२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

'मुसुमुसु हाँसिदेऊ' ओछ्यानमा

नवीन पोखरेल

लन्डन — आम दर्शक/श्रोताको स्मृतिमा अचेल उति छैनन् उनी । उनका रचना चोरेर धेरैले ख्याति बटुले तर उनले चाहिँ एउटै सोलो एल्बम ल्याउन सकेका छैनन् ।

स्वास्थले पनि साथ दिएन ।
'घाँटीको क्यान्सरले सन् २००६ देखि थला परें । पटकपटक अप्रेसन, किमोथेरापी, रेडियोथेरापी । अहिले ८० प्रतिशत सञ्चो हुँदै छ,' बेलायतको अल्डरसटस्थित निवासमा आराम गरिरहेका गायक नोर्देन तेन्जिङ भुटियाले कान्तिपुरसँग भने ।
भुटियाले सन् १९७४ मा आफूले 'गाजलुले आँखा छोप्ने क्या राम्री मेरी मायालु' गीत गाएको दाबी गरे । 'मैले यो नेपाली गीतमा पहिलोपटक 'हार्मोनाइजेसन' गर्दा धेरै आलोचना खेप्नुपरेको
थियो । नेपाली गीतलाई अंग्रेजी तालको बनाएर मादल, डम्फू सट्टा हार्मोनियम प्रयोग गर्‍यो भन्ने पनि धेरै थिए,' उनी विगत कोट्याउँछन् । उनको यही गीत सन् १९७५/७६ मा 'बीएफबीएस् हङकङ' रेडियोमा रेकर्ड भएको थियो ।
लाहुरे पृष्ठभूमि त्यो माथि मिडियाप्रेमी नभएकै कारण आफ्नो अस्तित्व छायामा परेको गुनासो छ नोर्देनको । 'तर म पहिलो पप गायक भनेर कहिल्यै हिँडिनँ । पल्टन छँदा कालरात्रि, मेस पार्टीमा रसरंगका लागि गाइन्थ्यो, त्यतिबेला व्यावसायिक सोच लिएको भए सायद अहिले म अर्कै पंक्तिमा हुन्थें होला,' उनले भने, 'सेभेन जिआर पल्टनमा थियौं हामी । पल्टन बिजी, कडा कानुन । पिंजडाभित्र बसेजस्तो थियो तर गोर्खा मेजरलाई लहड चल्दा गाइन्थ्यो ।'
आफ्नो 'मुसुमुसु हाँसीदेऊ न लै लै' बोलको लोकपि्रय गीत हिन्दी फिल्म 'प्यार मे कभी कभी' मा हुबहु नक्कल गरिएको गुनासो गर्दै उनले भने, 'म त कस्तो अभागी रहेछु, पुरानो साथी प|mेङीले पनि अनुमतिबिना नै मेरा गीत राखेर 'दि हिमालयन देन एन्ड नाउ' क्यासेट बजारमा ल्याइदिएछ, मन सार्‍है दुखेको छ, त्यही कारण अहिले त ऊसँग सम्बन्ध पनि टुट्यो ।'
सन् १९७१ मा बेलायती सेनामा भर्ती भएपछि सन् १९७३ मा साथीहरू विजय थापा र प|mेङी मुखियासँग मिलेर 'हिमालयन ब्यान्ड' खोलेको भुटियाले जनाए ।
उनी बेलायतमा प्रवासी नेपाली साहित्य समाज -प्रभात) द्वारा पहिलो पप गायकका रूपमा सम्मानित समेत भए । 'नोर्देन दाइले दार्जिलिङमा यो गीत अंग्रेजी लय र बाजामा गाउँदा ओमविक्रम विष्ट आफैंले संगीत क्षेत्रमा प्रवेश नै नगरेको स्वीकारोक्ति गरेपछि हामीलाई पहिलो पप गायकका रूपमा सम्मान गर्न बाटो खुलेको थियोे,' प्रभातका तत्कालीन प्रवक्ता नरेश काङमाङ सम्झन्छन् ।
अस्वस्थताकै कारण ६० वषर्ीय भुटियाको पहिलो एकल एल्बम बजारमा ल्याउने सपना बीचमै तुहिएको छ । उनका हालसम्म डेढ दर्जन जति मात्र गीत रेकर्ड भएका छन् । तर, जति रेकर्ड भए, ती सबै चले । उनका 'मुसुमुसु हाँसीदेऊ न लै लै,' 'मायाले माया गाँसी देऊ,' 'चिसो बतासले,' 'फर्की हेरें,' 'गाजलुले आँखा छोप्ने क्या राम्री मेरी मायालु' आदि गीत लोकपि्रय छन् ।
भुटिया वर्तमान नेपाली गीत संगीत देखेर नाक खुम्च्याउँछन् । 'मलाई अहिले कुनै रुचि नै छैन । जमानाका नारायण गोपाल, कुमार बस्नेत, अम्बर गुरुङ, गोपाल योञ्चनका गीत सुनुँसुनुँ लाग्थ्यो । अहिले त सुन्दैमा दिक्क लाग्ने गीत छन्,' भन्छन्, 'गीत त अरूले पो रुचाउनुपर्छ, अहिलेको पुस्ता आफैंले राम्रो ठान्छ ।'
फोकल्यान्ड लडाईं लगत्तै सन् १९८३ मा आर्मी जागिर छाडेका हुन् उनले ।
सन् २००२ मा बेलायतमा स्टेज सो गरेयता निष्त्रिmय भुटिया अढाई वर्षअघि स्थानीय गायक भूमिराज राईको 'दसी' एल्बममा समावेश आफ्नै रिमिक्स गीत 'गाजलुले आँखै छोप्ने' को म्युजिक भिडियोमा देखिए सांगीतिक जीवनमा पहिलोपटक । 'अब पूरै सञ्चो भएपछि एकल एल्बम निकाल्ने सोच छ,' उनमा अझै जाँगर मरेको छैन । बेलायत, हङकङ, बु्रनाइदेखि फोकल्यान्डसम्मको युद्धभूमिमा होमिएका भुटियाको यो बुढ्यौलीमा सांगीतिक यात्राले गति लेला त ?
उनी हाल दुई छोरी, एक छोरा र श्रीमतीका साथमा अल्डरसट बस्छन् । सन् १९८३ मा अल्डरसट छिर्दा उनी र हरिविभोर कार्की दुई जनामात्र थिए नेपाली । २३ वर्ष व्यवसायमा होमिएका भुटिया अहिले पूरै अवकाश जीवन बिताउँदै छन् ।

प्रकाशित : माघ ६, २०६६ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?