कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जरिवाना तिर्दै चलाउँदै

जितेन्द्र साह

काठमाडौ — ट्राफिक प्रहरीले बिनालाइसेन्स मोटरसाइकल चलाउने ३३ छात्रछात्रालाई शुक्रबार नियन्त्रणमा लिएर जनही २ हजार रुपैयाँ जरिवाना लिएर छाड्यो ।

लाइसेन्स नभएका उनीहरू जरिवाना तिरेर फेरि बिनालाइसेन्स सडकमा मोटरसाइकल कुदाउन थाले । ट्राफिकले बुधबार ५२ छात्रछात्रालाई नियन्त्रणमा लिएर यस्तै कारबाही गरेको थियो ।
जरिवाना तिरेकै भरमा बिनालाइसेन्स सवारी चलाउन पाइन्छ ? 'पाइन्न', ट्राफिक प्रवक्ता डीएसपी वसन्त पन्तले भने, 'हामीले उनीहरूको रेकर्ड राखेका छौं । फेरि चलाएको भेटिए सवारीसहित यातायात व्यवस्था विभागमा पठाउँछौं ।' यस्तो केसमा यातायातले सवारी जफतसमेत गर्न सक्ने व्यवस्था छ ।
राजधानीका उच्च माविमा अध्ययनरत विद्यार्थी अधिकांश बिनालाइसेन्स मोटरसाइकल चलाउने गरेको ट्राफिकको अनुमान छ । ट्राफिक नियम र ऐनअनुसार यस्ता चालकलाई ट्राफिकले ट्राफिक नियमअनुरूप अधिकतम २ सय रुपैयाँ वा यातायाता व्यवस्था ऐन-२०४९ अनुरूप थप २ हजार रुपैयाँ जरिवाना लिने गरेको छ ।
बिनालाइसेन्सका चालकले दुर्घटना गराएर ज्यान गएमा सवारीधनीलाई पनि दुई वर्षसम्म कैदको व्यवस्था यातायातको ऐनमा उल्लेख छ । 'कमजोर कानुनका कारण लाइसेन्सबिना सवारी चलाउनेलाई हामीले कडा कारबाही गर्न सकेका छैनौं,' पन्तले भने, 'यसको परिमार्जन जरुरी छ ।'
यातायात व्यवस्था विभागका निमित्त महानिर्देशक अनिलकुमार गुरुङले लाइसेन्सबेगर पक्राउ परेकालाई पहिलो पटकलाई जरिवाना मात्र गरिए पनि पटकपटक त्यस्तो गल्ती दोहोर्‍याए सवारी जफत गरिने बताए । यस्तो कारबाही अहिलेसम्म कतिलाई भयो भन्नेबारे विभागमा कुनै रेकर्ड भने छैन । गुरुङले बिनालाइसेन्सका सवारी चालकमाथि गरिने कारबाहीबारे कानुनी प्रावधानमा सुधार गरिरहेको जनाए ।
अहिले १६ वर्ष उमेर पुगेकालाई विभागले लाइसेन्स दिने गरेको छ । लाइसेन्स पाउने उमेर सीमालाई बढाएर १८ वर्ष पुर्‍याउने तयारी भइरहेको गुरुङले बताए । यसबारे सरोकारवाला समेतले चासो लिएका छैनन् ।
मोटरसाइकल दुर्घटना ४० प्रतिशत उच्च माध्यमिक तह अध्यनरत विद्यार्थीबाट हुने गरेको ट्राफिकको अनुमान छ । बिनालाइसेन्स सवारी चलाउन नहुने जानकारी हुँदाहँुदै विद्यार्थीले नियमको अवज्ञा गर्ने गरेका छन् । ह्वाइटहाउसका एकजना विद्यार्थी दिनेश सिलवालले बिनालाइसेन्स मोटरसाइकल चलाउने आफूजस्ता युवा सडकका लागि सबैभन्दा खतरनाक भएको बताए । 'सामान्य जरिवाना नभएर कडा कारबाही हुनुपर्छ', उनले भने, 'बाइक जफत गरेर त्यस्तालाई दुई/तीन वर्ष लाइसेन्स नपाउने सजाय गर्नुपर्छ ।'
दरबारमार्ग ट्राफिक प्रहरी प्रभागका प्रमुख सीताराम हाछेथुले ट्राफिक चेतनाको विकास घर र विद्यालयबाट सुरु हुनुपर्ने बताए । 'जति जिद्दी र आधुनिक भए पनि परिपक्व नभएसम्म छोराछोरीलाई वाहन दिन नहुने अडान अभिभावकले लिनुपर्छ,' उनले भने ।
हाछेथुले दुई दशकअघि बनेको कानुनको अनुपातमा वाहन र जनसंख्या दुवै बढेकाले त्यसअनुरूप योजना आउनुपर्ने बताए । अध्ययनअनुसार दुई दशकअघि १ लाख ५ हजार सवारी र १० लाख जनसंख्या भएको महानगरमा अहिले ५ लाख गाडी छन् भने धेरै गुणाले जनसंख्या बढेको छ ।



५ सय ८९ लाई कारबाही 
टाफिक प्रहरीले शुक्रबार फुटपाथमा मोटरसाइकल पार्किङ गर्ने, गुडाउने र स्वरूप परिवर्तन गर्ने ५ सय ८९ लाई कारबाही गरेको छ । ट्राफिक कन्ट्रोलका अनुसार फुटपाथ पार्किङमा ४ सय ६४, गुडाएकामा ९४ र स्वरूप परिवर्तन गरेकामा ३१ जनालाई कारबाही गरेको हो । यसैगरी मिटरमा नजाने र बढी भाडा असुल्ने ७ ट्याक्सीलाई समेत ट्राफिकले कारबाही गरेको छ । ट्राफिक प्रहरीले शुक्रबार ४६ महिलासहित १ सय ३५ जनालाई नियन्त्रणमा लिएर आकाशेपुलको प्रयोगका लागि सचेत गराएको छ । आकाशेपुलमा पसल राख्ने ९ जनालाई ट्राफिक र महानगरले कारबाही गरेका छन् ।

प्रकाशित : पुस १७, २०६७ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?