कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शब्दचित्रमा चम्पारन ब्लुज

गोविन्द वर्तमान

काठमाडौ — निबन्धसँग सरोकार राख्ने एउटा पाठकको हैसियतले पनि मलाई रोशन शेरचनका निबन्धहरूबारे टिप्पणी गर्न रमाइलो लाग्छ ।

राम्रा निबन्धहरूको प्रभावबारे धेरथोर ज्ञान भएको हुनाले निबन्ध विधातिर कलम चलाउन इच्छा गर्ने एउटा सामान्य लेखकको हैसियतले पनि मलाई उनका निबन्धहरूबारे केही लेख्न जाँगर चल्छ । खासगरी उनको निबन्धमा रहेका विचार र बौद्धिकताले अक्सर मेरो चेतनालाई पछ्याइरहन्छन् । त्यसैले कतिपय अवस्थामा मलाई रोशनका निबन्धहरू मेरो सिर्जनाका सहयात्रीजस्ता लाग्छन् । ती सहयात्रीहरूसँग यात्रामा संलग्न हुँदा मलाई एउटा सार्थक आनन्दको अनुभूतिले स्पर्श गर्छ ।
राम्रा निबन्धहरूको सम्झना गर्दा लक्ष्मीप्रसाद देवकोटादेखि शंकर लामिछानेसम्मले मलाई विविध प्रकारले आलोकित गर्ने गरेका छन् । त्यसपछिका निबन्धकारहरूतिर दृष्टि दिँदा अरू थुप्रै नामहरू पनि आ-आफ्नो हैसियतअनुसार मेरो चेतनामा आइपुग्छन् । तीमध्ये एउटा प्रभावशाली नामको रूपमा रोशन शेरचनको नाम मेरो नजिक आइपुग्छ । रोेशन शेरचनजस्ता निबन्धकारहरूको सिर्जनाले स्रष्टाहरूलाई सिर्जनात्मक ऊर्जा प्रदान गर्छन् । चम्पारन ब्लुजभित्रका निबन्धहरू पनि त्यस्तै ऊर्जा प्रदान गर्ने सामथ्र्यसहित आएका छन् ।
अघिल्लो निबन्ध संग्रह मस्तिष्कहरूको मृत्युदेखि चम्पारन ब्लुजसम्म आइपुग्दा रोशनको व्यक्तित्वमा धेरै किसिमका परिमार्जन र परिष्कारहरू आएका छन् । उनको निबन्धकारमा त्यस्तो परिष्कारका वैचारिक छायाहरू सल्बलाइरहेको देख्न सकिन्छ । विविध परिवेश र विविध कथ्य बोकेका उनका निबन्धहरूमा विशिष्ट प्रभावहरू निर्माण गर्दै ती छायाहरू गतिमान भएका छन् । निबन्ध कृति चम्पारन ब्लुजमा आइपुग्दा निबन्धकार शेरचन नेपाली समाजको मनोविज्ञान र नेपाली समुदायका दुःखसुखहरूलाई बढी महत्त्व दिने स्थानमा भेटिन्छन् । त्यस अर्थमा उनको यो यात्रालाई अग्रगामी यात्रा भन्न सकिन्छ । नेपाली समाजको अन्तरविरोधतिर चियाउने, नेपाली सामाजिकताका चरित्रहरूलाई उधिन्ने र नेपाली चेतनाका विभिन्न स्वरूपलाई कथ्यको अग्रभागमा राख्ने काम गरेर विगतको अराजक स्वच्छन्दताबाट उनले आफूलाई मुक्त गरेका छन् । यही कारणले गर्दा खुलस्त भन्न सकिन्छ ः यस संग्रहबाट आएका निबन्धकार
शेरचन विचारका दृष्टिले समेत सिर्जनाको अग्रगामी यात्रामा छन् ।
चम्पारन ब्लुजभित्रका अधिकांश निबन्धहरूले पाठकलाई नवीन अनुभूति दिलाउँछन् । तीमध्ये कतिपयले सुस्ताइरहेको पाठकीय चेतनालाई झक्झक्याउँछन् र नयाँ आँखाले परिवेशलाई हेर्न प्रेरित गर्छन् । माओवादी छायामुनि जिन्दगीका डोबहरू, हजार मुजा एउटै आकाश, बूढीआमै र समुद्र, भ्यागुतसँगै उपि|mँदै आएका खुसीहरू, माछापुच्छ्रे होस्टेलको गुच्चा, त्यस्तै क्षमता भएका निबन्धहरू
हुन् । यस पुस्तकभित्रको 'माओवादी छायामुनि जिन्दगीका डोबहरू' पढ्दा म निकै संवेदित भएँ । नेपालमा यतिखेर एउटा ठूलो राजनीतिक शक्तिको रूपमा स्थापित एकीकृत नेकपा माओवादीले विगतमा गरेको 'जनयुद्ध'को समीक्षा गर्न त्यस निबन्धले एउटा सन्दर्भ सामग्रीको काम गर्छ । माओवादीले गरेको 'जनयुद्ध' नेपाललाई झक्झक्याउन, ब्युँझाउन र सिमान्तीकृत जनतालाई मूलधारतिर अग्रसर हुन सकारात्मक योगदान गरेको 'जनयुद्ध' थियो । तर त्यस 'जनयुद्ध'भित्र थुप्रै कुरूप चरित्रहरू पनि बलशाली थिए । त्यसमा केही दुर्गुणहरू थिए । केही अशिष्टताहरू
थिए । केही असभ्य आचरणहरू थिए र थुप्रै त्रुटिहरू थिए । थुप्रै पन्छाउन सकिने र केही पन्छाउन नसकिने त्रुटिहरू भएकाले सबैले त्यसलाई 'जनयुद्ध' भन्न मिल्ने आधार निकै कमजोर थियो । हिंसात्मक बर्बरताहरूको आधिक्यले पनि त्यसलाई बढी आलोच्य बनाइदिएको थियो । यस वास्तविकताको एउटा सानो पाटोलाई पारदर्शी ढङ्गले देखाउन 'माओवादी छायामुनि जिन्दगीका डोबहरू' शीर्षकको निबन्धले सहयोगी भूमिका खेलेको छ । एउटा निर्दोष कार्यालय प्रमुख कसरी मानसिक यातनाग्रस्त हुनपुग्छ र उसको कार्यालय खासगरी माओवादीहरूकै कारणले कसरी दुर्घटित हुन्छ, कसरी उसले जागिरबाट पलायन हुनुपर्ने अवस्था आउँछ, उसको पारिवारिक अवस्था कुन हदसम्म खल्बलिन्छ भन्ने प्रश्नको उत्तर त्यस निबन्धले दिएको छ । निबन्धले प्रस्तुत गरेको यथार्थको यो विन्दुबाट हेर्दा के बुझिन्छ भने माओवादी जनयुद्ध माओवादीहरूले भन्ने गरेजस्तै साँचो अर्थमा जनयुद्धको स्वरूप धारण गरेको युद्ध थिएन । त्यसमा कलाविहीन क्रियाकलापहरूको प्रचुरता थियो । त्यसमा भत्र्सनायोग्य क्रूरता र तिरस्कारयोग्य हिंसाका अनेकौं रूपहरू युद्धको नायकत्व निर्माण गर्न उछिनपाछिन गरिरहेका थिए । एक दसकभन्दा बढी समय चलेको युद्धको यथार्थको त्यो एउटा विशिष्ट पाटो हो । चम्पारन ब्लुजभित्रको निबन्ध 'माओवादी छायामुनि जिन्दगीका डोबहरू'ले त्यस पाटोलाई विशिष्ट बान्कीमा प्रस्तुत गरिदिएको छ ।
यो टिप्पणी विवादास्पद पनि हुनसक्छ ।
यो निबन्ध नै कतिपय पाठकको दृष्टिमा आग्रहयुक्त वा विवादास्पद मानिन सक्छ । तर कुनै रचनाले विवाद आमन्त्रण गर्नु आफैंमा नकारात्मक कुरा होइन । बरु  यसले रचनाकारलाई गहिराइतिर उन्मुख भएर सोच्ने ऊर्जा प्रदान गर्छ । कुनै रचनाकारले त्यस प्रक्रियाबाट गुजि्रने अवस्था प्राप्त गर्‍यो भने त्यस प्राप्तिले आगामी सिर्जनाका निम्ति उसलाई तरङ्गति तुल्याउँछ र त्यस किसिमको तरंगले उसको सिर्जनात्मक ऊर्जालाई अझ सघन तुल्याइदिन्छ ।
  यस निबन्ध संग्रहभित्रका अधिकांश निबन्धहरू एउटा व्यक्तिले आफ्नो जीवनको उकाली-ओरालीहरूमा भोगेका दुःखसुखका प्रतिविम्बहरू हुन् । व्यक्तिले आफूलाई निर्माण गर्ने क्रममा गरेका संघर्षका चित्रहरू हुन् । मानवीय चेतनाले मानवीयतालाई सुन्दर तुल्याउँदै लैजान्छ भन्ने ससाना सन्देशहरूका ससाना अभिलेखहरू पनि हुन् ।
विदेशमा गएर पढ्दाका अनुभव र अनुभूतिहरू पनि निबन्धका रूपमा आएका छन् । दुई निबन्ध 'बूढीआमै र समुद्र' 'एडिनबरा ः शब्दचित्र'मा त्यस्ता अनुभूतिहरू छन् । अध्ययनको निम्ति विदेशमा पुगेको बेला विदेशीहरूसँग सरसङ्गत गर्दा ती विदेशीहरूको मनोविज्ञान, त्यस विदेशको संस्कृति, त्यो विदेश र यो स्वदेशको प्रतिनिधि पात्र निबन्धकार स्वयम्का बीचको अन्तरसम्बन्ध जस्ता कुराहरू पनि निबन्धमा प्रस्तुत भएका छन् । अर्कातिर यस संग्रहका निबन्धहरूमा नेपाली समाजले स्थापित गरेको राम्रो संस्कारका सुन्दरताहरू अंकित छन् । नेपाली स्वभावशीलता अनुरूप अग्रजलाई आदर गर्ने, अनुजलाई स्नेह गर्ने, गुणको प्रशंसा गर्ने र अवगुणको विपक्षमा उभिने कुराहरू यी निबन्धमा देखापर्छन् । यी कुराहरू मात्रले निबन्धलाई पठनीय बनाएका होइनन्, यिनलाई घटनाक्रमको परिप्रेक्ष्यमा गरिएको प्रस्तुतिले निबन्धहरू राम्रा बनेका हुन् ।
आफ्नो जरा र जमिनको खोजीमा मानिस कतिसम्म संघर्षरत हुनसक्छ, कतिसम्म भावुक हुनसक्छ र त्यो भावुकता र यथार्थबीच दूरी वा निकटता कति छ भन्ने कुरा पनि रोशनका निबन्धमा पाइन्छ । यसको उदाहरणको रूपमा उनको निबन्ध 'हजार मुजा एउटै आकाश'लाई लिन सकिन्छ । राजनीतिक विषयको छेउमा उभिएर लेखिएको 'माओवादी छायामुनि जिन्दगीका डोबहरू' जत्तिकै शक्तिशाली अर्को निबन्ध हो ः 'हजार मुजा एउटै आकाश' । यसलाई सङ्ग्रहकै सबभन्दा राम्रो निबन्ध भन्न सकिन्छ । यसमा लेखकको जमिन र जरा, त्यससँग गाँसिएको समाज, सामाजिक व्यवहारमात्र उपस्थित नभएर एउटा उदास यात्राको अनुभूति पनि सामेल छ । यो निबन्ध आख्यानको ढाँचामा व्यक्त भएको छ ।
डोकोमा बोकिएर आएकी लेखककी हजुरआमालाई देखेपछि भावुक भएर तिनलाई बोकिदिने एउटा अपरिचित पात्रको वर्णन छ, त्यस निबन्धमा । त्यस पात्रले 'आमालाई एकछिन म
बोकुँ ?' भनेपछि बोकिरहेको भरिया र लेखक छक्क परेको दृश्यले पाठकलाई गाँज्छ । आफ्नी आमालाई सेवा गर्न नपाएको, स्याहार गर्न नपाएको त्यो सरल गाउँलेले विकट पहाडी बाटोमा लेखककी हजुरआमालाई एकछिन बोकिदिएर प्राप्त गरेको तृप्तिलाई हामी अक्षरमा देख्छौं र लगभग भावुक बन्छौं । डोकोमा एउटी वृद्धालाई बोकेर पहाडको उकालो-ओरालो हिँडेको त्यो अपरिचित मानिसलाई मैले अत्यन्त परिचित पात्रको रूपमा ग्रहण गरेको थिएँ । ऊ मेरै पहाडको कुनै मानिस थियो । मैजस्तो मनोदशाको मानिस थियो । मलाई लाग्यो, त्यो पहाडी बाटो मैले हिँडेको मेरै बाटो हो । ती हजुरआमा मेरै हजुरआमा हुन् । डोको बोक्ने त्यो मानिस सायद म पनि हुँ । त्यो निबन्ध पढिरहँदा त्यस निबन्धका खण्ड-खण्डहरूमा मेरा आफ्नै विभिन्न रूपहरू सल्बलाएझैं मलाई अनुभव भयो । पाठकलाई आफ्नो रचनाभित्र तानेर चुर्लुम्म डुबाउन सक्नु लेखकको सफलता हो । यस निबन्धले निबन्धकार रोशनलाई त्यो सफलतासम्म पुर्‍याइदिएको छ ।
यस्ता किसिमका निबन्धहरूको रचना गर्नु भनेको पाठकलाई आनन्दित तुल्याउनुमात्र होइन, उनीहरूलाई विभिन्न ढङ्गले नेपाली समाजतिर निरीक्षण गर्नका निम्ति अभिप्रेरित गर्नु पनि हो । हामी सहरमा छौं, यहाँ गाउँघरको जस्तो परिवेश छैन । व्यक्ति यान्त्रिक र एक्लो हुँदै गएको छ । कतिपय मानिस सहरमै जमिन र जरा भएका छन् भने कतिपय मानिस विभिन्न उत्पादनशील  काममा संलग्न हुन गाउँबाट सहरमा आएका छन् । सहरले गाँजेर सहरजस्तै यान्त्रिक भएका मान्छेहरूको संख्या पर्याप्त छ । त्यस्ता मान्छेहरूलाई आफ्नो जमिन र जराप्रति संवेदित हुन 'हजार मुजा एउटै आकाश'जस्तो निबन्धले प्रेरित गर्छ । त्यस अर्थमा पनि यो निकै सार्थक निबन्ध हो । पुस्तकमा यस्ता अरू निबन्धहरू पनि छन् । म आग्रह राख्छु ः निबन्धमा भाषाले तानोस्, कथ्यले गाँजोस् र विचारले उद्वेलित तुल्याओस् । त्यस्तो क्षमता भएको निबन्धलाई म श्रेष्ठ निबन्ध ठान्छु । निबन्धकार रोशन शेरचन चम्पारन ब्लुजमार्फत त्यस्तो श्रेष्ठता प्राप्तिमा अग्रसर भएका छन् ।
 

प्रकाशित : आश्विन १६, २०६७ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?