कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तरिका नयाँ नयाँ

जितेन्द्र साह

काठमाडौ — प्रहरीले जति पक्राउ गर्छ लागूपर्दाथ ओसारपसार गर्नेले त्यति नै नयाँ उपाय खोज्छन् ।

हरेक दिनजसो लागूऔषधसहित मानिस पक्राउ परेको समाचार सुनेर तपाईंले ओसारपसारको कारोबार कति ठूलो होला भनेर कहिल्यै सोच्नुभएको छ ? छैन भने अब थाहा पाउनुस् । पछिल्लो बीस वर्षमा नेपाल प्रहरीले ११ हजार ८० नेपाली र १ हजार ३ सय ६६ विदेशीलाई लागूऔषध ओसारपसार गरेको अरोपमा पक्राउ गरेको छ । यस्ता पक्राउ परेकाबाट यो अवधिमा प्रहरीले १२ हजार ३ सय ३० किलो चरेस र १ सय ५८ किलो हिरोइन जफत गरेको छ ।
अब सोच्नुस्, लागूऔषध ओसारपसारको कारोबार कति ठूलो रैछ । यो कारोबार जति ठूलो छ त्यति नै ओसारपसारमा प्रयोग हुने तरिका पनि अनौठा छन् । झोला वा सुटकेसमा लुकाएर लागूऔषध विदेश लैजान खोज्नु सामान्य हो । तर, लागूऔषध निलेर पेटमा लुकाएर लैजाने तरिकाचाहिँ पक्कै जटिल हो ।
माघ २६ मा विमानस्थलमा पक्राउ परेका लमजुङका ४० बषर्ीय शुभराज गुरुङ र महेन्द्र गुरुङको पेटबाट चरेस भरिएका यस्ता ३ सय ३२ थान प्लास्टिक कोटेड क्याप्सुल फेला पर्‍यो । यो चरेस २ किलो ९ सय ७८ ग्राम तौलको थियो । उनीहरू काठमाडौंबाट हङकङ जान लागेका थिए ।
प्रहरीको लागूऔषध नियन्त्रण कानुन कार्यान्वय एकाइले यस्ता शंकास्पद व्यक्तिलाई महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालको आकस्मिक कक्षमा लगेर शौचको माध्यमद्वारा क्याप्सुल निकाल्ने गर्छ । एकाइका डीएसपी दिवस उदासका अनुसार शरीरभित्र हेरोइन र चरेस बोकेर गएको धेरै घटना भए पनि यो हालसम्मकै सबभन्दा ठूलो परिमाण थियो । तीन वर्षअघि हङकङ जान लागेका लमजुङका मनबहादुर गुरुङले पनि यस्तै उपाय अपनाएका थिए । उनले जुत्ताभित्र १ किलो ५ सय ९३ ग्राम चरेस लुकाएका थिए भने ५ सय ग्राम चरेसका ३० क्याप्सुल निलेका थिए ।
यसरी पेटमा लागूपर्दाथ लुकाउनु क्याप्सुल खाने मान्छेकै लागि पनि खतरामुक्त भने
हुँदैन । 'पेटमै क्याप्सुल फुट्ने डरले उनीहरू चिया र कफीजस्तो तातो चिज खाँदैनन् र गन्तव्यमा नपुगुञ्जेल निकै हतारिन्छन्,' डीएसपी उदासले भने । यस्तै हाउभाउबाट प्रहरीले शंका लागेपछि उनीहरूलाई पक्रिन्छ । लागूपदार्थ ओसार्न यौनाङ्ग र अन्य संवेदनशील अंगमा समेत लुकाएर लाने गरेको उनले बताए ।
यसै महिना पुस ३ गते त्रिभुवन विमानस्थलमा प्रहरीले पक्राउ गरेका कास्कीका शम्भु गुरुङले भने प्लास्टिकको ड्रममा दाल र कोदोमुनि लुकाएर ११ किलो चरेस हङकङ लैजान खोज्दै थिए । यस्तो तरिका नेपालीले मात्र अपनाउँदैनन् । मंसिर २४ मा विमानस्थलमा पक्राउ परेका युक्रेनका नागरिक डिमिट्रो जोभतानको सुटकेसमा १३ किलोभन्दा बढी चरेस थियो । उनी कतार एयरवेजको जहाजबाट दोहा हुँदै मस्को जाँदै थिए । तर, काठमाडौंमै प्रहरीको फन्दामा परे । यसको दुई दिनअघि आबुधावी हुँदै आप\mनो देश फर्किन लागेका डेनमार्कका रोनी डाल पनि झोलामा लुकाएको ६ किलोभन्दा बढी चरेससहित पक्राउ परेका थिए । बैंकक उड्न लागेका पोल्यान्डका जीआरजोर्ज पियोत्र सिसलाक मंसिर १९ मा साढे ६ सय किलो चरेससहित पक्राउ परेका थिए ।
केही सयमदेखि तबला, सुन्तला र गमलाजस्ता वस्तुमा समेत लुकाएर चरेस, हिरोइन लैजाने गरिएको छ । प्रहरीले वैशाख १५ मा तबलाभित्र लुकाएर राखिएको २ किलो चरेससहित बाराका खगेन्द्रप्रसाद नेपाललाई पक्राउ गर्‍यो । त्यो चरेस बहराइन हुँदै प|mान्स पठाउन लागिएको थियो । वैशाख ३१ मा ७ कलात्मक गमलाभित्र लुकाइएको १० किलो ८ सय ७८ ग्राम चरेससहित सुनसरीका भरतनारायण सरदार पक्राउ परेका थिए । साढे चार वर्षअघि धादिङ्गकी सिज्मी घलेलाई २१ वटा सुन्तलाभित्र लुकाएको १ किलो चरेससहित पक्राउ गरिएको थियो ।
भारतबाट आयात गरिने मोटरसाइकल र मेसिनरी पार्टसपुर्जाहरूभित्र लुकाई हिरोइन नेपाल ल्याइएको उदाहरण पनि प्रहरीसँग छ । एकाइले गत वर्ष भदौमा कञ्चनपुरका २९ वषर्ीय महेन्द्र गिरीलाई चारवटा फलामको गियर र एक फुटरेस्टको फलामे पातामा लुकाएर राखेको ५ किलो ६ सय ५५ ग्राम सेतो हेरोइनसहित पक्राउ गरेको थियो । उनले सेता हिरोइन लुकाइएका यस्ता ९ डिस्क गियर चीन र स्वाजिल्यान्ड पठाइसकेको प्रहरीलाई बताएका छन् ।
कतिले भने बिस्कुट र पाउरोटीमा लुकाएर पनि लैजाने गरेका छन् । गत वर्ष असारमा शंखमूल र सामाखुसीमा प्रहरीले पक्राउ गरेका तीनजनाले यसरी नै ८ सय ग्राम खैरो हिरोइन वीरगन्जबाट काठमाडौं ल्याइ बिक्री गरिरहेका थिए । पाँच वर्षअघि बैंकक जान लागेकी शंखुवासभाकी मनमाया तामाङले हर्लिक्स र डाइजेस्टिभ बिस्कुटका पुरियामा लुकाएर ९ किलो चरेस लैजान लागेकी थिइन् । २०६२ मै बिस्कुटमा लुकाएर बैंकक लैजान लागेको १ किलो सेतो हिरोइनसहित थाइल्यान्डकी पारिता रातानान पक्राउ परेकी थिइन् ।
कारोबारीहरूले किताब, गाता, प्याड, काठ र ढलौटका कलात्मक सामग्रीमा यसलाई लुकाएर लगेको देखियो । उनीहरूले ती सामग्रीमा कसैले थाहा नपाउने र आँखालाई समेत झुक्याउने गरी लागूपदार्थ लुकाउने गर्छन् । अधिकाश यस्ता कलात्मक सामग्रीहरू कुरियरमार्फत विदेश पठाउने गरिएको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।

प्रकाशित : पुस १७, २०६७ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?