कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्वत्र होली उल्लास

जितेन्द्र साह

काठमाडौ — रंग, पे्रम, संगीत, हास्यरस र मिष्ठान्नको संगम फागुपूणिर्मा वा होलीको विशेषता हो। यसले सबैमा भ्रातृत्व र एकताको सन्देश प्रवाह गर्छ। यही विशेषताले गर्दा भौगोलिक सीमा नाँघेर विश्वको थुप्रै मुलुकमा मनाइने थोरै चाडमध्ये होली पनि पर्छ।

सर्वत्र होली उल्लास

मुस्लिमको बहुल बंगलादेशमा वसन्त ऋतुको यो पर्व हर्सोल्लासका साथ मनाइन्छ। त्यहाँका हिन्दु समुदाय मन्दिरमा भेला भएर शुभकामनासहित
रंग र अबिरको आदानप्रदान गर्छन्। त्यहाँ बौद्धमार्गी, हिन्दु र मुस्लिमबीचको तालमेलले पनि यो पर्वलाई मद्दत पुग्छ।
दक्षिण अमेरिकाको उत्तरपूर्वी किनारस्थित गुयानामा पनि भारी उत्साहका साथ यसको स्वागत हुन्छ। गुयानाबासीले फगवा भन्ने यस चाडमा 'चौताल' भनिने विशेष खाले गीत गाउँछन्। यस क्रममा अबिर र स्वच्छ पानी छर्किने गरिन्छ। त्यहाँ पनि बालबालिका वरिपरिबाट जाने कसैलाई पनि रंग नछर्की छाड्दैनन्।
उनीहरू एक महिना अगावै होलिकाको रूपमा एक बिरुवा रोप्छन्। एक महिनापछि आराध्यदेव शिवप्रति समर्पित प्रल्हादको सम्मान र असत्यमाथि सत्यको विजयको रूपमा होलिकाको रूपमा त्यसलाई होलीका दिन जलाइन्छ। ३३ प्रतिशत हिन्दु जनसंख्या भएको उक्त मुलुकमा यस दिन राष्ट्रिय बिदा दिइन्छ।
अन्य थुप्रै हिन्दु चाडहरूजस्तै झन्डै ६३ प्रतिशत भारतीय बस्ने मोरिसस द्वीपमा यो दिन निकै उत्साहमय हुन्छ। त्यहाँ यसै अवसरका लागि विशेष बिदा दिइने हुनाले दिनभर एकअर्कालाई खुसी पार्न र पिचकारीले रंग तथा पानी छयाप्नमा उनीहरू रमाउँछन्। समापनको साँझमा एकअर्कालाई टीका लगाएर अभिवादन गर्दै मिठाई खुवाइन्छ।
भारतमा जस्तो एक भव्य फेसनको जस्तो नमनाइए पनि पाकिस्तानमा होलीको राम्रै ढंगले आगमन हुन्छ। स्थानीयले घर सफा गरेर विशेष खाले स्वादिष्ट भोजनहरू गुजिया, कचौडी र दहीबाडा पकाउँछन्। साथीसँग भेटेर रंग छर्दै नृत्य गर्छन्। लाहौर र सिन्धु क्षेत्रको मन्दिरहरूमा विशेष
भीड हुन्छ।
दक्षिण अपि|mकामा बस्ने गुजराती र अन्य मुलुकका हिन्दुहरूले ठेट होली गीत गाएर वातावरणलाई जीवन्त बनाउँछन्। दैनिक जीवनको धपेडीबाट फुर्सद पाइने यो क्षणमा साँझपख आफन्त र मित्रजनको घरघरै गएर शुभकामना दिनेको चहल पहल हुन्छ। अन्य दिनभन्दा फरक खालको अनुभूति हुन्छ। यो प्राचीन परम्पराले एकअर्कालाई नजिक ल्याउने, सम्बन्धमा न्यानोपन थप्ने र शत्रु पनि मित्र बन्ने हुनाले पनि महत्त्वपूर्ण भएको स्थानीयको विश्वास छ।
दक्षिण अमेरिकाको उत्तरपूर्वी अटलान्टिक तटीय मुलुक सुरिनाममा पनि सबैतिर आनन्द र जोसको माहोल हुन्छ। त्यहाँ भारतको उत्तरप्रदेश र बिहारबाट गएकाहरू निकै भएको हुनाले मस्ती अलिक बढी नै हुन्छ। उनीहरू घरघर गएर वा मन्दिरमा भेला भएर संगीत सभाको आयोजना गर्छन्। यो अवसरमा बारा, गुलगुला, फुलौरी, बिगानी, टमाटर र धनियाँको चटनी, आलु चप, प्रसाद, चना, घोजा, महामभुग र खिरजस्ता परिकारहरू खाइन्छ।
दक्षिण अमेरिकाकै उत्तरी किनारको एक सम्पन्न मुलुक टि्रनिडाड एन्ड टोबागोमा स्थानीयले धुमधाम गरिरहेका हुन्छन्। त्यहाँ राष्ट्रियस्तरमा भव्यताका साथ मनाइन्छ। त्यहाँ पनि गीत, संगीत र नृत्यलाई यतिबेला बढी महत्त्व दिइन्छ। नचिनिने गरी एकअर्कालाई रंग दल्छन्। ढोलक र मजिराको तालले घरमा बसेकाहरू बाहिर आउन र थर्कीथर्की नाच्न बाध्य हुन्छन्।
बेलायतमा पनि रंगमय वातावरण हुन्छ। त्यहाँको लेस्टर सहरमा होली खेलिरहेकाको जोस दर्शनीय हुन्छ। होली परेडको आयोजना हुन्छ। एकअर्कालाई अंगालो मार्दै अबिरको टीका लाइदिन्छन्। अमेरिकाको ठाउँठाउँमा 'रमाइलो मेला' लाग्छ। सांगीतिक कार्यक्रम र स्नेह मिलन समारोहको आयोजना हुन्छ। यसले नयाँ पुस्तालाई आफ्नो संस्कृति बुझ्न सहयोग पुग्छ। यतिखेर बलिउड हस्ती पनि मज्जा लिन त्यहाँ पुग्छन्। नृत्य प्रस्तुति, फेसन सो र कन्सर्टले त्यहाँको होलीमा मस्ती थप्छ।
दक्षिण प्रशान्त महासागरीय मुलुक फिजीमा रंग, लोकगीत र परम्परागत नृत्यको संगमको रूपमा यो पर्वको धुम हुन्छ। विशेषगरी राधा र कृष्णको प्रेम सम्बन्धको सेरोफेरोमा यतिबेला गाइने गीतलाई त्यहाँ फागु गायन भनिन्छ। यो प्राचीन हिन्दु धार्मिक पर्व दक्षिण एसियामा थुप्रै भाग र एसियाबाहिरका अन्य समुदायमा लोकपि्रय छ। मलेसिया, कतार, बहराइन र दुबईमा रंगीन माहोल हुन्छ।
हालैका दिनमा युरोप र उत्तरी अमेरिकासम्म यसको विस्तार भएको छ। स्पेनको बुनोलमा सन् १९४५ देखि सुरु भएको अगस्टको अन्तिम बुधबार मनाइने 'ला टोमाटिना' पर्व होलीकै प्रभाव हो।
दक्षिण कोरियाको बरयङमा जुलाईमा मनाइने 'मड फेस्टिभल -हिले पर्व) मा पनि होलीको छनक पाइन्छ। नागरिकले हिलोले खेल्ने, नुहाउने र नाच्ने गर्छन्। माटाबाट बनेका सामग्रीको प्रवर्द्धनका लागि १९९८ देखि यसको सुरुआत भएको हो।
यतिखेर ड्रम र विविध वाद्यवादनसहित टोलटोल र गल्लीगल्ली होली गीत गाउँदै हिँड्नेहरूको उमंग हेर्नलायक हुन्छ। यसको धार्मिक महत्त्वबारे पुराण र सातौं शताब्दीको संस्कृत नाटक 'रत्नावली' मा उल्लेख छ। होली वा फगुवालाई भारतका विभिन्न प्रान्तमा फागवह वा डोलजात्रा, डोलाजात्रा र वसन्तोत्सवका नामले पनि जानिन्छ। भगवान् कृष्णको ब्रजभूमि मथुरा, बृन्दावन, नन्दगाव र बर्सनाको होली हेर्न त पर्यटकको ओइरो नै लाग्छ।
गुजरात, उत्तरप्रदेश, उत्तराखण्ड, बिहार, बंगाल, उडिसा, असम, गोवा, महाराष्ट्र, मणिपुर, केरला, कर्नाटका, तेलंगाना, आन्ध्रप्रदेश, जम्मु र कश्मीर, पञ्जाब, मध्यप्रदेश र तमिलनाडुको होलीमा स्थानीय लोकसंस्कृतिको झलक पाइन्छ।
त्यसमा पनि गुजरातको अहमदावादमा नौनीले भरिएको माटाको भाँडा फोर्ने प्रतियोगिता तथा उत्तरप्रदेशको ब्रजक्षेत्रको मथुरानजिकैको बर्सनामा महिलाले पुरुषलाई कुट्ने लठ मार होली
-लौरोले प्रहार गर्ने होली) निकै लोकपि्रय छ। धार्मिक र सामाजिक रूपले महिलालाई जिस्काउने र दुव्र्यवहार गर्न नहुने सन्देश दिनु यो परम्पराको उद्देश्य हो। किंवदन्ती अनुसार भगवान् कृष्ण यस दिन राधाको गाउँ पुगेर उनलाई र उनका सखीहरूलाई जिस्काएका थिए। प्रतिकारमा बर्सनाका महिलाहरूले उनलाई लखेटेका थिए। त्यति बेलादेखि नै यो परम्परा कायम छ। छिमेकी बिहारको भोजपुरी शैलीको होली पनि चित्ताकर्षक हुन्छ। त्यहाँको जोगिरा गायन अर्थात् 'जोगिरा सरर...' पूरा एसियामा लोकप्रिय छ।
 (एजेन्सीहरूको सहयोगमा)
 

प्रकाशित : फाल्गुन २१, २०७१ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?