अमेरिका–जापानको पुनर्मिलन

(एजेन्सी)

हवाई — अमेरिकी राष्ट्रपति बाराक ओबामा र जापानी प्रधानमन्त्री सिन्जो आबेले पर्ल हार्बरको सँगै भ्रमण गरेर बुधबार आक्रमणमा मारिएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । अमेरिकाको हवाई राज्यको वआहे टापुमा अवस्थित पर्ल हार्बर त्यो ठाउँ हो, जहाँ १९४१ डिसेम्बर ७ मा जापानले गरेको आक्रमणमा परी करिब २ हजार ३ सय अमेरिकी नौसेनाको मृत्यु भएको थियो ।

प्रधानमन्त्री आबेले ७५ वर्षअघि आफ्नो मुलुकले आक्रमण गरेको उक्त स्थानको भ्रमण गर्दै ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गरे ।

ओमाबाले जापानी प्रधानमन्त्री सिन्जो आबेको यो भ्रमणलाई ‘ऐतिहासिक संकेत’ भएको बताएका छन् । पर्ल हार्बरस्थित अमेरिकी नौसेनाको केन्द्रमा आयोजित कार्यक्रममा प्रधानमन्त्री आबे र राष्ट्रपति ओबामा एक साथ उपस्थित थिए । पर्ल हार्बरमा एक साथ अमेरिकी र जापानी नेताहरूको भ्रमण यो पहिलोपटक हो ।

भ्रमणका क्रममा प्रधानमन्त्री आबेले युद्धको त्रासदी अब कहिल्यै दोहोरिनुहुन्न भन्ने जापानी जनताले कसम खाएको बताए ।

दोस्रो विश्वयुद्धको बेला जापानले पर्ल हार्बरमा आक्रमण गरेपछि १९४५ मा अमेरिकाले जापानी सहरहरू हिरोसिमा र नागासाकीमा आणविक आक्रमण गरेको थियो । हिरोसिमा, नाकासाकीमा आक्रमणमा डेढ लाख व्यक्ति मारिएको विश्वास गरिन्छ । ओबामा पर्ल हार्बर भ्रमण गर्ने पहिलो बहालवाला राष्ट्रपति हुन् ।जापानको उच्च नेताका रूपमा आक्रमणको ९ वर्षपछि जापानका पूर्वप्रधानमन्त्री सिगेरु योसिदाले १९५१ मा पर्ल हार्बरको छोटो भ्रमण गरेका थिए । उक्त स्थानमा दुवै देशका राष्ट्र प्रमुखले एकै पटक भ्रमण गरी घटनामा ज्यान गुमाउने अमेरिकीप्रति यसपालि सँगै श्रद्धाञ्जली व्यक्त गरेका हुन् । करिब ६ महिनाअघि ओबामाले अमेरिकाद्वारा जापानको हिरोसिमा र नागासाकी सहरमा आक्रमण गरी करिब २ लाख मानिसको मृत्यु हुने गरी गरेको आक्रमण स्थलको पनि भ्रमण गरेका थिए । ओबामाले हिरोसिमा भ्रमणका क्रममा आक्रमणप्रति क्षमायाचना गरेका थिएनन् । जापानी प्रधानमन्त्री आबले पनि पर्ल हार्बरमा क्षमायाचना गरेनन् ।

यसैबीच, चीनले आबेको यस भ्रमणलाई लिएर हमलाको दोषबाट मुक्त हुन गरिएको एउटा निष्ठाहीन प्रयास भनेको छ । विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले ‘जापानले दोस्रो विश्वयुद्धका बेला गरेको अपराधको ऋण चुकाउने प्रयास भए पनि जापानले दोस्रो विश्वयुद्धमा गरेका अपराध उसले चीनलगायत दोस्रो विश्वयुद्धबाट पीडित अन्य एसियाली राष्ट्रसँग पुनर्मिलन नगर्दासम्म अपराधबाट उन्मुक्ति मिल्नेछैन’ भनेका छन् ।

प्रकाशित : पुस १४, २०७३ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्

सिरियामा युद्धविराम गर्न सहमत

एएफपी

इस्तानबुल — सिरियाका सबै क्षेत्रमा बुधबार मध्यरातबाट युद्धविराम गर्न टर्की र रूस सहमत भएको टर्कीको सरकारी आनाडोलु समाचार समितिले जनाएको छ । युद्धविराम योजना मुख्यत: सिरियाको अलेप्पो नगरमा जारी युद्धविरामलाई निरन्तरता दिन ल्याइएको छ ।

अलेप्पोलगायत सिरियाका अन्य युद्धग्रस्त इलाकाबाट सर्वसाधारणलाई सुरक्षित उद्दार गर्न यसै महिनाको सुरुमा नै टर्की रूसको मध्यस्थतामा युद्धविराम गरिएको पनि समाचार समितिले जनाएको छ । तर, रूस र अमेरिकाको मध्यस्थतामा भएका, यसअघिका युद्धविरामहरूमा अवलम्बन गरिएजस्तै, अहिले पनि आतंककारीविरुद्ध प्रतिकार गर्ने कार्य भने रोकिनेछैन ।

यदि योजना सफल भएमा रूस र टर्कीकै पहलमा काजकिस्तानको राजधानी आस्तानामा निकट भविष्यमै हुन गइरहेको सिरियाली सरकार र विपक्षीबीच राजनीतिक सम्झौता हुने बलियो आधारसमेत निर्माण हुने अड्कल गरिएको छ ।

युद्धविराम लागू गर्न टर्की र रूसले गम्भीर सहकार्य गरिरहेको समितिले बताएको तर यसबारे के, कसरी र कहाँ युद्धविराम सहमति भयो भन्ने विस्तृत विवरण खुलाइएको छैन ।

अघिल्ला हप्ताहरूमा टर्की, रूस र सिरियाली विपक्षीका प्रतिनिधिबीच अङ्कारा बैठकमा विस्तृत छलफल भइसकेको पनि जनाइएको छ ।

सिरियामा जारी गृहयुद्धको रूस र टर्की विपरीत पक्षधर हुन् । वर्तमान सिरियाली राष्ट्रपति बसर अल असदलाई सत्ताबाट हटाउनुपर्छ भन्ने पक्षमा टर्की छ भने रूस र इरान असदका प्रमुख अन्तर्राष्ट्रिय सहयोगीका ज्ञपमा खडा छन् । तर, गत वर्ष रूसको एउटा युद्धक विमान टर्कीका सेनाले खसालिदिएपछि दुई देशबीच बिग्रेको सम्बन्धलाई सुधार गर्न टर्की प्रयासरत छ भने रूसले पनि यसलाई सामान्यीकरण गर्न चासो देखाएको छ ।

प्रकाशित : पुस १४, २०७३ ०७:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्