कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिलो दुई शव विमानस्थलमा

एयरएसिया विमान दुर्घटना प्रकरण

सुराबाया (बीबीसी) — आफन्तहरूको पर्खाइबीच दुर्घटनाग्रस्त एयर एसिया उडान क्युजेड ८५०१ का दुई शवहरू बुधबार इन्डोनेसियाको सुराबाया विमानस्थलमा ल्याइएको छ ।

पहिलो दुई शव विमानस्थलमा

शवहरूलाई दुर्घटनास्थलबाट सीधै पांगकालान बुनस्थित अस्पतालमा राखिँदै छ । आवश्यक चिकित्सकीय जाँचपछि त्यहाँबाट सुराबायाको जुन्डा विमानस्थलमा ल्याइँदै छ । पाँच शव अस्पतालमै छन् । प्राप्त शवमा चार पुरुष र तीन महिलाका छन् । एक शव फलाइट अटेनडेन्टको छ । लाइफ ज्याकेट लगाएको एक शवको पहिचान हुन नसकेको खोज तथा उद्धार अधिकारी टाटांग जेनुदीनले बताए ।
पीडितको पहिचानका लागि परिवारजन र विमान कर्मचारीका परिवारजनसँग डीएनए नमुना परीक्षणमा सहयोग पुर्‍याउन आग्रह गरिएको छ । तीन दिनभन्दा बढी समयसम्म पानीमा रहेकोले शवको पहिचान कठिन भएको छ । अवशेषहरूको पहिचानपछि सार्वजनिक घोषणा गरिने सुरबायाका अधिकारीहरूले बताए । चालक दलका सात सदस्यसहित १ सय ६२ यात्रुसहित सुराबायाबाट सिंगापुरका लागि उडेको एयरबस ए ३२०-२०० आइतबार बिहान एकाएक हराएको थियो । विमानमा १ सय ३७ वयष्क, १७ बालबालिका, एक शिशु, दुई चालक र पाँच कर्मचारी सवार थिए ।
राष्ट्रिय खोज तथा उद्धार दलको दुई दिनको प्रयासपछि मंगलबार अपराह्न इन्डोनेसियातर्फ पर्ने बोर्नियो टापुको पांगकालान बुन सहरको दक्षिण-पश्चिमस्थित कारिमाता जल क्षेत्रमा उक्त विमानको अवशेष र यात्रुको सरसमानसहित शवहरू फेला परेका थिए । सात शव निकालिसकिएको अधिकारीहरूले बताएका छन् । तर, खराब मौसमले बुधबार उद्धार कार्यमा अवरोध उत्पन्न गरिरहेको छ । तीव्र हावा र २ मिटरसम्म उठ्ने छालले शव र अवशेष निकाल्नमा बाधा गरिरहेको छ । मंगलबार देखिएको ठाउँबाट अवशेषहरूलाई बगाएर ५० किमि टाढासम्म लगिएको छ ।
हेलिकप्टरहरू मौसम ठिक हुने पर्खाइमा छन् । गोताखोरलाई पानीमा जानबाट रोकिएको छ ।
विमान भएको सम्भावित दुई क्षेत्रमा खोजलाई सीमित पारिएको एयर एसियाका प्रमुख कार्यकारी अधिकृत टोनी फर्नान्डेजले बताए । बोर्नियो टापु र जाभा समुद्रका स-साना द्वीपसहित ६० हजार माइलमा खोज जारी छ । फर्नान्डेजका अनुसार जहाजहरू भने २४ घन्टा खोजमा लागिरहने अपेक्षा गरिएको छ । इन्डोनेसियाको नेतृत्वमा भइरहेको खोज अभियानमा बहुराष्ट्रहरूको सहभागिता छ । विमानका 'ब्ल्याक बक्स' पत्ता लगाउन सिंगापुरले विशेष संयन्त्रसहितको जहाजहरू पठाएको छ । मलेसिया, अस्टे्रलिया, थाइल्यान्ड र अमेरिका पनि यसमा सहभागी छ ।
शोकको यो क्षणमा पूर्वी जाभा प्रान्तका गभर्नरले नयाँ वर्षका सम्पूर्ण कार्यक्रमहरू रद्द गरेको छ । सुराबायामा सोमबार साँझ श्रद्धाञ्जलिसभाको आयोजना गरिएको छ ।
विमानमा अहिलेसम्म के भयो भने स्पष्ट भएको छैन । चालकले अन्तिमपटक गरेको सञ्चार संवादमा खराब मौसमका कारण एयर ट्राफिक कन्ट्रोलसम्म उचाइमा उडानका लागि अनुरोध गरेका थिए । केही मिनेटपछि अनुमति दिँदा उक्त विमान सम्पर्क विच्छेद भएको थियो ।
 

प्रकाशित : पुस १७, २०७१ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?