कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल फेरि केन्यासँग हार्‍यो

विश्व वरीयतामा नेपाल २० औं स्थानमा
विनोद पाण्डे

काठमाडौ — केन्यासँग लगातार दोस्रो खेलमा पराजित भएपछि नेपाललेे विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिता चौथो स्थानमा टुंगाएको छ। नामिबियामा भइरहेको प्रतियोगिताको तेस्रो स्थानको प्लेअफ खेलमा शनिबार केन्याले नेपाललाई १५ रनले पराजित गर्‍यो।

नेपाल फेरि केन्यासँग हार्‍यो

अघिल्लो दिन केन्यासँग ५ विकेटको हार बेहोर्दा नेपाल डिभिजन-१ मा उक्लन असफल भएको थियो। यससँगै नेपाल ५० ओभर खेलको विश्व वरीयता क्रममा एक स्थान माथि उक्लँदै २० औंमा पुगेको छ। शनिबार नै भएको फाइनलमा नामिबियालाई ८ विकेटले पराजित गर्दै नेदरल्यान्ड्स डिभिजन-२ विजेता बन्यो। रेलिगेसन परिसकेका टिमबीचको खेलमा युगान्डाले क्यानडालाई ८ विकेटले पराजित गर्‍यो।
विन्डहोकस्थित एफिज पार्कमा टस जितेको नेपालले केन्यालाई निर्धारित ५० ओभरमा ९ विकेट गुमाई २ सय ८ रनमात्र बनाउन दियो। जवाफमा नेपाल ४७ ओभरमा १ सय ९३ रनमै खुम्चियो। अन्तिममा आउट भएका शक्ति गौचनले २८ बलमा ४ रनमात्र बनाए। विनोद भण्डारी र उपकप्तान ज्ञानेन्द्र मल्लले शतकीय साझेदारी गर्दा नेपाल सजिलो विजयको नजिक देखिएको थियो। अन्तिम खेल अगाडिसम्म कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लबाहेक कुनै खेलाडीले १ सय रनको  साझेदारी गरेका थिएनन्। नेपालको मध्यक्रम शनिबारको खेलमा पनि त्यस्तै भयो र हातैमा आएको खेल गुमाउन पुग्यो।
सुवास खकुरेलले पहिलो ओभरमै दुई चौका प्रहार गरी अघिल्लो ५ खेलमा आफ्नो असफलता बिर्साउने प्रयास गरेका थिए। तर तेस्रो ओभरमै उनी १० रनमा आउट भए। सागर पुनका लागि प्रतियोगिता बिर्सनलायक नै बन्यो। उनी ११ रनमा आउट भए। पारस पहिलो बलमै आउट भए।
विनोद भण्डारीले ७३ रन बनाए। राष्ट्रिय टिमबाट ५० ओभरको खेलमा यो उनको पहिलो अर्धशतक हो। ८३ बल खेलेका विनोदले ६ चौका र २ छक्का प्रहार गरे। उनले ज्ञानेन्द्रसँग चौथो विकेटका लागि १ सय ७ रनको साझेदारी गरे। प्रतियोगितामा नेपाली खेलाडीको यो केवल दोस्रो शतकीय साझेदारी हो। ज्ञानेन्द्रले ७२ बल खेलेर ४ चौकासहित ४८ रन बनाए।
२९ औं ओभरमा ज्ञानेन्द्र आउट भएसँगै नेपाल दबाबमा आएको थियो। उनी आउट हुँदा नेपालको १ सय ४२ रन थियो। ५ ओभरपछि विनोद पनि आउट भए। आरिफ शेख ५, सोमपाल कामी शून्य र भुवन कार्की १ रनमा आउट भए। शरद भेषावकर क्रिजमा रहुन्जेल नेपालको आशा थियो। ४५औं ओभरमा शरद नेपालको स्कोर १ सय ९० रन हुँदा आउट भए। ५७ बल खेलेका उनले १ चौका प्रहार गरे। यसअघि ओपनर नरेन्द्र पटेलले ४४ रन बनाई केन्याको इनिङ्स तानेका थिए। ५७ बल खेलेका उनले ८ चौका प्रहार गरे। केन्याले ६९ रन बनाउँदा ५ विकेट गुमाइसकेको थियो। राकेप पटेल र नेल्सन ओढिएम्बोले ७१ रनको साझेदारी गरी केन्याको आशा बढाए। अघिल्लो दिन नेपालविरुद्ध नै अर्धशतक बनाएका राकेपले ३२ रन बनाए। ओढिएम्बोले ७६ बलको सामना गर्दै १ चौकासहित ४८ रन बनाए। नेहमिहा ओढिएम्बोले १७ बलमा २ चौका र २ छक्कासहित २५ रन बनाई केन्याको स्कोरलाई २ सय रन नघाएका थिए।
नेपालका सोमपालले ३ विकेट लिए। सुरुआतको २ विकेट लिएका उनले १० ओभरमा २ मेडन राख्दै ४१ रन खर्चे। सागरले २ तथा शक्ति र प्रतियोगितामा पहिलो खेल खेलिरहेका भुवनले १ विकेट लिए।






 

प्रकाशित : माघ ११, २०७१ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?