रकमसमेत पूरा नपाएका महिलाले पछिल्लो समय निर्देशिकाबमोजिम रकम निकासा गराएर काम थालेका हुन् । महिलालाई नेतृत्व विकाससँगै चेतना विस्तरका लागि उद्घोषण तालिम, आयआर्जनमा प्रत्यक्ष लाभ पुर्‍याउने उद्देश्यले सीपमूलक सिलाइकटाइ तालिम, प्रस्ताव लेखन, टोपी सुइटर बुनाइको सीप सिकाइएको थियो ।
क्षमता विकास र उद्घोषण कलाका लागि महिला आकर्षित छन् । सामाजिक संघ संस्थादेखि राजनीतिक क्षेत्रमा कार्यरत र एसएलसी उत्तीर्ण महिलाको ध्यान यसतर्फ खिचेको छ । ‘सभा सम्मेलन र सम्बन्धित निकायमा आफ्ना कुरा निर्धक्क राख्न सक्ने बन्न उद्घोषण तालिम लिएकी हुँ,’ इरौटार ८ की सुनिता लेप्चाले भनिन्, ‘सहभागी ३० मध्ये धेरैले गाउँस्तरमा हुने कार्यक्रम सञ्चालनदेखि स्थानीय रेडियोमा कार्यक्रम सञ्चालन गर्ने सपना बुनेका छन् ।’
सभासमारोहमात्र होइन, गाउँका सामान्य कार्यक्रमसमेत संयोजन गर्न समस्या भएपछि उद्घोषण कला सिकाएको महिला सशक्तीकरण समूहकी कोषाध्यक्ष बिमला सुनुवारले बताइन् । उनी भन्छिन्, अपेक्षाभन्दा धेरै महिलाको सहभागिताले हर्षित छौं । गाउँकै विकट मानिने जिरीखिम्ती, मालवासे, आले, देवानछाप, बहुवनका महिला पनि यसमा सहभागी छन् । यो आवमा महिला सशक्तीकरणका लागि २ लाख ९० हजार विनियोजन भएको छ । ‘केही वर्षअघिसम्म महिला शीर्षकको के कति रकम छुट्टिन्थ्यो पत्तै हुँदैन थियो,’ अध्यक्ष इन्द्रवती राईले भनिन्, ‘अहिले भने हामीले पाउने सबै बजेटको काम गरिरहेका छौं ।’ महिलाले हरेक गतिविधि सञ्चालन गर्दा गाविसकै पिछडिएको क्षेत्र र समुदायकालाई लक्षित गर्ने गरेका छन् ।

प्रकाशित : पुस १६, २०७३ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?